क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । स्वर्गीय क्रिकेट प्रशिक्षक अर्जुन खड्काको स्मृतिमा धनगढी क्रिकेट एकेडेमीले अर्जुन ट्रफी यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो । धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी कार्तिक २५ गतेदेखि प्रतियोगिता आयोजना हुने जानकारी दिईएको छ ।
प्रतियोगितामा १६ टीमको सहभागीता रहने भएको छ । प्रतियोगितामा क्लब तथा क्रिकेट एकेडेमीले सहभागीता जनाउन सक्ने धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले बताए । उनका अनुसार स्वर्गीय क्रिकेट प्रशिक्षक अर्जुन खड्का धनगढी क्रिकेट एकेडेमीका संस्थापक प्रशिक्षक रहेका थिए भने सुदुरपश्चिमको क्रिकेट विकासमा उनको भुमिका महत्वपुर्ण रहेको थियो ।
लिगकम नकाउटका आधारमा हुने प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद २५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको तयारी सुरु भएको आयोजकले जनाएको छ । हालसम्म १० वटा टीमको टुङगो लागिसकेको छ ।
प्रतियोगितालाई सफल पार्न सुदुरपश्चिम क्रिकेट संघ र कैलाली जिल्ला क्रिकेट संघले सहयोग गर्ने प्रतिबबद्धता जनाएका छन् । पत्रकार सम्मेलनमा क्रिकेट संघ सुदुरपश्चिमका अध्यक्ष हरि रेग्मी र कैलाली जिल्ला सचिव देवनारायण झाले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने बताएका छन् ।