ओसन पब्लिकेसन एलपिएलको पब्लिकेसन पार्टनर
2021/11/09, 10:58
 
kk

विद्यालय स्तरीय यु–१९ क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल–६) लाई ओसन पब्लिकेसनले पब्लिकेसन पार्टनरका रूपमा प्रायोजन गरेको छ । त्रिकेटको सहर धनगढीमा आगामी माघ दोस्रो साताबाट आयोजना हुने प्रतियोगिताको छैटौं संस्करणमा ओसन पब्लिकेसन पार्टनर बनेको हो ।

2

प्रायोजन सम्बन्धी सम्झौता पत्रमा पब्लिकेसनको तर्फबाट प्रबन्ध निर्देशक लेखनाथ घिमिरे र आयोजक लिटिल फ्लावर स्पोर्टस एण्ड ईभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले हस्ताक्षर गरेका छन् ।  ओसन पब्लिकेसन विद्यालय तथा शैक्षिक संस्थाहरुमा पठनपाठन हुने गुणस्तरीय पाठ्य सामग्री र पाठ्यपुस्तक प्रकाशन मार्फत विगत १३ बर्षदेखि  सेवारत रहेको छ ।  सम्झौताबाट नेपाली उमेर समुहको क्रिकेटको उत्थानमा थप टेवा पुग्ने बताउँदै अध्यक्ष शाहीले भने, ‘यस्तो सहयोगले सुदूरमा विद्यालय स्तरका खेलाडीको खेल क्षमता बढ्ने र हौसला थपिने छ ।’ 

प्रतियोगिताको छैटौं संस्करणमा देशभरका १० विद्यालयको सहभागिता रहने छ । जसमा लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी, कैलाली गुरुकुल इङ्लिस मिडियम हाई स्कुल लम्की कैलाली, स्टेपिङ स्टोन इङ्लिस स्कुल धनगढी, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली र विद्याभुषण पब्लिक स्कुल मोहनपुर गेटा कैलाली छन् । त्यसैगरी सत्यवती एकेडेमी अत्तरिया कैलाली, होलिल्यान्ड सेकेन्डरी स्कुल अत्तरिया कैलाली,  शारदा सरस्वती मावि दोधारा चाँदनी कञ्चनपुर, हिमालयन व्हाईट हाउस वल्र्ड स्कुल काठमाडौँ र नेक्सस इन्टरनेसनल एकेडेमी काठमाडौँले पनि सहभागिता जनाउने छन् । 
लिग कम नक आउट फरम्याटमा खेलाइने प्रतियोगितामा १० टिमलाई २ समुहमा विभाजन गरेर प्रत्येक टिमले लिग चरणका ४ खेल खेल्न पाउने छन् । प्रत्येक टिममा १९ वर्षमुनिका ४ जना खेलाडी राख्न पाइनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट बलरलाई १० हजार, उत्कृष्ट ब्याट्सम्यानलाई १० हजार र उदीयमान खेलाडीलाई १० हजार प्रदान गरिने प्रतियोगिताका संयोजक भूपीसिंह धामीले बताए । त्यस्तै आसन्न संस्करणबाट प्रतियोगितालाई थप रोमाञ्चक बनाउन प्लेयर अफ द म्याच, गेम चेन्जर र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत अवार्ड प्रदान गरिने छ ।