रोहित पौडेलको सानदार ब्याटिङ र सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) लाई दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १ सय ५१ रनले पराजित गर्दै दुई खेलको शृंखला जितेको छ ।
रोहितले ८६ रन बनाएपछि टस जितेर ब्याटिङ गरेको नेपाल ४९.२ ओभर खेल्दै २ सय ३३ रनमा अलआउट भएको थियो । सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेपछि जवाफमा आएको पीएनजी १९.१ ओभरमा ८२ रनमा अलआउट भयो । ओपनर टोनी उराले पीएनजीबाट सर्वाधिक १९ रन बनाए ।
५.१ ओभर बलिङ गरेका सन्दीपले ११ रन मात्र खर्चिएर ६ विकेट लिए । सन्दीपको प्रदर्शन एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली खेलाडीको उत्कृष्ट बलिङ हो । यसअघि सन्दीपले नै सन् २०२० मा अमेरिकाविरुद्ध त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १६ रन खर्चेर ६ विकेट लिँदै कीर्तिमान बनाएका थिए । शुक्रबार अन्य नेपाली बलरमा सोमपाल कामी, विक्रम सोब र सुशन भारीले १–१ विकेट लिए ।
ओमानको मस्कटस्थित एमेरात क्रिकेट मैदानमा यसअघि नेपालको सुरुआत राम्रो थिएन् । नेपालले पहिलो पटक खेलेको डे–नाइट एकदिवसीय अन्तर्राष्ट्रियमा ओपनिङ ब्याट्सम्यानद्वय आसिफ शेख र कुशल भुर्तेल समान ३ रनमा आउट भए । रोहितले कप्तान ज्ञानेन्द्र मल्लसँग तेस्रो विकेटमा ८९ रनको साझेदारी गरे । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको यो सबैभन्दा ठूलो साझेदारी हो ।
ज्ञानेन्द्र ४५ रनमा एलबीडब्लु आउट भए । रोहितले १ सय २३ बल खेल्दै २ चौका र ३ छक्का बनाए । रोहितको यो दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय अर्धशतक हो । २०१९ मा युएईविरुद्ध उनले ५५ रन बनाएका थिए । पीएनजीसँगको पहिलो खेलमा म्याच विजयी ४१ रनको इनिङ्स खेलेका रोहितले शुक्रबार बनाएको रन एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली खेलाडीको दोस्रो उच्च स्कोर हो ।
यसअघि २०७५ साल माघ १४ गते पारस खड्काले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि शतक बनाउने पहिलो खेलाडीको कीर्तिमान बनाएका थिए । एकदिवसीय अन्तर्राष्ट्रियमा शतक हान्ने उनी एक मात्र नेपाली खेलाडी हुन् । दुबईमा यूएईविरुद्ध एकदिवसीय सिरिजअन्तर्गत तेस्रो खेलमा शतक बनाउँदै पारसले ऐतिहासिक उपलब्धि हासिल गरेका थिए । पारसले १०९ बलमा १५ चौका र १ छक्कासहित ११५ रन बनाएका थिए ।
विनोद भण्डारी १७, कुशल मल्ल १ र सोमपाल कामी ११ रनमै आउट भए । करण केसीले २६ बलमा ४२ रन बनाई रोहितसँग सातौं विकेटमा ६६ रनको साझेदारी गरे । करणले २ चौका र ४ छक्का प्रहार गरे । करण र रोहित ४९ औं ओभरमा आउट भए । नेपालले अन्तिम ४ विकेट १ रनका लागि गुमाएको थियो । पछिल्ला दुई ब्याट्सम्यान विक्रम सोब १ र सन्दीप लामिछाने शून्य रनमा अन्तिम ओभरको पहिलो दुई बलमा आउट भए ।
पीएनजीका चाड सुपरले ३ तथा काबुआ मोरेआ र नोर्मान भनुआले २–२ विकेट लिए । नेपालले मंगलबारको पहिलो खेल २ विकेटले जितेको थियो । नेपालले पीएनजीसँगको यी दुई खेल आईसीसी विश्वकप लिग २ को तयारीका लागि खेलेको हो । लिग २ मा नेपालले घरेलु टोली ओमान र अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । नेपालले पहिलो खेल सोमबार अमेरिका विरुद्ध खेल्दै छ ।