अगाडि बढ्दै प्रहार गर्न थाले । सिंहले पनि आफू जोगिँदै साइडबाट प्रहार गर्न थाले । पहिलो राउन्ड २०–१८ ले जिते । सिंहले दोस्रो राउन्डमै खेल सक्ने सोच बनाए । त्यही अनुसार उनी पनि आक्रामक भए । प्रोभेराले हानेको पञ्च उनको कम्मरमा लाग्यो । प्रशिक्षकले सिंहलाई बाहिरबाटै सचेत पारे । त्यसपछि उनी रक्षात्मक भएर खेल्न थाले । दोस्रो र तेस्रो राउन्ड पनि जिते । बाउट ५–० ले सिंहले जिते ।
ओलम्पिकमा नेपाली खेलाडीले कुनै पनि देशका खेलाडीलाई पराजित गरेको पहिलोपल्ट थियो । नेपाली बक्सर सिंहमाथि निर्णायकहरूलाई शंका लाग्यो । ‘कतै ड्रग्स सेवन गरेर त खेलेको छैन’ भन्ने । उनलाई दुई/अढाइ घण्टा डोपिङ टेस्टमा राखियो । यद्यपि उनले डोपिङ गरेको देखिएन । ‘कहिले ओलम्पिकमा नजितेको नेपालले कसरी जित्यो भन्ने आशंका लाग्यो उनीहरूलाई त्यही भएर मेरो डोपिङ टेस्ट गरियो,’ सोल ओलम्पिक सम्झिँदै सिंहले भने, ‘दोस्रो प्रतिस्पर्धामा पनि यस्तै विभेदको सिकार भएँ ।’ पाराग्वेका खेलाडीलाई पराजित गरेको चौथो दिन सिंहको प्रतिस्पर्धा अमेरिकी खेलाडीसँग थियो । सिंहभन्दा अमेरिकन बक्सर आर्थर जोन्सन अग्ला थिए । तर सहजै उनीमाथि हाबी हुन्छु भन्ने आँट र क्षमता थियो सिंहमा । दर्शकको समर्थन पनि सिंहले राम्रो पाएका थिए । त्यसकै फाइदा उठाउँदै पहिलो राउन्ड बराबरीमै टुंगियो ।
दोस्रो राउन्डको बीचमा रेफ्रीले सिंहलाई काउन्ट (ठूलो चोट लाग्दा रिफ्रेस हुन दिइने समय) दिए । ‘मलाई चोट लागेकै थिएन,’ सिंहले सम्झिए, ‘बिनाकारण मैले काउन्ट पाएपछि विपक्षीलाई काउन्ट दिनुपर्छ भन्ने लाग्यो । तर उनले म माथिबाट पञ्च दिइरहेका थिए । रेफ्रीले मलाई विपक्षीमाथि झुलिरहेको देखेर खेल रोकिदिए, उसलाई विजयी घोषणा गरे ।’ दोस्रो प्रतिस्पर्धामा सुरुदेखि नै भेदभाव भएको उनको अनुभव छ ।
सन् १९६४ को पहिलो सहभागितामै बक्सिङमा नेपालले भाग लिएको थियो । २० वर्षपछि १९८८ मा आएर नेपाली खेलाडी एक बाउट जित्न सफल भएको हो । त्यतिबेला दुई महिना थाइल्यान्डको बन्द प्रशिक्षणपछि बक्सिङ टोली सिधै सोल गएको थियो । प्रशिक्षक पनि थाइल्यान्डकै थिए ।
२४ औं ओलम्पिकपछि नेपाली बक्सिङ खेलाडी हालसम्म ओलम्पिक छनोट हुन सकेका छैनन् । त्यसयता सहभागिता जनाउने अन्य स्पर्धाका खेलाडीको प्रदर्शनमा पनि खासै सुधार हुन सकेको छैन । यसको एउटै कारण प्रशिक्षण र प्रतियोगिताको अभाव रहेको पूर्व ओलम्पियन सिंह बताउॅछन् । ‘हामीले ओलम्पिकका लागि तयारी गर्दा काठमाडौंमा बक्सिङका मात्रै ४ टिमको प्रशिक्षण चल्थ्यो, त्यसबाट उत्कृष्टको छनोट हुन्थ्यो,’ उनले भने, ‘तर, अहिले एउटै टोलीलाई पनि बाह्रै महिना नियमित प्रशिक्षण दिन सकिएको छैन, नयाँ खेलाडी उत्पादन निकै कम भएको छ ।’ अहिले ओलम्पिकमा छनोट हुने स्तरका खेलाडी नै उत्पादन हुन नसकेको उनको बुझाइ छ ।
