फुटबल खेलाडी बनेका कैलालीका मुक्तकमैयाका दुई छोरीको कथा
2021/10/31, 9:55
 
news

अलिकति डर, अलिकति खुशी । पहिलो पटक नौलो ठाउँमा जाँदा धेरैलाई यस्तै हुन्छ । मंगलबार सातदोबाटोस्थित फुटबल मैदानमा भेटिनुभएकी सरस्वती चौधरीको मुहारमा पनि यही भाव थियो । गाउँघरमा साथीहरूसँग फुटबल खेलेता पनि सरस्वतीलाई काठमाडौं आएर फुटबल खेल्दा अलिकति डर लाग्नु स्वाभाविकै हो ।

रातो टिसर्ट र रातै हाप पेन्टमा भेटिएकी सरस्वतीको घर कैलालीको जानकी गाउँपालिका–९ हो । उनी उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताका लागि काठमाडौं पुगेकी हुन । “आफ्नो तर्फबाट सक्दो राम्रो खेल्ने हो । खेलमा हार–जीत त हुन्छ नै । यद्यपि, लक्ष्य चाहिं जित्ने नै छ,” सरस्वतीले भनिन् । 

सरस्वतीलाई अब फुटबलमै भविष्य बनाउनुछ । “मलाई सानैदेखि फुटबल खेल्न औधी मन पर्थ्यो । तर अवसर पाएको थिइनँ । अब भने अवसर पाएको छु, यसैमा लाग्छु,” उनले भनिन । 

अभिभावक नहुँदाको पीडा

सरस्वती अहिले १८ वर्ष पुगिन् । उनी घरमा एक्लै छिन् । सरस्वतीका बुवाको ८ वर्ष पहिले मृत्यु भयो । दाइ बिहे गरेर अलग बस्छन् । दिदी पनि बिहे गरेर गईन् । केही वर्षअघि आमा पनि पोइल गएपछि उनी एक्लै भएकी हुन् । “राम्रोसँग फुटबल खेल्ने इच्छा त थियो । तर मलाई बाटो देखाउने अभिभावक नै छैनन् । यो काम राम्रो हो, यो नराम्रो हो । यसो गर, उसो नगर भन्ने कोही छैन । काम गरी खान खेतबारी छैन, ज्यामी काम गरेर पेट पाल्नुपर्छ,” सरस्वतीले आफ्नो दुःख सुनाईन । 

फर्म भर्ने पैसा नहुँदा पढाइ छोड्नुपर्यो 
सरस्वतीलाई फुटबलसँगै विद्यालय पढ्न मन छ । तर, कापी–किताब किन्न पैसा हुँदैन । उनकी आमा मुक्त कमैया हो । उनी अरूको घरमा काम गरेर परिवार पाल्छिन् । आफ्नो खेतबारी नहुँदा छोराछोरी पाल्न अरूको घरमा काम गर्नुपथ्र्याे ।
सरस्वतीले पढाइ छोडेको तीन वर्ष भयो । २०७६ सालमा कक्षा १० को परीक्षा फर्म भर्ने पैसा नहुँदा पढाइ छोड्नुपर्याे । पारिवारिक समस्या बताउँदै सरस्वती भनिन, “दाइ–भाउजू आफैंलाई पालिन ठिक्क छ, दिदी बिहे गरी गइसक्नुभयो । म आफूले काम गरी पेट भर्नु कि पढाइ गर्नु ! त्यसैले पढाइ छोडें ।”

काम खोज्दै काठमाडौं
न पढाइ, न काम ! साँझ–बिहानको छाक टार्नै धौ–धौ भएपछि सरस्वती काम खोज्दै काठमाडौं पुगिन् । सरस्वतीकी फुपू नाता पर्ने एक जना दिदी काठमाडौंमा लेबर काम गर्छिन । सरस्वतीले कामको लागि फुपूसँग कुरा गरिन । फुपूले काम पाउँछ भनेपछि उनी गएको मंसीर ४ गते काठमाडौं गईन र फुपूसँगै काम गर्न थालिन् ।  दिनभरि गिटी, बालुवा, सिमेन्ट बोक्ने; सडक सफा गर्ने काम पाईन । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म काम गर्नुपथ्र्याे । दिउँसो १२ देखि दुई बजेसम्म खाना खाने र आराम गर्ने समय हुन्थ्यो । यसरी काम गर्दा दिनमा पाँच सय कमाइ हुन्थ्यो ।

