टीकापुर क्षेत्रमा केरामा फैलिएको पानामा रोगको अध्ययन सुरु
2023/08/30, 1:47
 
ss

कैलालीको टीकापुरमा केरामा देखिएको टिआर–४ पानामा रोगको प्रारम्भिक अध्ययन थालिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् नार्कले गरेको केराको नमूना परीक्षणमा पानामा रोगको सङ्क्रमण देखापरेको थियो । पानामा रोगको अध्ययनका लागि राष्ट्रिय बिरुवा संरक्षण सङ्गठन नेपालले गठन गरेको जोखिम विश्लेषण कार्यदलले स्थलगत अध्ययन सुरु गरेको हो । राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा रामबहादुर खड्काको नेतृत्वमा बनेको सात सदस्यीय कार्यदलले टीकापुरमा पुगेर अध्ययन सुरु गरेको छ ।

कार्यदलले कृषि क्षेत्रमा काम गर्दै आएका सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका कार्यालय प्रमुखसहित किसानसँग छलफल चलाएको छ।
प्रारम्भिक चरणमा रोग पत्ता लागेको बारीबाट अर्को बारीमा सर्न नदिनका लागि आचारसंहितासहित कार्यान्वयनका लागि सरोकारवालासँग छलफल गरिएको छ ।छलफलका क्रममा कार्यदलका संयोजक कृषि वैज्ञानिक डा रामबहादुर खड्काले किसानलाई हतोत्साहित नभएर सावधानी अपनाउन आग्रह गरे । उनले पानामा रोगको सङ्क्रमण अन्य बारीमा फैलिन नदिन किसान सचेत हुनुपर्ने बताए । “हामीले नमूना लिएर परीक्षण गरेका बारीमा पुग्दा स्थिति डरलाग्दो छ । त्यहाँ ६०र६५ प्रतिशत बिरुवामा सङ्क्रमण फैलिएको छ”, डा खड्का भन्छन्, “रोग फैलिएको क्षेत्रमा नष्ट गर्नु राम्रो हुन्छ भने अन्य क्षेत्रमा विशेष सावधानी आवश्यक छ । अन्य क्षेत्रको स्थलगत अवलोकन गर्दा सङ्क्रमण फैलिएको पाइएको छ ।”

माटोबाट रोग सर्ने भएका कारण किसानले प्रत्येक केरा बारीमा क्वारेन्टाइन बनाउनुपर्ने सुझाव कार्यदलले दिएको छ । कार्यदलका सदस्य वरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश पौडेलले बारीमा जाँदा उत्पादन भएको केरा सङ्कलन र बजारीकरण गर्दा विशेष सावधानी अपनाउन आग्रह गरे । “रोगको सङ्क्रमण पुष्टि भइसकेपछि हतोत्साहित नभएर रेखदेख गर्नुपर्छ । बारी बाहिरको सामग्री बारीमा नलिने र भित्रको सामग्री बाहिर नलिने व्यवस्था मिलाउन सक्नुपर्छ”, उनले भने, “विशेषगरी सवारीसाधन र पानीबाट बढी जोखिम भएका कारण बारीमा सवारीसाधनमा रोक लगाउन जरुरी छ ।”

कार्यदलले गरेको अध्ययनले अधिकांश केरा बारीमा रोगको सङ्क्रमण फैलिएको देखाएको छ । कतिपय ठाउँमा केरामा लक्षण नदेखिए पनि माटोबाट सरेको जीवाणुको लक्षण देखिन छ महिनासम्म लाग्ने बताइएको छ । बिरुवाबाट तीन–चार महिनामै लक्षण देखिने गरेको छ । कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र जोशीले किसान आफैँ जिम्मेवार हुनुपर्ने बताए । उनले किसानले आफ्नो बारीको निगरानी बढाउनुपर्ने र स्थानीय सरकारले किसानसँगको समन्वय बढाउनुपर्नेमा जोड दिए।

कैलाली केरा उत्पादक सङ्घका अध्यक्ष दीपेन्द्र थारूले रोगको सङ्क्रमण देखिएपछि किसान सचेत भएको बताए । “विगतमा पनि प्राकृतिक विपत्तिका कारण ठूलो नोक्सानी व्यहोर्दै आएका छौँ । अब यस रोगले केरा किसान विस्थापित हुने अवस्था छ”, उनी भन्छन्, “केरा नष्ट गर्न तयार छौँ । हामी केरा व्यवसाय छाडेर अर्को गर्न तयार छौँ, राज्यले विकल्प खोजिदिनुपर्यो ।” पानामा रोगको सङ्क्रमण देखिएपछि टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्याम्पसको ल्याबमा परीक्षणका लागि नमूना पठाउन कार्यदलले किसानलाई सुझाव दिएको छ ।