धेरै समय विद्यालय सिकाइमा प्रतिकूल असर
2020/05/17, 10:54
 
school

हामीले बालबालिकालाई सिर्जनशील बन्न सिकाउँदै छौँ वा कडा अनुशासन ? सोच्नुपर्ने समय आएको छ । कलिला बालबालिकालाई विद्यालयमा राख्दा सिकाइमा प्रतिकूल असर पर्ने जानकारको सुझाव छ ।

विद्यालयमा मात्र धेरै समय राख्नाले बालबालिकालाई राम्रो हुन्छ वा पढन्ते हुन्छन् भन्ने सोच्नु गलत भएको पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको मानसिक विभागका प्रमुख रवि शाक्यले बताए । विद्यालयमा धेरै समय बिताउँदा बालबालिकाको सिक्ने, शैक्षणिक उपलब्धि बढाउने र सामाजिक तथा आर्थिक उपलब्धिको ढोका बन्द हुनसक्ने उनको सुझाव छ । बालबालिकादेखि हुर्किएका विद्यार्थीले पनि लामो समय विद्यालयमा बिताउनु उचित नभएको उनको भनाइ छ ।

टाढा विद्यालय भएकाहरू र कक्षा ८ देखि १० सम्म पढ्ने विद्यार्थी बिहान ८ बजे स्कुल जानका लागि ७ बजे नै घरबाट हिँड्नुपर्छ । साँझ घर फर्किंदा ५ बज्छ । ट्युसन क्लास वा अतिरिक्त कक्षा भनेर स्कुलमा बिहानबाट साँझसम्म विद्यार्थीलाई राख्ने गरिन्छ । लामो समय स्कुलमा समय बिताउँदा थकानका कारण न अतिरिक्त क्रियाकलाप प्रभावकारी हुने गर्छ न त शिक्षकले पढाएको नै प्रभावकारी हुन्छ– डा. शाक्य थप्छन् । यस्तो हुनु उनीहरूको मानसिक तनावको विषय हुने उनले जानकारी दिए । संस्कार माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत क्रिस डङ्गोललाई बिहान ६ः२० मा सुरु हुने अतिरिक्त कक्षाका लागि बिहान ४ बजे नै उठ्नुपर्ने बाध्यता छ । उनी भन्छ्न “४ बजे नै उठिसक्नुपर्छ, नभए ढिला हुन्छ । ” उहाँ घर फर्कंदा बेलुकाको ४ वा ५ बज्छ । घरमा खाजा, खाना र गृहकार्यका लागि समय दिँदा अन्य विषयतर्फ समय दिन नपाउने उहाँको गुनासो छ ।

यत्रो मेहनत गर्दा पनि राम्रो नम्बर नआएकोमा उहाँ खिन्न हुनुहुन्छ । मनोचिकित्सक डा. रिचा अमात्य भन्छिन्, “ठूलो उमेरका विद्यार्थीका लागि एसईई वा अरू तहमा नतिजा देखाउने चलन छ । सङ्ख्यात्मक र मात्रात्मक हिसाबले नतिजा ल्याउनका लागि बिहानबाट साँझसम्म स्कुलमै राख्ने गरिन्छ । यो राम्रो होइन । त्यो उमेरका बालबालिकाको खेल्ने र कुद्ने क्रियाकलाप पनि पढ्ने जत्तिकै आवश्यक छ ।” गोरखापत्रमा खबर छ ।