यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताः मधेश र बागमति प्रदेशको जित
2023/04/24, 7:24
 
ss

मधेश प्रदेश र बागमती प्रदेशले कैलालीको धनगढीमा जारी एनआईएमबी सुदुरपश्चिम मुख्यमन्त्री १६ बर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा आज भएका खेलमा जित हात पार्दै मधेश र बागमतिले पहिलो जित दर्ता गरेका हुन् । फाप्ला मैदानमा भएको पहिलो खेलमा मधेशले लुम्बीनीलाई ११ रनले हरायो भने दोस्रो खेलमा बागमतीले गण्डकीलाई २८ रनले हरायो । 

आज भएको पहिलो खेलमा मधेशले पहिले ब्याटिङ गर्दै खराब मौसमका कारण २८ ओभरमा झारिएको खेलमा ७ विकेट क्षतिमा १४१ रन बनायो । मधेशका लागि अभिषेक तिवारीले अर्धशतक सहित ५७ र निरज यादवले पनि अर्धशतक सहित ५० रन बनाए । लुम्बीनीका सागर गैरे र आशिष ओलीले दुई दुई विकेट लिए । प्रतिउत्तरमा लुम्बीनी प्रदेशले निर्धारित ओभरमा ७ विकेट क्षतिमा १३० रन मात्रै बनाउन सक्यो । यसका लागि प्रतिक भट्टराईले ३८ रन र सन्दीप यादवले २५ रन बनाए । मधेशका लागि सलमान मंन्सुरी र रोशन शाहले दुई दुई विकेट लिए । ५७ रनको अर्धशतकीइ पारी खेलेका मधेशका अभिषेक तिवारी प्लेयर अफ द म्याच भए । उनले नगद दुई हजार प्राप्त गरे । 

आजकै दोस्रो खेलमा बागमतिले पहिले पहिले ब्याटिङ गर्दै खटाईएको २३ ओभरमा १४० रन बनायो । बागमतिका लागि रोशन विकले ५६ रनको अर्धतशकीय पारी खेल्द जोय थापा २७ र निश्चल श्रेष्ठले २३ रन जोडे । गण्डकीका लागि रोहित चन्दले ह्याट्रिक सहित ३ विकेट लिए । उनले २१.२, २१.३ र २१.४ ओभरमा ह्याट्रिक लिएका हुन् । 

प्रतिउत्तरमा गण्डकीले निर्धारित ओभरमा ६ विकेट क्षतिमा ११२ रन मात्रै बनाउन सक्यो । उसका लागि विज्ञान पाण्डेयले ४० रन, सुप्रीम सुनार र अनिश ताम्राकारले १४÷१४ रन बनाए । बागमतिका लागि सार्थक धितालले दुई र रोशन विकले एक विकेट लिए । ५६ रन सहित एक विकेट लिएका बागमतीका रोशन विक प्लेयर अफ द म्याच भए । उनले नगद दुई हजार प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत भोली दुई खेल हुनेछन् । पहिलो खेलमा मधेश प्रदेश र कर्णाली प्रदेश तथा दोस्रो खेलमा कोसी प्रदेश र गण्डी प्रदेश प्रतिस्पर्धा गर्नेछन् ।  प्रतियोगिताको विजेताले नगद दुई लाख र उपविजेताले नगद एक लाख प्राप्त गर्नेछन् । त्यस्तै म्यान अफ द सिरिजले नगद १५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही नगद १० हजार तथा प्लेयर अफ द म्याचले नगद दुई हजार प्राप्त गर्नेछन् । नेपाल क्रिकेट संघले मलेसियामा हुने १६ वर्षमुनिको ईस्ट जोन कप क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै प्रतियोगिताको आयोजना गरेको हो । एसियन क्रिकेट काउन्सिलको कार्यक्रम अनुसार सो प्रतियोगिता अगामी जेठ ३ देखि १४ गतेसम्म मलेसियामा हुनेछ ।