बाध्यताले लेबर काम गर्नुपरे पनि सरस्वतीको ध्यान भने गाउँमै हुन्थ्यो । साथीभाइहरू विद्यालयमा पढिरहेको वेला आफू चाहिं सडकमा काम गरिरहँदा नरमाइलो लाग्थ्यो । “कहिले काम गर्दै रुन्थें, खाना खान पनि मन लाग्दैन्थ्यो । तर, काम नगरेर के गर्नु ! यो त मेरो बाध्यता थियो,” सरस्वतीले भनिन ।

त्यो पैसाले खान–बस्न ठिक्क हुन्थ्यो । उनी गाउँका साथीहरूसँग फोनमा कुरा गरिरहनथिईन । साथीहरूले आफूहरू फुटबल सिकिरहेको कुरा सरस्वतीलाई भने । सानैदेखि खेलमा रुचि राख्ने सरस्वतीलाई यो कुराले पोल्न थाल्यो । उनलाई पनि गाउँमा गएर फुटबल सिक्न मन लाग्यो । त्यसपछि उनी दुई महिनापछि घर फर्किईन ।

फुटबल सिकाइ
जानकी गाउँपालिकाले मुक्त कमैयाका छोरीहरूका लागि फुटबल प्रशिक्षण शुरू गरेको थियो । सरस्वतीले घर फर्केर त्यहाँ आवेदन दिईन । उनको खेलप्रतिको लगाव र मेहनतले छनोट पनि भईन । करिब पाँच महिना फुटबल सिकिसकेपछि सरस्वती ‘उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिता’का लागि काठमाडौं गईन ।  सरस्वतीलाई अब पढाइ र फुटबल दुवै अघि बढाउनुछ ।

प्रहरीभित्रको खेलाडी बन्ने सपना अधुरै !
सरस्वती जस्तै जानकी गाउँपालिका–३ कि करिश्मा चौधरी पनि फुटबल खेल्न काठमाडौं गईन । तर करिश्मा चाहिं सरस्वती जस्तै पहिलो पटक भने होइन । उनले यो भन्दा पहिले पनि सुदूरपश्चिम महिला फुटबल टीमबाट फुटबल खेलिसकेकीछिन । करिश्माको पनि आफ्नै कथा छ ।

उनलाई नेपाल प्रहरी भएर पुलिस क्लबबाट खेलाडी बन्ने इच्छा थियो । यसका लागि २०७२ सालमा नेपाल प्रहरीमा आवदेन पनि दिईन । तर, सोचेजस्तो भएन । उनको लिखितमै नाम निस्किएन । त्यसपछि करिश्माले आवदेन नै दिईनन । “पहिले एक पटक प्रयास गर्दा सफल भइएन । त्यसपछि प्रयास नै गरिनँ । अब त उमेर नै बढी भइसक्यो । प्रहरी भएर खेलाडी बन्ने सपना अधुरै रहे पनि अब बाहिरबाटै खेलाडी बन्ने सपना देख्दैछु,” उनले भनिन ।

उमेरले २६ वर्ष पुगेकी करिश्माको पनि पढाइ १० कक्षासम्म मात्र छ । आर्थिक अभावकै कारण पढाइ अघि बढाउन नसकेको उनी बताउछिन ।

कराँते
फुटबलमा आउनुभन्दा पहिले करिश्माको यात्रा कराँतेमा थियो । उनले कराँतेमा क्षेत्रीय स्तरमा खेलेकीछन । करिश्माले कराँतेको ह्वाइट बेल्ट प्राप्त गरेकीछिन । कक्षा तीनमा पढ्दा नै उनले कराँते सिकेकी थिईन । पछि बेल्ट चेन्ज गर्ने पैसा नहुँदा कराँतेबाटै बिदा लिनुपरेको करिश्मा बताउछिन । “कहिले विद्यालयमा, कहिले कतै कराँते त सिकें तर त्यसलाई निन्तरता दिन सकिनँ । अब फुटबलबाटै यात्रा शुरू गर्छु,” उनले भनिन । 

