सम्पादकीयः कैलालीका बाढी पीडितलाई विभेद किन ? 
2020/08/24, 6:56
 
badi

सुदूरपश्चिमले यो वर्ष प्राकृतिक विपत्तिबाट ठूलो क्षति बेहोर्नुपरेको छ । साउनको मध्यतिर कैलालीको भजनीमा आएको बाढीले तीन जनाले ज्यान गुमाउनु पर्यो, थुप्रै घर बाढीले बगाएर लग्यो, सयौं परिवार घरबार विहीन बने ।

अहिले बाढी प्रभावितहरु जंगलमा त्रिपाल हालेर बसिरहेका छन् । कैलालीको यो पीडा हुँदा पनि किन कसैलाई दुःखेन ? संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको विभेद किन ? के कैलालीका बाढी पीडितहरुको  पीडाले कसैलाई छुन नसकेको हो कि विभेद गरिएको हो ?

बाढीले विस्थापित भएकाहरु तीन सातासम्म पनि घर फर्किन सकेका छैनन् । खानका लागि केही पनि व्यवस्था छैन । तर बाढी पीडितहरुको वेहाल प्रति सवै उदासिन देखिएका छन् । 

साउन २५ गते राति बाजुराको बुढीगंगा नदीमा आएको बाढीले ठूलो धनजनको क्षति गर्यो । बडिमालिका नगरपालिका, गौमुल गाउँपालिका र बुढीगंगा नगरपालिका नदी छेउका बासिन्दाका सयौं संख्यामा घरहरु बाढीले बगाएर लग्यो ।

बडिमालिका नगरपालिका–२ का वडाध्यक्ष डम्मर महतकी आमालाई बाढीले बेपत्ता बनायो ।  बाढी पहिरोले तहसनहस बनाएको बाजुराका प्रभावित क्षेत्रको अनुगमनका लागि गृहमन्त्री रामबहादुर थापा (बादल) सहितको टोली झण्डै एक हप्तापछि भदौ २ गते बाजुरा पुग्यो ।  मन्त्रीको टोलीले बाजुरामा राहत वितरण गरेर फर्किएको १२ घण्टा नबित्दै अछामको रामारोशन गाउँपालिकामा अप्रिय घटना भयो ।  

कैलाश खोलामा आएको बाढीले १७ जनालाई बेपत्ता बनायो । मध्यराति आएको बाढीले सैनीबजारलाई बगरमा परिणत गर्यो । करोडौंको धनजनको क्षति गर्यो । बाढीले बेपत्ता बनाएका मध्ये ७ जनाको मात्रै शव भेटिएको छ, १० जना अझै बेपत्ता छन् ।

बाजुरा, अछाम यतिबेला शोकमा डुबेको छ ।  गृहमन्त्री थापा सहितको जम्बो टोली पुनः भदौ ५ गते (शुक्रबार) अछामको बाढी प्रभावित क्षेत्रको अनुगमनमा पुगेको थियो । यो हप्ता दुई पटक सुदूरपश्चिम पुगेको गृहमन्त्री थापा सहितका मन्त्रीहरु सहितको टोलीले कैलालीका बाढी पीडितहरुलाई उपेक्षा गरिएको देखियो । बाढीले विस्थापित भएको तिन साता सम्म पनि भजनी बासी पुनर्स्थापित हुन सकेका छैनन् ।

उनीहरू साउन १४ गतेको बाढीले विस्थापित भएका पाँच सयभन्दा बढी बाढीपीडित परिवार यति बेला मोहन्याल सामुदायिक वनको ऐलानी जग्गामा बसिरहेका छन् । सरकारले चासो नदिँदा अझै घर फर्कने अवस्था रहेको छैन ।

संघीय सरकारका गृहमन्त्री थापालाई कैलालीको बाढी पीडितका बारेमा गृह प्रशासनले थाहा नदिएको होला तर कैलाली घर भएका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टलाई यस वारेमा जानकारी नै होला । त्यस्तै सुदुरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशवहादुर शाह पनि वाजुरा र अछाममा गृहमन्त्री थापासँगै अनुगमन निरिक्षणमा गए । उनले पनि अस्थायी राजधानी धनगढीमा वसेर पनि भजनी क्षेत्रका बाढी पीडितलाई एक पटक पनि हेर्न जाने फुर्सद पाएनन् । 

साउन १४ गते आएको अविरल वर्षापछिको बाढीले भजनी नगरपालिकाका हजारौं घर डुबानमा परे भने सयौँ परिवार विस्थापित भएका छन् । सडकमा पाल टाँगेर बास बसेका उनीहरू प्रदेश सरकारबाट राहत समेत उपलब्ध नगराइँदा भोक भोकै दिन काट्न बाध्य छन् ।

कैलालीको भजनीका बाढी पीडितहरुलाई मुख्यमन्त्री त्रिलोचन भट्टले अनुगमन गरे तर राहत र उद्धारका लागि केही पनि प्रयास गर्नु भएको छैन् । त्यहाँका बाढी पीडितहरुलाई गरिएको विभेद हटाउनुपर्छ । त्यसका लागि तीन वटै तहका सरकारले पहल गरेर विस्थापित भएकाहरुलाई घर फर्काउनु पर्छ । त्यसैगरी उनीहरुको राहत उद्धार र पुर्नस्थापनामा विशेष ध्यान दिनुपर्छ ।