भण्डारमा रहेन अन्न, भोकमरी हुन सक्ने
2021/10/29, 10:14
 
Kutpit

सुदूरपश्चिम प्रदेशको अन्न भण्डारका रुपमा चिनिने कैलाली, कञ्चनपुरमै यसवर्ष भोकमरीको समस्या बढ्न सक्ने सम्भावना बढेको छ ।  कात्तिक पहिलो साताको बाढीले दुवै जिल्लामा गरेर करिब एक लाख ४१ हजार ७६३ मेट्रिक धानबाली नष्ट भएपछि भोकमरी बढ्न सक्ने देखिएको हो ।

यी दुवै जिल्लामा भएको उत्पादनले प्रदेशको पहाडी जिल्लामा पनि खाद्यान्न आपूर्ति हुने गरेको छ । तर, यसवर्ष प्राकृतिक विपद्ले गरेको नोक्सानका कारण उल्टै दुवै जिल्लाले खाद्यान्न अभाव समस्या झेल्नु पर्ने सम्भावना रहेको देखिएको छ ।

प्रादेशिक कृषि निर्देशनालय डोटीका अनुसार दुवै जिल्लामा गरेर करिब ३३ हजार ११८ हेक्टर जमिनमा लगाइएको धानबाली पूर्ण रुपमा नष्ट भएको छ । कैलालीमा २१ हजार हेक्टर र कञ्चनपुरमा १२ हजार ११८ हेक्टर जमिन लगाइएको धानबाली कुबेलाको वर्षा र बाढीले नष्ट सो कार्यालयले जानकारी दिएको छ । दुवै जिल्लामा गरेर करिब तीन अर्ब १२ करोड रुपैयाँ बराबरको आर्थिक नोक्सान भएको प्रादेशिक कृषि निर्देशनालयका प्रमुख यज्ञराज जोशीले बताए ।

‘कैलाली, कञ्चनपुरको दक्षिणी क्षेत्रमा पूर्ण रुपमा र पूर्व–पश्चिम महेन्द्रराजमार्गदेखि दक्षिण क्षेत्रमा करिब आधाआधी धानबालीमा नोक्सान भएको छ’, उनले भने । ‘हामीले दुवै जिल्लाको ११ पालिकामा अवलोकन गर्दा औसतमा कतै ५०, कतै ४०, कतै १० प्रतिशत धानबाली नष्ट भएको देखियो ।’ 

कैलालीको टीकापुर, भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका, कैलारी गाउँपालिका, धनगढी उपमहानगरपालिकाको अधिकाङ्श क्षेत्रमा भने धानबालीलाई बाढीले पूर्ण रुपमा नष्ट गरेको जोशीले बताए । यसैगरी, कञ्चनपुरको पुनर्वास, बेलौरी नगरपालिका, लालझाडी, बेल्डाँडी गाउँपालिकातिर पनि धानबाली पूर्ण रुपमा नष्ट भएको छ । 

कैलालीमा २१ हजार हेक्टर जमिनमा ९४ हजार ५०० मेट्रिक टन धान उत्पादन हुने गरेको छ । सो क्षेत्रफलमा धानबाली नष्ट भएर एक अर्ब ९३ करोड रुपैयाँ बराबरको आर्थिक नोक्सान भएको निर्देशनालयले जानकारी दिएको छ । 

यसैगरी, कञ्चनपुरमा धान गरिएको कुल जमिनमध्ये १२ हजार ११८ हेक्टर जमिनमा लगाइएको धानबालीमा नोक्सान भएको छ । यति जमिनमा ४७ हजार २६३ मेट्रिक टन धान उत्पादन हुने गरेको विगतको तथ्याङ्क रहेको छ । बाढीका कारण ९४ करोड रुपैयाँ बराबरको धानबालीमा क्षति भएको प्रमुख जोशीले जनाए । यस्तै, दुवै जिल्लामा गरेर २५ करोड रुपैयाँ बराबरको पराल नोक्सान भएको छ ।

दुवै जिल्लामा कुल एक लाख १८ हजार हेक्टर जमिनमा बर्खे धान खेती हुने गरेको छ । कुल धान खेती भएको जमिनमध्ये औसतमा ३० प्रतिशत जमिनको धानबालीलाई बाढी र वर्षाले सोत्तर गरेको जनाइएको छ।

दुवै जिल्लाको दक्षिणी क्षेत्रमा काटिएको धान बाढीले बगाएर लगेको छ भने नकाटेको धान पनि नष्ट भएको छ । धेरथोर बँचेको धान पनि भिजेका कारण खेतमै उम्रिएको छ । उम्रिएको धान अब काम नलाग्ने उल्लेख गर्दै प्रमुख जोशीले किसानको अवस्था अत्यन्त दर्दनाक रहेको बताए । ‘सबैको पेट पाल्ने किसान अवस्था अत्यन्त दर्दनाक छ’, उनले भने । कृषिमा भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेकाले क्षति अझै बढ्ने जनाइएको छ । 

भित्र्याउनका लागि तयार पारिएको धानबाली वर्षा र बाढीका कारण सोत्तर भएपछि भोकमरी समस्याको सामना गर्नु पर्ने किसानले बताएका छन् । उनीहरुलाई परिवारको पेट कसरी पाल्ने भन्ने चिन्ता भएको छ । दुई बिघा पाँच कट्ठा जमिनको धानबाली नष्ट भएको जनाउँदै कैलारी गाउँपालिका–७ भुईयाँफाँटाका कृषक भरथरी चौधरीले खाद्यान्न अभावको समस्या हुने बताए ।

‘पाँच कट्ठामात्रै धान जोगियो’, उनले भने । ‘त्यत्तिमा भएको उत्पादनले नौ जनाको पेट कसरी पाल्नू ?’ उनले एक बिघा १३ कट्ठामा काटेर भित्र्याउन तयार पारेको धान बाढीले बगाएको र १२ कट्ठा जमिनको धान बालुवा पटान भएर नष्ट भएको जनाए । 

मोहना नदीको बाढीको कारण धेरै किसानको धान खेत बगरमा परिणत भएको छ । उनीहरुले नकाटेको धान पनि जोगिएको छैन । बाढीका कारण कैलालीको कैलारी गाउँपालिका–५ विसनपुरमा बगर बनेको धान खेत ।