करिश्मालाई पनि खेल क्षेत्रमा सानैदेखि रुचि थियो । गाउँ, जिल्ला, क्षेत्रीय हुँदै अहिले राष्ट्रियस्तरमा सहभागिता जनाएकी उनलाई पढाइ पूरा नहुँदा समस्या भएको छ । पहिले आर्थिक अभावमा पढाइ छोडेकी उनलाई अहिले विद्यालय जाने उमेर नै गइसक्यो कि जस्तो लाग्छ । तर, पनि खेलसँगै पढाइको पनि आवश्यकता भएकोले फेरि पढ्ने सोच रहेको बताउछिन । “अब फेरि विद्यालयमा भर्ना हुन्छु, पढाइको लागि सर÷मिसहरूले पनि सहयोग गर्छौं भन्नुभएको छ,” करिश्माले भनिन । 

इच्छा त मेरो पुलिस क्लबबाट खेलाडी बन्ने थियो । यसका लागि २०७२ सालमा नेपाल प्रहरीमा आवदेन पनि दिएँ । तर, लिखितमै नाम निस्किएन । त्यसपछि करिश्माले आवदेन नै दिनुभएन । अब त उमेर नै बढी भइसक्यो । प्रहरी भएर खेलाडी बन्ने सपना अधुरै रहे पनि अब बाहिरबाटै खेलाडी बन्ने सपना छ ।

बाख्रा फर्म
करिश्माका आमा, बुवा र एक भाइ छन् । बहिनीको बिहे भइसक्यो । उनको परिवार अहिले अरूको बाख्रा फर्ममा काम गरेर गुजारा चलाइरहेको छ । गाउँ नजिकैका राजु चपाइँको फर्ममा काम गरेर मासिक १२ हजार रुपैयाँ कमाइ हुन्छ । फर्ममा ७२ वटा बाख्रा छन् ।

बिहान कुँडो पकाएर दिने र दिउँसो घाँस काटेर दिने काम करिश्मा गर्छिन । “फुटबलमा जति समय दिनसक्यो त्यति राम्रो हुन्छ । तर, मैले काम नगरे पैसा आउँदैन, फर्ममा काम गर्दा समय मिलाउनै गाह्रो परेको छ,” करिश्माले दुखेसो पोखिन । 

मुक्त कमैयाका छोरीहरू यसरी पुगे फुटबलमा
फुटबलबाट भविष्यको सपना देख्ने मुक्त कमैयाका छोरीहरूलाई अहिलेको उचाइसम्म पुग्न भने सहज थिएन । उहाँहरूलाई यहाँसम्म पुर्याउन भोजराज भाटको ठूलो देन छ । केटीहरूले पनि केटा सरह काम गर्न सक्छन् भन्दै परम्परावादी सोचलाई चिर्दै भोजराजले मुक्त कमैयाका छोरीहरूले पनि फुटबल खेल्न सक्छन् भनेर काठमाडौं लगेका हुन । 

पेशाले पत्रकार भाट विकटमा रहेका किशोरीहरूलाई वेला–वेला घच्घच्याउछन । मुगुका किशोरीलाई फुटबलमा ल्याउनेदेखि सुदूरपश्चिमका चेलीहरूलाई हिमाल चढाउनेसम्म गरेका छन् । मुगुका किशोरीहरूको फुटबल टोलीले जीत हासिल गर्न भोग्नुपरेको दुःखलाई समावेश गरी बनाइएको वृत्तचित्र ‘सुनाकली’का निर्देशक भाटले मुक्त कमैयाका छोरीहरूलाई फुटबल खेलमा सहभागी गराउनका लागि कैलालीको कटासेमा फुटबल प्रशिक्षण दिएका थिए ।