प्रदीप पाठक- भारतबाट गोलपोष्टको फलाम किनेर धनगढी ल्याएका ती दिन ७४ वर्षीय श्याम सुन्दर शर्माको मन मस्तिष्कमा अझै ताजै छ । तत्कालीन एसपी दिलीप सिंह आलेले सडक विभागको रोलरलाई मैदान सम्याउनका लागि भनिदिएपछि हालको धनगढी रंगशालाको दक्षिणी कुनामा फुटबल मैदान बनाइएको थियो । तर फुटबल खेलिरहेका शर्मा लगायतका उनका सहपाठीलाई २०३० सालतिर फुटबल मैदानमा आवश्यक पर्ने गोलपोष्ट धनगढीमा पाउनै मुस्किल थियो । त्यही भएर भारतको पलिया गएर गोलपोष्ट ल्याएर धनगढीमा फुटबल खेलेका थिए शर्मा र उनका साथीहरुले । पलियासम्म त्यो समय जाँदा दुई वटा नदी पार गर्नुपथ्र्यो । शर्मा लगायतका केही साथीहरुले नदीमा काँधमा बोक्दै, फेरि बसमा हाल्दै फेरी नदीमा बोक्दै धनगढीसम्म पुराइएको थियो फलामको गोलपोष्ट ।
त्यसपछि फुटबल खेलका धेरै नियमहरु थाहा नभएपनि धनगढीमा खेल्न थालिएको थियो फुटबल । फुटबल सुरुवात दिनका सवैभन्दा पाका र लेजेन्ड हुन् धनगढी चौराह निवासी शर्मा । जीवनको उत्तरार्धमा आरामले बसेर जीन्दगी विताउने दिनमा शर्मा भने ट्याक्टर चलाएर गुजारा गर्छन् । धनगढीको चौराहमा रहेको घरका केही कोठा भाडामा लगाएका उनी आफु भने ट्याक्टर चलाएर गुजारा गर्छन ७४ बर्षको उमेरमा । त्यही घरको एउटा कोठामा फुटबल र क्रिकेटमा विताएका स्वर्णित अतितहरुलाई संगाल्दै ट्याक्टर सामान ओसार गर्छन् । त्यही कमाईले उनको जीन्दगी चलिरहेको छ ।
दुई छोरा दुई वुहारी सहित दुई नाती र ६ नातिनी सहितको उनको परिवाकार अन्य सदस्यहरु भने अहिले खेलकुदमा कोही लागेका छैनन् । दाइभाइका छोराछोरी खेलकुदमा लागेपनि शर्माका पुस्ता भने खेलकुदतिर छैनन । अहिले पनि शार्माले क्रिकेट र फुटबलका खेलहरु टिभीमै हेरेर खेलकुदको नशा मेटाइरहेका छन्। फुटबल र क्रिकेटको विकासका लागि अहम भुमिका खेलेका शर्माको योगदानलाई तत्कालीन समयको पाको पुस्तालाई राम्रैसँग थाहा छ तर नयाँ पुस्तालाई उनको बारेमा जानकारी समेत छैन । उनको अवस्थाको बारेमा अझ धेरै अनविज्ञ नै रहेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले श्यामसुन्दर शर्मालाई प्रथम कैलाली हस्पिटल सुदुरपश्चिम स्पोर्टस अवार्ड २०७६ को लाईफ टाईम एचिभमेन्ट अवार्ड प्रदान गरेको थियो । सो क्रममा उनका आँखाहरु रसाएका थिए । उनको बारेमा धेरैले थाहा पनि पाएका थिए ।
वर्तमानको अवस्थाभन्दा विलकुल फरक थियो उनको विगत । शर्मा लगायतको जमात फुटबल खेल्न थालेपछि चौधरी बुक डिपोका मालिक सत्येन्द्रनाथ चौधरीले रेफ्रीको भुमिका निर्वाह गर्थे । खेल्दै गएपछि २०३२ सालतिर धनगढीका खेलाडीहरुले जनकपुरमा नर ट्रफी खेल्न गए । नर ट्रफी राजा विरेन्द्रका साला तत्कालीन आइजिपी नर समशेर राणाले आफ्नै नाममा सुरु गरेको राष्ट्रिय फुटबल प्रतियोगिता हो । २०३२ सालतिर जनकपुरमा नर ट्रफी खेल्न जाँदा यहाँको टीमले एक खेल पनि जितेन भने ५–६ गोल खेलेका सबै खेलमा खाएको टीमका सदस्य शर्मा सम्झन्छन ।
