प्रदीप पाठक- नाम, लक्ष्मीदत्त भट्ट । उमेर ६५ बर्ष । कैलालीको गेटामा ६ लेन सडकको छेउमै घर छ । ६५ वर्षीय भट्टको खेलकुदसँगको साईनो छुटेको तीन दशक पुग्न लागेको छ । तर खेलका कुरा गर्दा उनका आँखा अहिले पनि रसाउँछन । बोल्दा भक्क्कानिने समस्या भएर पनि भट्टसँग उनको विगतको खेलकुद क्षेत्रबारे सोध्दा उनी थप भक्कानिने गरेका छन् ।
घरमा लाउन खान केही समस्या छैनन् । छोराहरु अमेरिका रहेकोले उनको आउजाउ भईरहन्छ । ०४९ सालपछि खेलकुदका कुनै पनि गतिविधिमा उनको संग्लनता छैन् । न त उनलाई कसैले सम्झीएका छन न त उनका बारेमा खोजीनिति नै गरेका छन् । चार पटक नेपाल च्याम्पीयन भएका भट्ट आफु पनि त्यो विगतलाई सम्झिन चाहदैंन । यदपी खेलकुद क्षेत्रको माया नै हो आफ्नो बारेभन्दा उनमा छुट्टै उर्जा र चमक आउने गरेको छ ।
चार दशक अघि चार पटक नेपाल च्याम्पियन बनेर धेरै एथलेटिक्स खेलाडी जन्माएका भट्टले ४० को दशकको सुरुवातमा एथलेटिक्स अन्तर्गतको हिँडाई (स्लो रेस) विधामा एकछत्र राज गरेका थिए । नेपाली खेलकुदमा इतिहास बनाएका बैकुण्ठ मानन्धर, हरि रोक्का लगायतका खेलाडीका समकक्षी थिए, उनी । उनी भन्छन्, ‘कतिपय प्रतियोगिताहरुमा सँगै पनि खेलेको थिए ।’
०३१ देखि ०४० सम्म एथलेटिक्सका राष्ट्रिय खेलकूद प्रतियोगिताको म्याराथनमा सहभागिता जनाएका उनी कहिल्यै पनि प्रथम हुन सकेनन । दोस्रोमा चित्त बुझाउन प¥यो । त्यही समयमा खड्ग रानाभाटसँगको भेटले उनको खेल्ने शैली फेरियो । म्याराथुन छाडेर उनी हिँडाई अर्थात ‘स्लो रेस’तिर लागे । त्यसपछि उनले पछाडी फर्केर हेर्नु परेन् ।
२० किलोमिटरको प्रतियोगितामा उनले तत्कालीन सेती अञ्चलको प्रतिनिधित्व गर्दै चार पटक स्वर्ण पदक जिते । २०४० मा पोखरामा भएको दोस्रो राष्ट्रिय खेलकुदमा २० किलोमिटर हिँडाईमा दोस्रो भएका भट्टले २०४१ मा दाङमा भएको २४ औं एथलेटिक्स प्रतियोगितामा पहिलो स्वर्ण जित्दै दुई घण्टा ९ मिनेट २१ सेकेन्डको रेकर्ड राखे ।
०४२ सालमा वीरगंजमा भएको तेस्रो राष्ट्रिय खेलकूदमा पनि स्वर्ण जिते । २० किलोमिटरको दुरीलाई सुधार गर्दै दुई घण्टा ७ मिनेट १० सेकेन्डमा झारे । २०४३ सालमै काठमाडौंमा भएको २६ औं राष्टिय एथलेटिक्स प्रतियोगितामा स्वर्ण जित्दै ह्याट्रिक गरे । उनले २० किलोमिटरको दुरी एक घण्टा ५७ मिनेट १९ दशमलव ३० सेकेन्डमा पूरा गरेका थिए । २०४५ मा महेन्द्रनगरमा भएको २७ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा पनि स्वर्णमाथि कब्जा जमाएका थिए ।
२० किलोमिटरको हिँडाइमा नेपालमा रेकर्ड बनाउन सफल भएका लक्ष्मीदत्त भट्टले नेपालको प्रतिनिधित्व गर्दै दुई वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागिता जनाएका थिए । सन् १९८५ मा इन्डोनेसियामा भएको छैटौं एसियन ट्रयाक एण्ड फिल्ड र सन् १९८७ मा सिंगापुरमा भएको सातौं एसियन ट्रयाक एण्ड फिल्डमा पनि प्रतिस्पर्धा गरे । दुवै प्रतियोगितामा पदक नजिते पनि आफ्नो प्रदर्शनलाई भने सुधारे ।
अन्तर्राष्ट्रिय सहभागितासँगै राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेपछि उनलाई राखेपमा २०४६ सालमा सहायक प्रशिक्षकको रुपमा नियुक्ति मिल्यो । तीन वर्षसम्म काम गर्दा उनले धेरै खेलाडीलाई प्रशिक्षण दिए । ३५ वर्षको हुँदा ०४९ सालमा सरकारले प्रशिक्षकबाट निष्कासन गरेपछि उनको प्रशिक्षणमा पनि पूर्ण विराम लाग्यो । ०४९ सालदेखि उनी फुर्सदिला छन् । घरमै बसेर जीवनको उत्तरार्थ कटाईरहेका छन् । ‘प्रशिक्षकबाट निस्कासन भएपछि खेलप्रतिको लगाब हुँदा हुँदै पनि टाढिन पुगेँ ।’ उनले भने– ‘अहिले त बुढेसकाल लागिसक्यो । केही गर्न खोज्दा पनि सकिँदैन ।’
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा गत वर्षको चैत ७ गते आयोजना गरेको दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डमा उनलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मान गरेको थियो । अवार्ड पाउँदा भट्टका आँखा रसाएका थिए । तीन दशक अघि चार पटक नेपाल च्याम्पियन बनेर धेरै एथलेटिक्स खेलाडी जन्माएका कैलाली गेटाका भट्टलाई त्यो सम्मान प्राप्तिको आशा थिएन । तर, नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डमा उनलाई त्यो सम्मान दिएको हो ।