‘विश्वकप छनोटका लागि बनेको’ महसुस गर्दैछिन् सुदूरपश्चिमकी ‘अलराउन्डर’ कविता
पाँच वर्ष प्रतिक्षापछि परिन् राष्ट्रिय टिममा
2021/11/09, 7:37
 
aa

सफलता, असफलता जीवनमा दुई पाटा हुन्। मानिसले सधैँ सफलता मात्रै पाउँदैनन्, असफलता पनि सामना गर्नुपर्छ। एउटा सिक्काका दुई पाटा भने जस्तै सफलता, असफलताले हरेक मानिसको जीवनमा अर्थ राख्छन्। कोही पनि मानिस सफलता नै सफलताको सिँढी मात्रै चढेर शिखरमा पुगेको हुँदैन। उसले कयौँ असफलताबीच आफूलाई अब्बल सावित गरेर सफलताको स्वाद लिन्छ।

फरक यति हो, असफलताले कसैलाई चाँडै निराश बनाउँछ भने कोही हिम्मत जुटाएर उठ्छन् र सफलता पाउँछन्। चाँडो निराश हुनेले फेरि प्रयास गर्न छाडे सफल हुन सक्दैनन्। तर कोही मानिस त्यस्ता हुन्छन्, जो असफलताबाट पटक्कै हार मान्दैनन्। पटक पटक प्रयास गरेर एक दिन सफलता प्राप्त गरेरै छाड्छन्। त्यस्तै सफलता प्राप्त गर्नेमा एक हु्न् क्रिकेटर कविता जोशी। 

खेल जीवनमा पटक पटक असफलता भोगे पनि कविताले हार मानिन्। बरु संघर्ष गरिरहिन्, आफ्नो तर्फबाट हरसम्भव मिहिनेत गर्न छाडिनन्। पटक पटक बन्द प्रशिक्षणमा पुगेर टिममा नपरेकी कविताले हिम्मत हारिनन्। उनकै कठोर मिहिनेतले पाँच वर्ष लामो धैर्यपछि पहिलो पटक यो वर्ष उनी राष्ट्रिय टोलीमा परेकी छिन्। कविताले निराश भएर प्रयास गर्न छाडेको भए सम्भावना भएर पनि गुमनाम हुनेको सूचीमा उनको नाम लेखिन्थ्यो।

पटक पटकको असफलताबाट कविताको हिम्मत नडगमगाएको होइन। तर उनका लागि परिवार सधैँ हौसलाको श्रोत बनिरह्यो। जसले उनको हौसला टुट्न दिएन, हिम्मत हार्न दिएन। बरु अझै मिहिनेत गरेर उठ्न प्रेरित गरिरह्यो। त्यसले पनि उनलाई अझै ऊर्जा भरिरह्यो। लगातारको कठोर परिश्रमले सुदूरपश्चिमकी अलराउन्डर कवितालाई यसपटक राष्ट्रिय टोलीको हकदार बनायो। 

सन् २०१६ देखि पटक पटक राष्ट्रिय टोलीको प्रशिक्षणमा परेकी उनले ५ वर्ष कुरेर निराश हुन परेन। राष्ट्रिय टोलीको अन्तिम १४ मा उनको नाम लेखियो।  बीचमै क्रिकेट छाड्ने कुरा मनमा नआएको पनि होइन। तर, उनमा कुनै दिन राष्ट्रिय टोलीमा पर्ने विश्वास थियो। त्यही विश्वास र हिम्मतको बलमा उनले क्रिकेट छाड्न सकिनन्। 

‘लगाातार बन्द प्रशिक्षणमा पर्थेँ। सुरुवाती दिनमा बन्द प्रशिक्षणबाट अन्तिम टोलीमा नपर्दा पनि खासै नराम्रो लागेन। मैले धेरै कुरा सिकेँ, अझै सिक्न बाँकी छ भन्ने हुन्थ्यो’, उनले पुराना दिन सम्झिँदै उनले भनिन्, ‘तर लगातार आउट हुन थालेपछि चित्त दुख्यो। राम्रो प्रदर्शन गरे पनि टोलीमा ठाउँ बनाउन सक्दिनथेँ। त्यसैले क्रिकेट छाड्न नखोजेको होइन तर परिवारको प्रेरणाले गर्दा छाड्न सकिनँ। मिहिनेत गरिराख एकदिन पालो आउँछ भनेर दाजुहरूले हौसला दिनुभयो।’

