जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूतिमा थप गर्ने निर्णय
2022/06/21, 11:51
 
ss

सरकारले बझांगी राजा जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूतिमा थप गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको हो।

वि सं १९३४ भदौ ७ मा सैपाल हिमालको काख बझाङमा जन्मिएका उनी नेपाली भाषाको पहिलो किताब ‘अक्षरांक शिक्षा’ का लेखक, बझाङका सुधारवादी राजा, गोरखापत्रका संस्थापक रुपमा परिचित छन्।

यस्तै, उनी सन् १९१३ मा नोबेल सहित्य पुरस्कार पाएका एसियाका प्रथम साहित्यकार रविन्द्रनाथ ट्यागोरको सन् १९३१ मा छापिएको ‘दि गोल्डेन बुक अफ दि ट्यागोर’ मा समेटिएका एक मात्र नेपाली हुन् भने ३१ औं अमेरिकी राष्ट्रपति हर्वट हुवरले सन् १९३३ मा अमेरिकामा भएको विश्व आस्था सम्मेलनमा अतिथि बनेर पुग्ने एक्ला नेपालीका साथै सन् १९२९ मार्च २५ देखि सेप्टेम्बर ४ सम्म युरोपमा आफ्नो मौलिक दर्शन मानवतावादको प्रवचन दिन आमन्त्रण गरिएका एक्ला नेपाली पनि हुन्।

उनले सन् १९२८ को मार्च ८ मा निर्वासित जीवनकालमै दक्षिण भारतको बैंगलोरमा मानवतावादी क्लबको उद्घाटन गरेका थिए। सोही वर्ष मानवतावाद भन्ने पुस्तक लेखे। ह्युमानिस्ट अर्थात मानवतावादी भन्ने अखबार सञ्चालन गरे। विश्वमा शान्तिको सन्देश दिँदै हिँडे।