एभरेस्ट प्रिमियर लिग (ईपीएल) को फ्रेन्चाइज क्लब भैरहवा ग्लाडिएटर्सले श्रीलंकन टोलीको पूर्व कप्तान दिनेश चण्डिमालको स्थानमा उपुल थरंगालाई भित्र्याउने भएको छ।
यसअघि ग्लाडिएटर्सले चण्डिमाललाई पहिलो विदेशी खेलाडीका रुपमा अनुबन्धित गरेको भए पनि उनले अन्तर्राष्ट्रिय ड्युटीका कारण ईपीएल खेल्न नभ्याउने भनेपछि थरंगालाई भित्र्याउने भएको हो।
श्रीलंकन टोलीका पूर्व कप्तान थरंगाले ३१ टेस्ट, २३५ ओडीआई र २६ टी २० इन्टरनेशनल खेलेका छन्। ओडीआईमा उनले १५ शतक र ३७ अर्धशतकको सहायतामा ६९५१ रन जोडेका छन्। जसमध्ये सन् २०१३ मा भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै १७४ रन बनाएका थिए। टी २० क्रिकेटमा उनले २ शतक र १९ अर्धशतकको सहायतमा ३३८४ रन बनाएका छन्।
भैरहवाको प्रशिक्षकमा नेपाल राष्ट्रिय टोलीका पूर्वप्रशिक्षकसमेत रहेका पुबुदु दाशानायके रहेका छन्। त्यस्तै शरद भेषवाकर कप्तान, आशिफ शेख, रोहितकुमार पौडेल, अभिनास बोहोरा, कुशल मल्ललगायत अहिले राष्ट्रिय टोलीमा स्थान बनाइरहेका खेलाडीहरु छन्। त्यस्तै प्रदीप ऐरी, भुवन कार्की, कृष्ण कार्की, अनिल खरेल, हरिशंकर शाह, दीपेश श्रेष्ठ, विकास अग्री, दुर्गेश थापा र हिमान्सु दत्त घरेलु खेलाडीका रुपमा रहेका छन्।
ग्लाडिएटर्सले विदेशी खेलाडी अनुबन्धन गर्दै लैजाने र ट्यालेन्ट हन्टबाट थप घरेलु खेलाडीको पनि छनोट गर्ने जनाएको छ।