सिंह आफैं पनि क्षेत्रीय प्रशिक्षण केन्द्र धनगढीका निर्देशक छन् । बक्सिङ खेलाडीलाई प्रशिक्षण दिइरहेका छन् । तर खेलाडीमा उत्साह नहुनु तथा पदक विजेता खेलाडीसमेत पलायन भएर जानु अर्को ठुलो चुनौती भएको उनले सुनाए । ‘अहिले खेलकुदमा कुनै योजना नै छैन, स्तरीय खेलाडी उत्पादनमा त्यसअनुसार कार्यक्रम नै आउँदैन,’ सोल ओलम्पिकमै उत्कृष्ट प्रदर्शन गरेका अर्का बक्सिङ खेलाडी डम्बरदत्त भट्टले भने, ‘पदक जित्नका लागि ठूलो जनसंख्या र शक्तिशाली राष्ट्र आवश्यक पर्दैन, खेलप्रतिको लगाव र त्यसअनुसारको योजना आवश्यक पर्छ ।’ जापानमा जारी ओलम्पिकमा पनि सानो जनसंख्या र न्युन आयस्रोत भएका देशहरूले समेत स्वर्ण पदक जितिरहेकाले नेपालले पनि योजनाबद्ध ढंगले प्रशिक्षण र पूर्वाधारमा जोड दिए ओलम्पिक तथा अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गर्न सकिने उनको विश्वास छ ।
भट्टले सोल ओलम्पिकको उद्घाटनकै दिन बेलायती खेलाडीसँग प्रतिस्पर्धा गरेका थिए । उनले नियमित प्रहार गर्दा बेलायतका खेलाडी तीन पटकसम्म रगताम्मे भएका थिए । रेफ्रीले बेलायती खेलाडीलाई आरएससी (घाइते/मेडिकली अनफिट) घोषणा गर्नुपर्नेमा जिताइदिएको उनको तीतो अनुभव छ । ‘मैले जितेको खेल रेफ्रीको गलत निर्णयका कारण हारेको हुँ,’ भट्ट त्यो नमीठो क्षणको स्मरण गर्छन्, ‘भारतले समेत हाम्रो पक्षमा कुरा उठाएको थियो, तर हामीले त्यहाँ राम्रोसॅंग कुरा उठाउन सकेनौं ।’ भट्ट अहिले राष्ट्रिय खेलकुद परिषदका बक्सिङ प्रशिक्षक हुन् ।
महेन्द्रनगरको कभर्डहलमा प्रशिक्षण केन्द्र स्थापना गरेर उनले नियमित प्रशिक्षण दिइरहेका छन् । सोल ओलम्पिकमा कञ्चनपुरबाटै दुई बक्सिङ खेलाडी सहभागी भएका थिए । त्यतिबेला नेपालबाट उनीहरूसॅंगै बक्सिङका ५ खेलाडीले भाग लिएका थिए । अन्य खेलाडीमा रामबहादुर गिरी, झपडसिंह भुजेल र दलबहादुर रानामगर हुन् । थाइल्यान्डको बन्द प्रशिक्षणमा रहेका दुई खेलाडीलाई स्तर नपुगेर फिर्ता पठाइएको भट्टले सुनाए ।
हालका वर्षमा सबै खेलको प्रशिक्षण निकै कम हुने गरेको र आन्तरिक प्रतिस्पर्धासमेत नगन्य मात्रामा हुने गरेको खेलाडीहरू बताउॅछन् । अझ पछिल्लो समय खेलकुद क्षेत्रमा पनि बढ्दो राजनीतिले निकै प्रभावित पारेको छ । प्रतियोगितामा छनोट हुने खेलाडी र प्रशिक्षकसम्ममा राजनीति हाबी हुन थालेपछि राम्रा खेलाडीको मनोबल घट्दै जाने उनीहरूको बुझाइ छ ।