धनगढीमा पनि फल्यो स्याउ
2021/10/28, 10:55
 
dd

सामान्यतया स्याउ हिमालमा फल्ने फलफूल हाे। यदाकदा उच्च पहाडी क्षेत्र तथा ओसिलाे क्षेत्रमा पनि स्याउ फलेको सुनिन्छ। तर, हिमाल र उच्च पहाडी क्षेत्रमा फल्ने स्याउ प्रचण्ड गर्मी हुने तराईमा पनि फलेको छ भन्दा अचम्म लाग्नसक्छ।

प्रचण्ड गर्मी हुने धनगढीमा पनि स्याउ फलेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर २ सन्तोषीटोलस्थित कृष्णप्रसाद भट्टको बारीमा स्याउ फलेको हो। पहाडी तथा हिमाली क्षेत्रको अति चिसो ठाउँमा फल्ने स्याउ धनगढीमा फलेको हो।

उनले २०७६ सालमा समर एप्पल प्रजातीको विरुवा दिल्लीबाट ल्याएर रोपेका थिए। ‘विरुवामा १३ महिनाभित्रै फल लाग्यो,’ उनले भने, ‘फूल धेरै आए पनि दुई दाना मात्रै फल जोगाउन सकेको छु।’ अहिले उक्त स्याउ पाक्ने बेला भएको उनले बताए।

स्याउ खेतीको लागी साधारणतया १५०० देखि २००० मिटर सम्मको उचाई भएको स्थानको लागि उत्तर पूर्वी मोहडा र सो भन्दा माथीको उचाई भएको स्थानमा दक्षिण पश्चिमी मोहडा स्याउ खेतीको लागी उपयुक्त हुन्छ। स्याउको राम्रो उत्पादन लिनको लागि १००० देखि १५०० चिलिङ घण्टा ७ डिग्री सेल्सियस भन्दा तलको तापक्रम आवश्यक पर्दछ। 

नेपालमा यो अवस्था आजकलको हिसाबले समुन्द्र सतह देखि २००० देखि ३००० मिटर उचाईमा मात्र उपलब्ध छ। स्याउको सक्रिय बृद्धि विकास भइरहेको समयमा औसत तापक्रम २१ डिग्री देखि २४ डिग्री सेल्सियसको आवश्यकता पर्दछ।