टोकियो ओलम्पिकमा ठगिएका कैलालीका गोपीचन्द्र पार्कीलाई बर्लिन म्याराथनका लागि विदाई
2021/09/20, 7:54
 
ss

जर्मनीमा आगामी आइतबार हुने बिएमडब्लु बर्लिन म्याराथनमा सहभागिता जनाउने तयारीमा रहेका धावक गोपीचन्द्र पार्की र उनका प्रशिक्षक सन्तोष श्रेष्ठलाई एथ्लेटिक्स परिवार, नेपालले सोमबार विदाई गरेको छ ।  नेपालमै दुई वर्षअघि भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) को पाँच हजार मिटर दौडमा स्वर्ण पदक जितेका धावक गोपीलाई एथ्लेटिक्स स‌ंघका पूर्व अध्यक्ष रघुराज वन्त, एथ्लेटिक्स परिवारका सल्लाहकार ऋषी भण्डारी, अध्यक्ष राजन खत्रीलगायतका पदाधिकारीहरुले खेल पोशाक र खेल सामाग्री प्रदान गरी विदाई गरे ।

सोही कार्यक्रममा परिवारका सल्लाहकार सुनील राजवंशी र संघका पूर्व अध्यक्ष वन्तले धावक पार्की र प्रशिक्षक श्रेष्ठलाई खुराकी खर्च भन्दै ५० हजार रुपैयाँ प्रदान गरे ।  कार्यक्रममा जानकारी गराइएअनुसार बर्लिन म्याराथनमा सहभागिता जनाउने नेपाली टोलीलाई तीन दिनको बसोवास तथा खाना खर्च आयोजकले बेहोर्छ । बाँकी बाँकी तीन दिनको सबै खर्च एथ्लेटिक्स परिवारका सल्लाहकार भण्डारीले सहयोग स्वरुप उपलव्ध गराउनेछन् । 

यसैगरी धावक पार्कीलाई आगामी तीन वर्षका लागि खेल पोशाक पूर्व एथ्लेटिक्स खेलाडी एवं परिवारका सल्लाहकार मोहन नेपाल, सुनील राजव‌शी, सत्रुधन श्रेष्ठ, सविन प्रधान र प्रचण्ड कर्माचार्यले उपलब्ध गराउने भएका छन् ।  पार्की र प्रशिक्षक श्रेष्ठको हवाई टिकट राष्ट्रीय खेलकुद परिषदले उपलब्ध गराएको छ ।

गत वर्ष मंसिरमा नेपालगञ्जमा ओलम्पिक छनोट भन्दै गरिएको नेपालगञ्ज म्याराथनका च्याम्पियन गोपी अन्तिम समयमा आएर जापानमा गत महिना सम्पन्न टोकियो म्याराथनमा सहभागिताबाट बञ्चित भएका थिए ।   नेपालगञ्जमा आफै टोकियो ओलम्पिकका लागि छनोट भएको भन्दै प्रचारवाजी गरेको नेपाल ओलम्पिक कमिटी तथा नेपाल एथ्लेटिक्स संघले ओलम्पिक सुरु हुनुभन्दा १५ दिन पहिलामात्र म्याराथनमा नेपालले कोटा नपाएको भन्दै सरस्वती चौधरीलाई उनको स्थानमा जापान लगेको थियो ।

नौं महिनासम्म ओलम्पिकमा दौड्न भन्दै दिनरात अभ्यास गरेका गोपीचन्द्रको बाटो अन्तिम समयमा रोकेपछि ओलम्पिक कमिटी, खेलकुद परिषद र एथ्लेटिक्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै चोखिने प्रयास गरेका थिए । सोही क्रममा नेपाली खेलकुदका तीन ठूला निकायले आगामी दिनमा अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको वातावरण मिलाउने भन्दै उनलाई थुम्थुम्याएका थिए ।