सीमामा महिलाले पाएको दुःख र पिडाबाट सुत्राधार भएको नमुना होल्डिङ्ग सेन्टर र आईसोलेशन 
2020/07/24, 8:48
 
isolation center

भैरहवा घर भएका सतिश पाण्डेयको धनगढी वसाई दुई बर्ष भईसकेको छ । संयुक्त राष्ट्र संघ (युएन) अन्तर्गत युएनडिपीमा काम गर्ने क्रममा धनगढी मात्रै होईन सुदुरपश्चिमको वस्तुस्थिति वारे राम्रो जानकारी भईसकेको छ उनलाई । जातजाति समुदाय वर्ग लगायतका सवै पक्षमा उनले अध्ययन र विश्लेषण मात्रै गरेका छैनन् की ती अवस्थाको वारेमा भुक्तभोगी नै छ भन्दा फरक पर्दैन् । तराई दुई जिल्लामा जान अब कुनै स्थान बाँकी नहोला तर पहाडी जिल्लाहरुका दुर्गम र विकट वस्तीमा समेत उनका पाईलाहरु पुगिसकेका छन् । 

1

दश बर्षदेखि संयुक्त राष्ट्र संघ (युएन) अन्तर्गतको एक निकाय युएनडिपीमा काम गर्न थालेको भईसकेको छ । त्यही क्रममा उनलाई सुदुरपश्चिम प्रदेश हेर्ने जिम्मेवारी दिईदा त्यसको सिलसिलामा धनगढीमै छन् । युएनडिपीले सुदुरपश्चिममा सामाजिक सद्भाव र सामुदायिक सुरक्षाका बिषयमा केन्द्रित भएर काम गर्दै आएको छ । त्यसको जिम्मेवारी पाण्डेयलाई सुम्पिएको छ । युएनका अन्य निकायहरुले पनि फरक फरक क्षेत्रमा फरक फरक काम गर्दै आईरहेका छन् । तर पछिल्लो समयमा सवै निकायहरुले विश्वभरी फैलिएको कोरोना अर्थात कोभिड १९ को रोकथाम न्युनीकरण उद्धार तथा राहतको कामलाई केन्द्रमा राखेर काम गर्न थालेका छन् ।

2

सवै निकायहरुले छलफल र बैठक गरेर विभिन्न क्षेत्रहरुमा कोरोनाकै सेरोफेरोमा काम गर्न सुरु गरे । कोरोना नियन्त्रण र रोकथाम तथा राहत र उद्धारको कामको सिलसिलामा प्रायः जसो सतिश पाण्डेय कैलालीको त्रिनगर नाकामा जादैं आएका थिए । रातिको समयमा पनि कति दिन उनी सीमा नाकामै हुन्थे । जेठको पहिलो सातादेखि अन्तिम सातासम्म मभारतमा रोजगारीका लागि गएका सुदुरपश्चिमेलीहरुको जनसागर नै उर्लिएको थियो । दिनमा पाँच छ हजारभन्दा वढी नेपालीहरु रोजगारी गुमेपछि ठाउँ ठाउँमा हन्टर खादैं दुःख भोग्दै जन्मभुमी फर्किरहेका दृश्यले सतिशको मन कयौं पटक कुडिएको थियो । रातिको समयसम्म सीमा नाकामा रहँदा एक दिनको दृश्यले उनको मनमा गहिरो छाप लगायो ।  एक दिन राति ८ बजेतिर बोर्डरमा एक महिलालाई सीमा नाका त्रिनगरमा देखे । उनको एक हातमा बच्चा अर्को हातमा बाल्टी र पिठ्युमा अर्को बच्चा थियो । उनका श्रीमानसँग पनि भारतबाट ल्याईएका सामानको भारी थियो । उनले यस्तो अवस्थामा त्यो जोडीलाई आफ्नो श्रीमान श्रीमति महसुस गर्दा उनको मन साह्ै दुःखी भयो । त्यही घटनाले पुरुषभन्दा महिलाहरुका लागि केही गर्न पाए हुन्थ्यो भन्ने कुरा उनको मनमा खेलिरहेको थियो । 