अहिलेको अवसरले उनलाई पुराना पीडादायी दिन भुल्न सघाएको छ। अहिले कविता आईसीसी टी–२० एशिया विश्वकप छनोटमा टोलीकी आशा लाग्दी खेलाडी बनेकी छन्। ‘सायद यसअघिका खेल मेरा लागि थिएनन् होला। त्यसैले टोलीमा परिँन। म त विश्वकप छनोटका लागि बनेको महसुस गरेकी छु’, खुसी साट्दै उनले भनिन्, ‘मभन्दा बढी मेरो परिवार खुसी छ।’

राष्ट्रिय टोलीमा परेको समाचार सुन्दा परिवारले उनलाई भन्यो, ‘पहिला क्रिकेट छाड्छु भन्थिस्, अहिले हेर विश्वकप खेल्ने टोलीमा परिस्। मिहिनेत खेर गएन।’

 

युएईमा अर्को महिना हुने विश्वकप अन्तर्गत एशिया छनोटको तयारीका लागि महिला टोली बिहीबार बंगलादेश गएको छ। एक साताको प्रशिक्षण पछि ६ राष्ट्र सहभागी हुने खेलमा भाग लिन टोली युएई जानेछ। नेपाल छनोट प्रतियोगितामा मुख्य दाबेदार हो।  पहिलो पटक राष्ट्रिय टोलीमा पर्दा कविता स्वभाविक रुपमा उत्साहित छिन्। प्रशिक्षण पनि सन्तोषजनक भइरहेको उनले बताइन्। खेलमा लाग्ने जोकोहीको सपना राष्ट्रिय टोलीको जर्सी लगाउने हुन्छ। 

त्यो सपनाबाट कविता टाढा कसरी हुन सक्थिन्। लामो प्रतीक्षापछि उनी सपना पूरा गर्ने दिनको नजिक छिन्। एसियाबाट ग्लोबल क्वालिफायरमा पुग्छौँ भन्ने टोलीमा रहेको विश्वास उनमा पनि छ। टोलीमा सबैको साथ मिलेको बताउँदै कविता प्रशिक्षणमा पारिवारिक वातावरण रहेको बताउँछिन्।

***
खेलाडीका लागि परिवारको साथ कति महत्वपूर्ण हुन्छ भन्ने उदाहरण कविता हुन्। राष्ट्रिय टोलीको यात्राको श्रेय उनी परिवारलाई दिन्छिन्।  ‘मेरो साथमा परिवार नभए यहाँसम्म आउने थिइनँ। परिवारकै कारण यो सबै भएको हो’, उनले भनिन्।   कविताको विचारमा आफूले भन्दा परिवारका अरु सदस्यले खेल बढी बुझ्छन्।

‘मलाई खेलबारे थाहा थिएन’, उनले भनिन्, ‘परिवारकै कारण खेलमा लाग्न प्रेरणा मिल्यो। उहाँहरु सबै खेल प्रेमी। विस्तारै म पनि खेल मन पराउन थालेँ।’  पैसाको महत्व आफ्नो ठाँउमा छ। उनको परिवारले पैसालाई भन्दा नामलाई महत्व दिएको छ। ‘तिमी खेलेर पैसा कमाएर के गर्छौ, नाम पो कमाउने हो। देशका लागि खेल्न पाए, त्यो भन्दा ठूलो के हुन्छ’, उनलाई परिवारले भनिरहन्थे। दुई दाजु र दिदीकी कान्छी बहिनी कविताले पुरानो दिनतिर फर्किँदै भनिन्, ‘खेलमा लाग्न दाजुहरू (ठुलो बुवाका छोरा) ले प्रेरित गरिराख्नुभयो।’

क्रिकेटभन्दा अघि कविता तेक्वान्दो खेल्थिन्। सुदूरपश्चिममै २०६८ मा भएको छैटौं राष्ट्रिय खेलकुदमा उनले क्षेत्रको प्रतिनिधित्व गरेकी थिइन्। क्रिकेट छाडेर उनी तेक्वान्दोमा गएकी थिइन्। परिवारको चाहनामै उनले क्रिकेटमा फर्किने निधो गरेकी थिइन्। सानैदेखिको रुचीका कारण उनी दाजुदिदीहरुसँग खेल्थिन्। त्यो बेलामा दाजुहरूले उनलाई महेन्द्रनगरको एकेडेमीमा सिक्न सल्लाह दिए। त्यही सल्लाहअनुसार महेन्द्रनगर एकेडेमीमा भर्ना भइन्। त्यहाँ सिनियर दिदीहरूसँगको भेटको स्मरण अझै ताजा छ।

