कैलालीका भट्टद्धारा निर्देशित ‘लप्पन छप्पन २’ फेरि महाशिवरात्रीमा आउने
2021/09/10, 11:20
 
ss

अघिल्लो सालको महाशिवरात्रीमा रिलिज हुने घोषणा गरेको ‘लप्पन छप्पन २’ले एक वर्षपछि प्रदर्शनका लागि सोही मिति छानेको छ ।

निर्देशक मुकुन्द भट्टले सामाजिक सञ्जालमा दिएको जानकारी अनुसार फिल्म यो वर्षको फागुन १३ मा प्रदर्शन हुनेछ । फागुनको १७ गते शिवरात्रीको सार्वजनिक बिदा परेको छ । 

कोभिड–१९ पोजेटिभ केसमा उल्लेख्य कमी आएसँगै लामो समयदेखि रोकिएका फिल्म रिलिजका लागि जुर्मुराएका हुन् । आज मात्रै ‘ए मेरो हजुर ४’ले पनि चैतमा प्रदर्शन हुने घोषणा गरेको थियो ।

महामारीले रोकिनुअघि बीचमा ‘लप्पन छप्पन २’ पनि गत सालको चैतमा आउने घोषणा गरेको थियो । ट्रेलरसमेत सार्वजनिक भइसकेको अवस्थामा फिल्म अन्तिममा भने रोकिएको थियो । 

सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही आदि कलाकारको अभिनय रहेको फिल्म युरोप र अष्ट्रेलियामा सुटिङ गरिएको हो । मुकुन्दले हालै मात्र अनमोल केसी, सौगात मल्ल, पुष्प खड्का आदि कलाकारलाई लिएर ‘एक्स नाइन’ बनाउने घोषणा गरेका छन् । यो फिल्मको सुटिङ पुसदेखि गर्ने गरी तयारी भइरहेको छ ।