एक गोल गर्न नसकेपछि घर फर्किएको धनगढीको टोलीले त्यसपछि आएपछि राम्रैसँग समीक्षा गर्यो । २०३३ सालमा लहानमा भएको नर ट्रफीमा देशभरीका टीमबाट शर्माको टोली उपविजेता बन्यो । त्यसपछि फुटबल प्रगतिको बाटोमा अग्रसर भएको शर्मा बताउँछन् । डिफेन्ड र मिडमा खेल्ने शर्माको कप्तानीको रहेको धनगढीको टीमले २०३४ सालमा सेती अञ्चलाधीश फुटबल रनिङ सिल्डमा कब्जा जमाया े। जसमा तीन तोला सुन जडान गरिएको थियो । फुटबलमा लागेकै बेला धनगढीमा क्रिकेटको पनि सुरुवात भइसकेको थियो । तत्कालीन कैलाली कांग्रेस सभापति स्वर्गीय मोहनबहादुर शाहले क्रिकेटमा लाग्न उत्प्रेरण दिन थालेपछि फुटबल खेलिरहेका खेलाडीहरु क्रिकेटतिर पनि लागे । त्यसमा श्याम सुन्दर पनि पछि परेनन् ।
शर्माका दाई सुनसरी होटेलका साउजीले फुटबल जित्ने टीमलाई निशुल्क नास्ता खुवाउँथे भने भने मोहनवहादुर शाहले क्रिकेटमा जित्ने टीमलाई निशुल्क नास्ता खुवाउथे । क्रिकेट र फुटबल सँगसँगै धनगढीमा सुरुवात भएका ती दिनहरुमा आवश्यक खेल सामाग्रीको भने निकै अभाव झेल्नु परेको शर्माको भोगाई छ । फुटबलसँगै क्रिकेट खेलेका शर्माले २०३८ सालमा काठमाण्डौमा भएको पहिलो राष्ट्रिय खेलकुदमा क्रिकेट टोलीको सदस्यको रुपमा सहभागीता जनाए । त्यो वर्ष टोलीले जित हात पारेन् । त्यसपछि बालगोपाल गिरीको कप्तानीमा शर्मा उपकप्तान भएको टोलीले २०४० सालमा पोखरामा भएको दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि टीमले सहभागीता जनायो भने तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता २०४२ सालमा वीरगंजमा हुँदा शर्मा क्रिकेट टोलीको कप्तान थिए ।
४१ बर्षको उमेरसम्म फुटबल र क्रिकेट खेल्ने शर्मा नै सबैभन्दा वढी उमेरसम्म खेल्ने खेलाडीमा पर्छन् । त्यो अवधिमा क्रिकेटमा पनि धेरै उपलव्धी हासिल गरिएको थियो । शर्मासँग ९ पटक भारतको टीमसँग खेल्दा ७ पटक जितेको अनुभव रहेको छ । लामो समयसम्म दुवै खेलमा सक्रियताका साथ लागेका शर्माको योगदानलाई कसैले बिर्सन सक्दैन होला। २०४२ सालसम्म खेलाडीको रुपमा सक्रिय श्याम सुन्दर शर्माले त्यसपछि भुमिका फेरे तर खेलकुदलाई भने छोडेनन् । लामो समयसम्म क्रिकेटको अम्पायर र फुटबलको रेफ्रीको मात्रै हो ह्यान्डवलको समेत रेफ्रीको भुमिका निर्वाह गरे । पछिल्लो दशकदेखि मात्रै उनले खेलकुद क्षेत्रको सक्रियता घटाएका हुन् । जेष्ठ नागरिक बनिसक्दा पनि उनलाई खेलकुदको नशाले छोड्न सकेको छैन । विगतमा आफुहरुले खेल्दा धेरै दुःख पाए पनि अहिलेको अवस्था देखेर उनी खुसी छन् ।