त्यति बेलाको कुराकानी सम्झिँदै उनले थपिन्, ‘तिमी अहिले कहाँ के गर्दै छौ भन्नुभयो। म यहाँ सिक्न आएको भनेँ।’ केही दिन अभ्यास गरेपछि २०६४ मा राष्ट्रिय प्रतियोगिता नजिक थियो। उनलाई बैतडीबाट खेल्न प्रस्ताव आयो। तर त्यतिबेला परिवारले अनुमति दिएन। ‘तिमी सानै छौ, नखेल भन्नुभयो, अनि घर फर्केँ,’ उनले भनिन्। 

त्यसपछि उनी तेक्वान्दोमा गइन्। त्यही बीचमा छैटौं राष्ट्रिय प्रतियोगिता खेलिन्। २०७० मा उनी क्रिकेटमै फर्किइन्। त्यो बेला महेन्द्रनगरमा राष्ट्रिय प्रतियोगिताको तयारी भइरहेको थियो। त्यहाँ खेलाडीको कमी थियो। क्षेत्रीय टोलीबाट खेल्ने प्रस्तावलाई उनले नमान्ने कुरै थिएन। त्यही मौका सदुपयोग गर्दै उनले २०७१ मा काठमाडौँमा ५० ओभरको खेल खेलिन्।

***
अरु खेलाडीले जस्तै क्षेत्र र राष्ट्रिय टोलीको प्रशिक्षणमा फरक पर्ने अनुभव कवितासँग पनि छ। राष्ट्रिय टोलीमा सुविधा हुन्छ। क्षेत्रीय टोलीमा प्रशिक्षण गर्दा त्यस्तो हुँदैन।  त्यस्तै विभागीय खेलाडी र बाहिरका खेलाडीको फरक उनले महसुस गरेकी छन्। ‘विभागका खेलाडीहरूले आवश्यक सामान किन्न सजिलै सक्छन्। नियमित आम्दानी हुने भएकाले कसैको भर गर्नुपरेन’, उनले भनिन्, तर बाहिरका खेलाडीले आर्थिक कारणले नै आवश्यक किट्स जुटाउनै गाह्रो हुन्छ।’

कविताले पनि विभागमा जाने सपना देखेकी छिन्। विभागमा अनुबन्ध भए खेल्न सजिलो हुन्छ। ‘हामी जस्ता खेलाडीलाई गाह्रो छ। विभागमा हुँदा खेलमा लाग्न सजिलो हुन्थ्यो’, उनले भनिन्, ‘उहाँहरुलाई चाहिने सामान सजिलै किन्नुहुन्छ। खेलेर कहिल्यै पछुतो हुँदैन। तर हामीलाई आर्थिक अभावले पिरोल्छ। परिवारको पैसाले सधैँ धान्न गाह्रै हुन्छ।’ 

कविताले यसअघि विभागमा जाने प्रयास गरेकी थिइन्। तर सफलता मिलेन। सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग जोडिने प्रयास असफल भयो। एपीएफमा जोडिने प्रयास असफल भए पनि राष्ट्रिय टोलीमा परे विभागमा पनि अनुबन्ध हुनेमा उनी आशावादी छन्। 

अहिले त्रिभुवन आर्मी क्लबमा जोडिन प्रयासरत छिन्। राष्ट्रिय टोलीमा टिकिरहन घरेलु क्रिकेटलाई निरन्तरता दिनुपर्छ। त्यसका लागि उत्तम विकल्प विभागीय टोलीमा जानु हो। जुन कुरा कविताले राम्ररी बुझेकी छन्।  विभाग बाहिरका क्लबबाट खेल्दा आर्थिक समस्या आइजान्छ।

‘विभागका खेलाडीले खेल सामाग्री, सुज, किट आफ्नै पारिश्रमिकबाट किन्न सक्छन्’, उनले थपिन्, ‘हामीलाई धेरै गाह्रो हुन्छ। विभागमा गए एक हदसम्म सेटल भइन्छ, ढुक्क हुन्छ। नियमित प्रशिक्षण पाइन्छ। त्यसले खेल जीवन अघि बढाउन मद्दत गर्छ।’  पाँच वर्ष लामो प्रयासपछि राष्ट्रिय टोलीमा पर्ने उनको कठोर तपस्या पूरा भएको छ। अब खेल जीवनलाई अझै माथि लैजान उनी विभागीय टोलीमा आवद्ध हुने सपना पूरा गर्न दौडमा छिन्।