सुदूरपश्चिममा आज ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल र डोटी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा शुक्रवार थप ४५ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा पाँच सय ४४ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका १९ र कञ्चनपुरका १७ जनामा संक्रमण पुष्टि भएको हो ।
सबैभन्दा बढि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका १० जना, महाकाली नगरपालिकाका चार जना, पुनरवास नगरपालिकाका दुई र बेलौरी नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । उनका अनुसार कैलालीको गौरीगंगा नगरपालिकाका ६, बर्दगोरीका पाँच, चुरे गाउँपालिकाका चार, धनगढी उप–महानगरपालिकका दुई, घोडाघोडी नगरपालिकाका एक जना र स्थानीय तह नखुलेका एक जनामा संक्रमण पुष्टि भएको छ ।
उता डोटी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप नौँ जनामा कोरोना पुष्टि भएको छ । प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय २८ जनाको परीक्षण गरिएकोमा ९ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका सबै डोटीको सायल गाउँपालिकाका रहेका छन्। प्रयोगशाला ईन्चार्ज शौरभ श्रेष्ठले सायल गाउँपालिकाका ६ पुरुष र ३ महिलामा गरी ९ जनामा कोरोना पुष्टि भएको बताए ।
उता डडेल्धुरा अस्पतालको प्रयोगशालामा आज एक सय एक जनाको कोरोना परीक्षण भएकोमा कसैमा पनि संक्रमण देखिएको छैन् । शुक्रवार ४५ जना थपिएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार सात सय ३९ पुगेको छ । संक्रमण पुष्टि भएका चार हजार सात सय ९१ ज्नाले कोरोना जितेको दावी गरिएको छ भने १४ जनाको मृत्यु भएको छ ।