धनगढीमा बढ्दै फुटसल माेह
2021/09/30, 11:20
 
dd

धनगढीमा फुटसलप्रतिको मोह दिनप्रतिदिन बड्दै गइरहेको छ । केही वर्ष पहिले मात्रै खुलेको फ्ल्याटल्यान्ड फुटसलमा अहिले फुटसल खेल्नेहरूको घुइँचो नै लाग्ने गरेको छ ।  धनगढी उपमहानगरपालिका १ मा रहेको फ्ल्याट ल्याण्ड फुटसलमा बिहानदेखि बेलुका अबेरसम्म दर्जनौ टिमका खेलाडीहरू फुटसल खेल्न आउने गरेको सञ्चालकमध्येका एक राकेश भट्टले बताए ।

डाक्टर, इन्जिनियर, पत्रकार, बैंकर्सलगायत फुटबल खेलाडीहरू समेत फुटसलमा रमाउन थालेपछि फुटसलप्रतिको मोह प्रस्टै देखिन थालेको छ । खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाले पत्रकार मात्रै नभएर अन्य पेशाकर्मीहरूको समेतमा फुटसल रोजाइमा पर्ने गरेको बताए ।

पहिलो तथा दोस्रो लकडाउनका कारण केही समय सुस्ताएको फुटसलले बिस्तारै लय लिँदै गएको सञ्चालक आशीष शाहले बताए । उनले अहिले नयाँ आउने टिमलाई समय दिन हम्मेहम्मे परेको बताए । अर्का सञ्चालक रोशन भट्टले फुटसल स्थापनाताका सर्वसाधारणलाई यसबारे बुझाउनै समस्या भएको स्मरण गरे । अहिले यसप्रतिको क्रेज निक्कै बढेको भट्टको भनाइ छ ।

अघिल्लो वर्ष केही प्रतियोगिताहरू समेत आयोजना गरिएकोमा यो वर्ष दसैंलाई लक्षित गरी प्रतियोगिता आयोजमा गर्ने सोचमा रहेको उनले बताए । बैंकर्स लिग, पत्रकार लिग, वड स्तरीय प्रतियोगिता लगायतका प्रतियोगिताहरू आयोजना भइसकेको बताउँदै सञ्चालन भट्टले ती प्रतियोगिताहरूलाईसमेत यो वर्ष नियमितता दिने जानकारी दिए ।