सुदूरपश्चिममा गत वर्षभन्दा यसवर्ष आधा क्षेत्रफलमा मात्र रोपाइँ
2023/07/11, 3:20
 
ss

सुदूरपश्चिममा गत वर्षको तुलनामा यस वर्ष आधा क्षेत्रफलमा मात्र धान रोपाइँ सम्पन्न भएको छ। प्रदेशभित्र एक लाख ७१ हजार ४ सय ७६ हेक्टरमा धान रोपाइँ हुने गरेको छ। त्यसमध्ये अहिलेसम्म ४८ दशमलव ९७ प्रतिशत अर्थात् ८३ हजार ९ सय ७२ हेक्टरमा धान रोपाइँ भएको छ। गत वर्ष यही अवधिमा ७२ दशमलव ७० प्रतिशत रोपाइँ भइसकेको थियो। मनसुन ढिलाइ हुँदा रोपाइँमा कमी आएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

रोपाइँ नहुनुको प्रमुख कारण भने सिँचाइ समस्या हो। सुदूरपश्चिमको रोपाइँ मनसुनमा आधारित हुँदा रोपाइँको क्षेत्रफलमा कमी देखिएको हो। साथै महामारीका रूपमा फैलिएको लम्पी स्किन संक्रमणले पनि धान रोपाइँमा प्रत्यक्ष प्रभाव पारेको छ। लम्पी स्किनबाट दुई लाख बढी पशु संक्रमित छन भने झण्डै ११ हजारको संख्यामा मरेका छन्।

यसरी लाखौंको संख्यामा पशु संक्रमित हुँदा रोपाइँमा पनि प्रत्यक्ष प्रभाव परेको अधिकारीहरुले बताएका छन्। रोगकै कारण पहाडी भेग अर्थात प्रविधि नपुगेको ठाउँमा खेतबारी जोत्न सकिएको छैन। सुदूरपश्चिममा ८९ हजार ४९१ हेक्टर जमिनमा वर्षभरी सिँचाइ सुविधा उपलब्ध छ। ८० हजार २९४ हेक्टर जमिनमा आंशिक सिँचाइ उपलब्ध छ।

यो वर्ष सिँचाइ सुविधा उपलब्ध भएको क्षेत्रमा रोपाइँ भए पनि बाँकी क्षेत्रमा पर्याप्त वर्षा नहँुदा रोपाइँ हुन सकेको छैन्। कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले असारभित्र रोपाइँ सम्पन्न भएमा धान उत्पादकत्वमा कुनै समस्या नहुने बताए। कैलालीमा धानखेती हुने ६९ हजार ३ सय हेक्टरमध्ये ५३ प्रतिशत सिञ्चित क्षेत्र रहेको छ। उनका अनुसार कैलाली जिल्ला वर्षे धानमा सबैभन्दा बढी क्षेत्रफलमा खेती हुने र उत्पादनमा देशमै झापापछि दोस्रो स्थानमा छ।