डोटीमा अटो व्यवसायीले पुरे सडकका खाल्डो : सडक डिभिजन र स्थानीय सरकार मूखदर्शक
2021/12/21, 2:42
 
11

डोटी– डोटीका अटो व्यवसायीहरुले कुलपाते–राजपुर सडकका खाल्डोहरु पुरेका छन् । भागेश्वर अटो प्रालिका व्यवसायीहरुले सडकका खाल्डोहरु पुर्नुका साथै सडकमा परेको पहिरो हटाएका हुन् ।

साविकको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रकाे क्षेत्रीय सदरमुकाम राजपुर जाने उक्त सडक भएर तत्कालीन राजाहरू, क्षेत्रीय प्रशासक, पृतना पति देखि लिएर अहिलेका मन्त्री, मुख्यमन्त्री, निर्देशक देखि स्थानीय सरकारका प्रमुखहरू प्राय जसो हिड्ने गर्दछन् । सडकको छेउमै संघीय सरकारको सडक डिभिजन कार्यालय छ तर बाटोकाे अवस्था भने बिजोग छ ।

ठाउँ-ठाउँमा सडक मिच्ने गरेर पहिरो आएको छ । खाल्डा खुल्डीहरुले दुर्घटना हुने जोखिम छ । सडकको माथिल्लो भागमा नेपाली सेनाको घेरबार छ सडक तल भिरालो जमिन । सडक तलका स्थानीयहरू पानी पर्दा, हावा हुरी आउँदा तर्सिन्छन् । सडक तल प्रायः पहिरो गइरहेछ । सडक माथिबाट रूखहरू खस्ने सम्भावना अत्याधिक छ ।

जीर्ण हुँदै गएको उक्त सडक भएर केआइसिह गाउँपालिका जोड्ने र मुख्यमन्त्री त्रिलोचन भट्टको गाउँ जाने सडक कालोपत्रे गर्न निर्माण कम्पनीका ठुल-ठूला लोडर, टिपर, ट्याक्टर लगाएतका सवारी साधन दैनिक चल्छन् । निर्माण कम्पनीका टिपरका कारण सडक झन् भासिँदै गएको छ । तर सडक सुधारमा कसैले पहल गरेको पाइँदैन।

कुलपाते- राजपुर सडक हाल सम्म योजनामा त परेन परेन गत महिनाको वर्षाले परेको पहिरो समेत हटाउने योजना कहीँ कतैबाट परेन। यस्तो अवस्था देखें पछि अटो व्यवसायीहरुले खाल्डा पर्ने र पहिरो हटाउने कार्य गरेको भागेश्वर अटो प्रालिका सचिव डील महराले बताए । ‘हामी लगायत धेरैका सवारी साधनहरू सोहीबाटो भएर हिँड्छन्, हामीले सडक प्रयोग गरेवाफत स्थानीय सरकारलाई कर तिर्ने गरेका छौं तर बाटो सुधार कसैले गरिदिदैन,’ उनले भने ।’

यो सडक स्थापना भए देखि खासै सुधारको काम नभएको स्थानीय श्याम बहादुर कठायतकाे गुनासो छ । ‘निर्माण हुँदा नै साँघुरो एकतर्फी बाटो काटिएको थियो, ‘उनले भने,’ नेपाली सेनाले बाटो थप्न दिन्न भनेर सबै चुप बसे , कसैले बाटो सुधारका लागि पहलनै गरेनन् ।’

साँघुरो सडक त्यस माथि ठाउँ-ठाउँमा आएको पहिरो र खाडलले गर्दा निकै जोखिम भएको शैलेश्वरी सार्वजनिक यातायात प्रालिका अध्यक्ष गणेश मालासीले बताए । समयमै सडक सुधारको काम नगरे अबको वर्षातकाे समय सडक पुरै भासिने सम्भावना रहेकाले सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको उनले बताए ।

सडकको बिजोग अवस्था देख्दा-देख्दै छेउमै रहेको सडक डिभिजन र स्थानीय सरकार मूकदर्शक बनेको उग्रतारा सार्वजनिक यातायात प्रालिका प्रतिनिधि कृष्ण भट्ट बताउँछन् ।

दिपायल सिलगढी नगरपालिका – ४ मा रहेको उक्त सडक सुधारका लागि स्थानीय सरकार, सडक डिभिजन, प्रदेश सरकार र नेपाली सेनाबीच समन्वय हुनु पर्ने यातायात व्यवसायीहरु बताउँछन् ।

सडक सुधारको काम अगाडि नबढे निर्माण कम्पनीका टिपर तथा ठूला यातायातका साधनमा रोक लगाउने स्थानीयहरूले चेतावनी दिएका छन् । सडकका कारण आफूहरुको घर, जमीनमा क्षति पुगेको खण्डमा आफुहरु चुप लागेर नबस्ने सडक मुनिका स्थानीयहरू बताउँछन् । टिपर वालालाई पटक-पटक सचेत गराउँदा उल्टै धम्की दिने गरेको बताउँदै उनीहरूले आन्दोलनका कार्यक्रम अघि बढाउने बताएका छन् ।

साविकको क्षेत्रीय सदरमुकाम राजपुरमा अधिकांस प्रदेश कार्यालयहरू छन् । कार्यालयका निर्देशक प्रमुखहरू दैनिक त्यही बाटो हिड्ने गरेका छन् । सो सडक भएर जिल्लाको बोगाटन, केआईसिंह र बडीकेदार गाउँपालिका सम्म सवारी साधनहरू सञ्चालन हुने गर्दछन् । दिपायल खुटिया द्रुतमार्ग पनि सोही सडकसँग जोडिने छ।