सुदूरपश्चिममा दशैँतिहार र छठ पर्वलाई मध्यनजर गर्दै विशेष सुरक्षा योजना लागु
2020/10/09, 8:34
 
dashain

सुदूरपश्चिममा दशैँतिहार र छठ पर्वलाई मध्यनजर गर्दै विशेष सुरक्षा योजना लागु गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले चाडपर्वका बेला हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै एकिकृत सुरक्षा योजना लागु गरिएको जनाएको छ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरिक्षक (डिआईजी) उत्तमराज सुवेदीले ९ वटै जिल्लामा एकिकृत सुरक्षा योजना लागु गरिएको जानकारी दिए। सुवेदीका अनुसार दशैँतिहार र छठ पर्वका बेला हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै प्रदेशभर चार हजार एक सय २१ जना प्रहरी परिचालन गरिनेछन्। जसमा जवानदेखि प्रहरी अधिकृत सम्मका कर्मचारी छन्।

‘९ वटै जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालयका प्रहरी कर्मचारी रहनेगरी दशैँतिहार एकिकृत सुरक्षा योजना बनाएका छौँ।’ प्रहरी नायब महानिरिक्षक सुवेदीले भने, ‘प्रदेशका विभिन्न स्थानमा रिर्जव, पैदल, साईकल गस्ती, बढाएका छौँ। सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको छ। चाडपर्वमा सीमा नाकामा हुनसक्ने चोरी, तस्करीलाई नियन्त्रण गर्न उच्च निगरानी बढाएका छौँ।’

उनका अनुसार सीमानाकामा चेक प्वाईन्ट डिउटी समेत खटाईएको छ। यस्तै दशैँतिहारमा लामो समयसम्म विदा हुने भएकाले महत्वपूर्ण प्रतिष्ठान तथा सरकारी कार्यालयको सुरक्षाका लागि समेत प्रहरी परिचालन गरिएको छ। सवारीसाधनको विशेष तथा सरप्राईज चेकजाँचका लागि समेत ट्राफिक प्रहरीको छुट्टै टोली खटाईएको प्रहरीले जनाएको छ।

आर्थिक कारोबार हुने बैँक तथा वित्तिय संघसंस्थाहरुको सुरक्षालाई समेत ध्यानमा राखिने प्रहरी नायब महानिरिक्षक सुवेदी बताउँछन्। कोरोना भाईरसको संक्रमणपछि सिर्जित आर्थिक समस्याका कारणबाट हुनसक्ने आर्थिक अपराधलाई समेत नियन्त्रण गर्न पनि विशेष टोली परिचालन गरिएको उनले जानकारी दिए।