कुख्यात ‘डन’ दाउद इब्राहिमको मृत्यु भएको हो ?
2023/12/18, 4:17
 
don

संदिग्ध रुपमा विष सेवन गरेपछि अन्डरवर्ल्डका कुख्यात ‘डन’ दाउद इब्राहिम सिकिस्त बिरामी भएका छन् । उनको हाल पाकिस्तानको कराँचीमा उपचार भइरहेको छ । यद्यपि उनले कस्तो अवस्थामा विष सेवन गरेका हुन् भन्नेबारे अझै स्पष्ट भइसकेको छैन ।

अहिले सामाजिक सञ्जालमा दाउद इब्राहिमको मृत्यु भएको भन्ने हल्ला पनि भाइरल भइरहेको टाइम्स अफ इन्डियाले जनाएको छ । उनलाई उपचार गरिरहेको अस्पतालमा उच्च सुरक्षा सतर्कता अपनाइएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

दाउदमाथि सन् १९९३ मा मुम्बईमा भएका श्रृङ्खलाबद्ध बम हमलाको योजना बनाएको आरोप छ । उक्त हमलामा २५० भन्दा धेरैको मृत्यु भएको थियो भने अरु हजारौँ घाइते भएका थिए ।खोजी सूचीमा रहेका दाउद पाकिस्तानमा रहँदै आएको भारतीय पक्षले दाबी गर्दै आएको थियो । यद्यपि पाकिस्तानले भने यस्तो दाबी अस्वीकार गर्दै आएको थियो ।

दाउद इब्राहिमले छाटो शकिल, जावेद चिक्ना टाइगर मेमोनलगायतका व्यक्तिहरुसँग मिलेर ‘डी कम्पनी’ भनिने गिरोह सञ्चालन गर्दै आएका थिए । यस गिरोह विभिन्न आतङ्ककारी एवम् आपराधिक गतविधिमा सक्रिय रहँदै आएको जनाइएको छ । भारत सरकारले उनीविरुद्ध २५ लाख रुपैयाँको इनाम राखेको छ । त्यसबाहेक अमेरिकाले पनि दाउदलाई ‘विश्वव्यापी आतङ्कवादी’ को सूचीमा राखेको छ ।