4

महिलाहरुका लागि के गर्न सकिन्छ भन्ने योजना बनाउने काममा नै थिए पाण्डेय । सोही क्रममा क्वारेन्टिनमा महिला र बालबालिका असुरक्षित भएको समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशन र प्रसारण भएको खबर सुने । त्यसले उनलाई अझ भतभती पोल्यो ।  लम्कीमा क्वारेन्टिनमै सामुहिक बलात्कारको घटना पनि सार्वजनि भयो । धनगढीका पत्रकार दीपक उपाध्यायसँग युएनडिपीका कार्यक्रम संयोजक रहेका सतिश पाण्डेयले धनगढीमा महिलाका लागि होल्डिङ्ग सेन्टर र आईसोलेशन स्थापना गर्ने विषयमा छलफल गरे । काम पनि अगाडी बढाए । उन त उनी होल्डिङ्ग सेन्टर र आईसोलेशन युएनडिपी एक्लैले पनि गर्न सक्थ्यो । तर सतिशले फराकिलो सोचे ।

2

यसमा सवैको अपनत्व हुनुपर्छ भनेर यसलाई वहुपक्षीय सहयोगमा अगाडी बढाउने खाका बनाए । उनले आइसोलेसन र होल्डिङ सेन्टर स्थापनाका लागि युएनडीपीसँगै युनिसेफ, युुएन एफपीए, डब्लुएफपी, रेडक्रस कैलाली, विश्व स्वास्थ्य संगठन, कैलाली उद्योग वाणिज्य संघ, धनगढी जेसिज, केयर नेपाल, सनगु्रप, कैलाली अस्पताल र ह्युमानिटी फाउण्डेसन पनि जोडिए । पाण्डेयले यसको वारेमा जानकारी गराएपछि प्रदेश स्वास्थ्य निर्देशनालय र धनगढी उप–महानगरपालिका पनि साझेदारी गर्न तयार भए । युएनका निकाय, गैर सरकारी सस्था र अन्य निजी क्षेत्रले नै आइसोलेसनमा आवश्यक सबै सामाग्रीको जोहो गरे । बी पोलिटेक्निकमा रहेका बेड भाडामा लिईयो ।

4

मास्क, सेनिटाइजर, झुल, पानी, लुगा कपडा, भाँडा, पुस्तक, कार्पेट लगायतका सबै सामाग्री पनि युएनका निकाय, गैर सरकारी संस्था र निजी क्षेत्रले सहयोग स्वरुप दिए । आइसोलेसन र होल्डिङ सेन्टर स्थापना गर्नुका पछाडी पाण्डेयले दुई वटा परिकल्पना गरेका थिए । एक भारतबाट र अन्य स्थानहरुबाट आएकाहरुलाई तथा कोरोना पोजेटिभ महिलाहरुलाई सुरक्षित रुपमा बसाउनु र अर्को सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुका गर्भवती, सुत्केरी महिलाहरुलाई सहयोग पुर्याउनु । उनका दुबै परिकल्पना साकार भएका छन् । यथार्थतमा आइसोलेसन र होल्डिङ सेन्टर सुरु भएको छ ।

यसले महिलाहरुलाई पुरुषहरु भएको क्वारेन्टिनमा राख्दा आईपर्ने विभिन्न समस्याहरुबाट छुटकारा पाईएको छ भने गर्भवती र सुत्केरीहरुले सुरक्षा र सहयोग पाएका छन् । सो स्थानमा गर्भवती र सुत्केरीका श्रीमान छोराछोरी र घर परिवाकरका सवै सदस्यहरुलाई निशुल्क खाने बस्ने व्यवस्था समेत बनाईएको छ । कोरोना महामारीका वेला नेपालमै पहिलो पटक फरक आइसोलेसन र होल्डिङ सेन्टरको सुरुवात गर्न पाउँदा पाण्डेय निकै खुशी पनि भएका छन् । 

