सुदूरपश्चिम प्रदेशमा थप ४२ जना कोरोना संक्रमण मुक्त भएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बिहीवार डोटीबाट ४१ र कञ्चनपुरबाट एक जनालाई डिस्चार्ज गरिएको जानकारी दिए ।
योसंगै प्रदेशमा पाँच हजार ४२ संक्रमितले कोरोना जितेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार नौ वटै जिल्लाका पाँच हजार ४२ जनाले कोरोना जितेका छन् । अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार तीन सय ४१ जना निको भएर घर फर्किएका छन ।
यस्तै डोटीका आँठ सय ६१, अछामका पनि आँठ सय १३, कञ्चनपुरका ६ सय ३५ जना संक्रमित निको भएर घर फर्किएको दावी स्वास्थ्य निर्देशनालयले गरेको छ । बाजुराका चार सय ४२ जना, बैतडीका तीन सय २५, डडेल्धुराका दुई सय ९९, बझाङका दुई सय ८५ जना र दार्चुलाका ४१ जना संक्रमित पनि डिस्चार्ज भएका छन् ।
सुदूरपश्चिम प्रदेशमा बिहीवारसम्म कोरोना संक्रमितको संख्या ६ हजार एक सय २७ पुगेको छ । संक्रमण पुष्टि भएका १४ जना संक्रमितको मृत्यु भईसकेको छ ।