आइपिएलको मुख्य प्रायोजक ‘भिभो’ एलपीएलमा मोबाइल पार्टनर
2021/11/04, 5:24
 
Khel

धनगढीमा आगामी माघ दोश्रो साताबाट आयोजना हुने विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग(एलपीएल) लाई भिभो मोबाइल कम्पनीले मोबाइल पार्टनरका रूपमा प्रायोजन गरेको छ । भिभो मोबाइल कम्पनी र एलपीएलको आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्स बिच सम्झौता भएको हो । प्रतियोगिताको आगामी संस्करणमा मोबाइल पार्टनर रहने गरी लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाही र भिभोका एरिया सेल्स म्यानेजर अर्जुन मल्लले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

विश्व चर्चित क्रिकेट प्रतियोगिता मानिने इन्डियन प्रिमियर लिगमा समेत मुख्य प्रायोजक रहेको भिभोले नेपाली क्रिकेटको उत्थानका लागि समेत अग्रसरता लिएको भन्दै अध्यक्ष शाहीले खुसी व्यक्त गरे । उनले यो सम्झौताबाट नेपाली ग्रास रुट क्रिकेटको उत्थानमा थप टेवा पुग्ने बताए । 

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा लिटल फ्लावर प्रिमियर लिगको छैटौँ संस्करण माघ दोश्रो साताबाट सञ्चालन हुने छ । लिटल फ्लावर स्पोस्टर्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले कोरोना महामारीबाट विश्व नै प्रभावित बनेको भए पनि विद्यालय स्तरका खेलाडीको खेल क्षमता अभिवृद्धिका लागि प्रतियोगिताको आगामी संस्करणलाई निरन्तरता दिइने बताए । 

‘ग्रास रुटको क्रिकेटलाई चलायमान बनाउन अति जरुरी बनेको हुनाले पनि हामीले आउँदो संस्करणलाई निरन्तरता दिनुपर्ने बाध्यतालाई स्वीकार गरेका हौँ ।’ उनी भन्छन्,  ‘कोरोनाले आर्थिक क्षेत्र नराम्ररी प्रभावित बनेको त छ नै तर पनि हामीले सुरु गरेको अभियानलाई सकेसम्म ओझेलमा पर्न दिनु हुन्न भनेर यसलाई निरन्तरता दिने प्रयास गरिएको हो ।’ 

प्रतियोगितामा यो संस्करणमा देशभरका १० विद्यालय स्तरीय टिमको सहभागिता रहने शाहीले बताए । जसमा लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी, कैलाली गुरुकुल इङ्लिस मिडियम हाई स्कुल लम्की कैलाली, स्टेपिङ्ग स्टोन इङ्लिस स्कुल धनगढी कैलाली, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली र विद्याभुषण पब्लिक स्कुल मोहनपुर गेटा कैलाली छन् । त्यसै गरी सत्यवती एकेडेमी अत्तरिया कैलाली, होलिल्यान्ड सेकेन्डरी स्कुल अत्तरिया कैलाली,  शारदा सरस्वती मावि दोधारा चाँदनी कञ्चनपुर, हिमालयन व्हाईट हाउस वर्ल्ड स्कुल काठमाडौँ र नेक्सस इन्टरनेसनल एकेडेमी काठमाडौँले पनि सहभागिता जनाउने छन् । 

लिग कम नक आउट फरम्याटमा खेलाइने प्रतियोगितामा १० टिमलाई २ पोलमा विभाजन गरेर प्रत्येक टिमले लिग चरणका ४ खेल खेल्न पाउने छन् । प्रत्येक टिममा १९ वर्षमुनिका ४ जना खेलाडी राख्न पाइने छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट बलरलाई १० हजार, उत्कृष्ट ब्याट्सम्यानलाई १० हजार र उदीयमान खेलाडीलाई १० हजार प्रदान गरिने प्रतियोगिताका संयोजक भूपी सिंह धामीले बताए । त्यस्तै आसन्न संस्करणबाट प्रतियोगितालाई थप रोमाञ्चक बनाउन प्लेयर अफ द म्याच, गेम चेन्जर र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत अवार्ड प्रदान गरिने छ ।