5

यसअघि पनि संयुक्त राष्ट्र संघ (युएन) अन्तरगतका विभिन्न निकाय र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का नेपाल स्थित प्रतिनिधिले वैशाखमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेट गरेका थिए । सो क्रममा कोरोना भाइरसले पारेको पछिल्लो अवस्थाबारे छलफल भएको थियो ।  भेटमा राष्ट्र संघ र डब्ल्यूएचओका प्रतिनिधिले सिमित स्रोत साधनका बिच कोरोना नियन्त्रणमा नेपालले गरेको प्रयास, क्वारेन्टिनमा रहेकाहरुको अवस्था र लकडाउनका कारण अत्यावश्यक सामानको उपलब्धताको विषयमा पनि जानकारी लिएका थिए । भेटमा उनीहरुले कोरोना नियन्त्रणका लागि नेपाललाई आवश्यक सहयोग गर्ने वचन पनि दिएका थिए ।

6

सोही वचन अनुसार संयुक्त राष्ट्र संघ अन्तरगतका निकायले सात वटै प्रदेशमा कोरोना भाइरस नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न थाले । सुदूरपश्चिममा युएनका कार्यक्रम सञ्चालनका लागि संयोजनको जिम्मेवारी युएनडिपीले पायो र विभिन्न कार्यक्रम समेत सञ्चालन गरियो । त्यही कार्यक्रम अन्तर्गत पाण्डेयले यो नयाँ कामको सुरुवात गरिएको हो । आइसोलेसन र होल्डिङ सेन्टर स्थापना भइसकेपछि भने सञ्चालनका लागि धनगढी उप–महानगरपालिकाकी कार्यपालिका सदस्य गीता पन्तको संयोजकत्वमा समिति गठन गरिएको छ । धनगढी उप–महानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीका अनुसार आइसोलेसन तर्फ १० वटा बेड रहेका छन् भने होल्डिङ्गका लागि १२ वटा बेड रहेका छन् । सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीयतहबाट उपचार गर्न धनगढीमा आएका र समस्यामा रहेका गर्भवती, सुत्केरीहरुलाई होल्डिङ्ग सेन्टरमा राखेर उपचार गरिने छ ।

के छ आइसोलेसनमा व्यवस्था ?
महिला होल्डिङ्ग सेन्टरमा कोरोना नलागेका गर्भवती महिलाहरूलाई छुट्टै बस्ने व्यवस्थापन गरिएको छ । जहाँ १० बेडसहित खाना, बस्न लगायतका सम्पूर्ण स्वास्थ्य सेवा उपलब्ध रहेको छ । त्यस्तै महिला आइसोलेसनमा कोरोना संक्रमित तर लक्षण नदेखिएका गर्भवतीहरुलाई छुट्टाछुट्टै बस्ने व्यवस्था गरिएको छ । गर्भवतीलाई खाना, बस्न, अतिरिक्त पोषण खानाको व्यवस्था, हेरालुको लागि छुट्टाछुट्टै बस्ने व्यवस्था, बालबालिकालाई खेल्ने सामग्री सहित अभिभावकसंगै बस्ने व्यवस्था गरिएको छ । जहाँ कोरोना पोजिटिभका लागि १२ बेडको व्यवस्थापन गरिएको छ भने हेरालुका लागि छुट्टै ३ बेडको व्यवस्था रहेको छ । सेन्टरमा गर्भवतीलाई अस्पतालसम्म लैजान अथवा अस्पतालबाट होल्डिङ्ग सेन्टरसम्म लग्न २४ सै घण्टा एम्बुलेन्स सेवा, नियमित चेकजाँच लागि २४ सै घण्टा स्वास्थ्यकर्मी सेवा लगायतका अन्य सुविधा समेत रहेको छ ।