फुटबल एकेडेमी सञ्चालनका लागि एन्फा अध्यक्षलाई ज्ञापन
2021/08/29, 7:15
 
kk

कञ्चनपुरको पुनर्वासमा फुटबल प्रशिक्षण कार्यक्रम सुरु भएको छ । लालझाडी युवा क्लब–११ को आयोजनामा फुटबल प्रशिक्षण कार्यक्रम सुरु गरिएको क्लबका अध्यक्ष काशीराम बोहराले बताए । पुनर्वास नगरपालिका वडा नम्बर १० बाइसेविचवा स्थित क्लबको खेल मैदानमा अबदेखि निरन्तर निःशुल्क फुटबल प्रशिक्षण गराई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म फुटबल खेल्न सक्ने क्षमतावान खेलाडी तयार गर्ने योजनाका साथ क्लबले फुटबल प्रशिक्षण कार्यक्रमको शुभारम्भ गरिएको अध्यक्ष बोहराको भनाई छ ।

1

दैनिक रुपमा महिला तथा पुरुष गरी एक सयभन्दा बढी खेलाडीलाई प्रशिक्षण दिईदैछ । क्लबले प्रशिक्षकलाई मासिक रुपमा तलब दिएर प्रशिक्षण गराउन थालेको छ । ग्रामीण क्षेत्रमै निःशुल्क फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन हुन थालेपछि खेलाडीहरू र खेलकुद प्रेमीहरूले खुसी व्यक्त गरेका छन् । क्लबले आफ्नो स्थापना कालदेखि नै खेलकुद सहित सामाजिक कार्यक्रममा योगदान पु¥याउँदै आएको छ ।  

1

फुटबल प्रशिक्षण कार्यक्रमको अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पाले उद्घाटन गरे । क्लबले फुटबल एकेडेमीका रूपमा कार्य गर्ने इच्छा व्यक्त गर्दै त्यसको अनुमतिका लागि एन्फाका अध्यक्ष शेर्पालाई ज्ञापन पत्र समेत बुझाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पाले शिक्षा र खेलकुदलाई एकसाथ अगाडी बढाउनु पर्नेमा जोड दिए । उनले कोभिड १९ को महामारीको कारण थला परेको खेलकुद गतिविधिलाई चलायमान बनाउन सरकारसँग अनुरोध गरे । खोप लगाएरै भएपनि खेलकुदका कार्यक्रम सञ्चालन गर्ने वातावरण बनाउनु पर्ने उनको भनाइ छ । 

2

त्यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिकाका उपप्रमुख शारदा शर्मा बिष्टले नगरपालिकाबाट खेलकुद प्रशिक्षणका लागि गर्न सकिने सहयोगका लागि कार्यपालिकाको बैठकमा प्रस्ताव लैजाने बताईन् । उनले नगर क्षेत्र भित्रका खेलाडीहरूको स्तरोन्नतिका लागि पुनर्वास नगरपालिकाले समेत नीति र योजनामै समावेश गरेको बताईन् ।

1

कार्यक्रममा एन्फाका केन्द्रीय उपाध्यक्ष एवं ग्रासरूट फुटबल कार्यक्रमका संयोजक उपेन्द्रमान सिंह, सुदूरपश्चिम प्रदेश फुटबल संघका अध्यक्ष दिनेश श्रेष्ठ, कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्द, पुनर्वास उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण बहादुर तामाङ लगायतका फुटबल प्रशिक्षण अभियानको प्रशंसा गरेका छन् ।