क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको हो ।
धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्काको स्मृतिमा आयोजना गर्न लागेको अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ । रनिङ ट्रफीको रुपमा टी–२० फमर््याटको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ ।
उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०÷५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ । लिगकम नकआउटका आधारमा आयोजना हुने प्रतियोगिताका सम्पुर्ण खेलहरु धनगढी स्थित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा आयोजना गरिनेछन् ।
को हुन त अर्जुन खड्का ?
सुदूरपश्चिमको क्रिकेट विकासका योद्धाको रुपमा रहेका अर्जुन खड्का सुदूरपश्चिमको क्रिकेट विकासमा लामो समयदेखि सक्रिय थिए । आफ्नो जीवनको करिव ३० वर्ष क्रिकेटमा बिताएका अर्जुनको विसं २०७२ मा ४५ वर्षको उमेरमा निधन भएको थियो । एकताका विश्व क्रिकेट जगतका मास्टर ब्लास्टर सचिन तेन्दुलकर र उनी सँगै क्रिकेट खेल्थे। बाल्यकालदेखिको दोस्ती थियो दुवैबीच तर समयले कोल्टे फेरेपछि सचिनले क्रिकेट जगत्मा दुर्लभ इतिहास रचे तर खड्काले कैलालीको क्रिकेटमा रम्दै यही जीवन समर्पण गरेर अस्ताए । उनले १० बर्षसम्म धनगढी कभर्डहलमा क्रिकेट खेलाडीलाई प्रशिक्षण गराएका थिए भने पछिल्ला ५ बर्ष धनगढी क्रिकेट एकेडेमीको मुख्य प्रशिक्षक रहेका थिए ।
मुम्बईमा रहँदा खड्काले सचिनसँगै भारतका चर्चित क्रिकेटर विनोद काम्बली, अजित अगारकर, रमेश पवार, पारस माहकेसँगै एकै टिमबाट क्रिकेट खेलेका थिए । १५ वर्षको उमेरदेखि क्रिकेटमा होमिएका उनले १७ वर्षसम्म भारतमै क्लब क्रिकेट खेले । मुम्वईको एक बैंकमा उनका वुवा काम गर्थे । त्यैं कमाईबाट उनका वुवाले धनगढीमा घरघडेरी जोडेका थिए । उनी १८ बर्षको उमेरमा क्रिकेटको नशाले परिवार छोडेर नेपाल फर्किए । अरूको देशमा केही हुँदैन भनेर धनगढी हानिएका खड्काले त्यो बेला सोचे जस्तो थिएन नेपालको क्रिकेट । न लोकप्रिय थियो न त कोही खेल्थे नै । तर उनी आएपछि सुदूरपश्चिम र कैलाली क्रिकेटको विकासले तीव्र गति लियो ।
मुम्बईको अनुभव साटासाट गर्दै उनले धेरै अन्तर्राष्ट्रिय खेलाडी जन्माए पनि । प्रेम चौधरीदेखि अहिलेको नेपाली क्रिकेट टीममा तहल्का मच्चाईरहेका प्रायः धनगढीका खेलाडीहरु उनकै उत्पादनहरु हुन् । जीवनका घुम्तीहरुमा बाँचुन्जेल अर्जुन खड्काले कहिल्यैं ब्याट र बलमा हात छोडेन्न । जीवनभर क्रिकेटसंग जोडिएर नै रहें । त्यही भएर सुदुरपश्चिमको क्रिकेटमा उनी जीवन्त बाँचेका छन ।