निर्मला पन्त बलात्कार र हत्यामा प्रमाण नष्ट गरेको भन्दै निलम्बन र मुद्दा खेपेकी प्रहरी जवान चाँदनी साउद अब पुनः काममा फर्कने तयारीमा छिन् । तर, दुई वर्षसम्म खेप्नु परेको सास्तीका घटना सम्झँदा अहिले पनि उनको गला अवरुद्ध हुन्छ ।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको प्रमाण नष्ट गरेको मुद्दामा जिल्ला अदालत कञ्चनपुरले प्रहरी जवान चाँदनी साउदलाई गएको १५ साउनमै सफाइ दिएको थियो । तर, प्रहरी नियमावलीमा भएको त्रुटिका कारण निलम्बन फुकुवा हुनसकेको थिएन । मन्त्रि परिषदको गएको ८ असोजको बैठकले नियमावलीमा संशोधन गरेर निलम्बनमा परेका प्रहरीलाई काममा फर्कने बाटो खोलेको छ ।
दुई वर्षपछि चाँदनी काममा फर्कने तयारीमा छिन । उनले फेरि जनताको सुरक्षा र आपराधिक घटनाको अनुसन्धानमा काम गर्नुपर्नेछ । तर, ती पुराना घटनाहरु पनि बिर्सिन सकेकी छैनन । त्यो ११ साउन २०७५ को दिन बिहान ९ बजे खाना खाइसकेर कार्यालय जाने तरखरमा थिइन । त्यही वेला डीएसपी ज्ञानबहादुर सेठीले ‘घटनास्थल’ जानुपर्ने बताए । उनी मुद्दा शाखामा कार्यरत थिइन् । डीएसपीको टोलीसँगै उनी पनि उतै लागिन ।
डीएपी सहितको टोलीभन्दा अघि वडा प्रहरी कार्यालयको टोली घटनास्थल पुगिसकेको थियो । चाँदनी भन्छिन् “हामी पुग्दा मान्छेहरुको ठूलो भीड जम्मा भइसकेको थियो । निर्मलाको शव उखुबारीको हिलोमा थियो ।” प्रहरीले घटनास्थलको मुचुल्का तयार गर्न थाल्यो । निर्मलाको योनीबाट रगत बगेको थियो । उत्तानो अवस्थामा रहेको शव देखेर उनलाई नराम्रो लाग्यो । “घटनास्थलमा महिला म मात्र भएको कारणले त्यो भवितव्य देख्नै सकिनँ । मसँग ओढ्ने वा सल केही पनि थिएन ।” चाँदनी भन्छिन्, “मैले सुरुवाल पानीबाट निकालेर उसको शरीरमा छोपिदिएको मात्र हुँ । त्यही कामलाई बङ्ग्याएर प्रहरीले प्रमाण नष्ट गरेको कथा बनाइयो ।”
चाँदनीले सुरुवालले शरीर छोपिदिएको दृश्य सामाजिक सञ्जालमा भाइरल भयो । त्यसलाई प्रहरीले प्रमाण नष्ट गरेको रुपमा व्याख्या गरियो । निर्मलाको बलात्कारपछि हत्या भएको घटना छानबिनका लागि जति समिति बने, ती सबैमा उनले बयान दिइन् । तर, उनका लागि सबैभन्दा कठिन चाहिं काठमाडौंको २ नम्बर प्रहरी गणको तीन महीने बसाइ नै भयो । अनुसन्धानका नाममा १ भदौ २०७५ मा उनी सहितका प्रहरीलाई काठमाडौं बोलाइयो । एक महिनासम्म एक्लै होटलमा बसिन् । बिहान ७ बजे प्रहरी प्रधान कार्यालयमा हाजिर हुने अनि साँझ होटल फर्कने ।
एक महीनापछि उनलाई महाराजगञ्ज स्थित प्रहरी गणमा लगियो । त्यहीं नजरबन्द गरियो । कम्पाउण्डभन्दा बाहिर जान प्रतिबन्ध थियो । आवश्यक सामान किन्न बाहिर जानु परे साथमा प्रहरी खटिन्थे । तत्कालीन एआइजी धीरु बस्नेतको नेतृत्वमा गठित छानबिन समितिले उनी सहितका प्रहरी कर्मचारीलाई नजरबन्द गरेको थियो । २१ असोज २०७५ मा निलम्बन गरेपछि पनि उनलाई लामो समय गणमै राखियो । निलम्बनपछि विना काम राखिएको भन्दै उनले प्रहरीमै निवेदन दिइन् । त्यसपछि भने घर फर्किन दिइएको थियो । चाँदनी सहित तत्कालीन कञ्चनपुरका एसपी दिल्लीराज विष्ट, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डीएसपी अंगुर जीसी लगायत आठ प्रहरी विरुद्ध प्रमाण नष्ट गरेको अभियोगमा २२ फागुन २०७५ मा मुद्दा चलाइयो । आफ्नै संगठनले चलाएको मुद्दापछि उनका दुःखका दिन शुरु भए ।
“वकिल राखेर मुद्दा लड्दा दुई वर्ष बित्यो । मानसिक रुपमा धेरै तनाव भोगें, पैसा पनि सकियो, मुद्दा मामिला गर्दा लागेको ऋण कसरी तिर्ने ? अब अर्को तनाव थपिएको छ ।” “वकिल राखेर मुद्दा लड्दा दुई वर्ष बित्यो । मानसिक रुपमा धेरै तनाव भोगें” चाँदनी भन्छिन्, “पैसा पनि सकियो, मुद्दा मामिला गर्दा लागेको ऋण कसरी तिर्ने ? अब अर्को तनाव थपिएको छ ।” मुद्दा लड्न करीब ५ लाख खर्च भएको उनी बताउँछिन्।
बाबुको सपना पूरा गर्न प्रहरी सेवामा
उनलाई आफ्ना बाबु लक्ष्मण सिंह साउँदको अनुहार याद छैन । बाबु बित्दा उनी भर्खर पाँच वर्ष लागेकी थिइन् । नेपाल प्रहरीमै कार्यरत बाबु लक्ष्मण सिंह ४ फागुन २०५८ मा अछामको साँफेबगरमा माओवादीले गरेको आक्रमणमा मारिएका थिए । जब चाँदनी बुझ्ने हुँदै गइन्, उनलाई लाग्न थाल्यो कि बाबु जस्तै प्रहरीमा भर्ती भएर देशको सेवा गर्नुपर्छ । उनी भन्छिन्, “जब म बुझ्ने भएँ, मलाई बाबाको यादले धेरै सताउँथ्यो । सधैं उहाँको अभाव खड्कन्थ्यो । अनि बाबाको सपना पूरा गर्न प्रहरीमा भर्ती हुनुपर्दछ भन्ने लागेर यता जागिर खान आएँ ।”
कैलालीको अत्तरिया निवासी चाँदनी घरबाट चोकतिर जाँदा डिउटीमा रहेका प्रहरी देख्थिन् । अनि आफू पनि त्यस्तै पोशाक लगाएर डिउटी गरेको सपना बुन्थिन । एसएलसीपछि उनले प्रहरीमा भर्ना हुन तयारी थालिन् । २०७२ सालमा प्रहरी सेवामा प्रवेश गरिन् । सेवा प्रवेश गरेको तीन वर्षमा सोच्दै नसोचेको लफडामा परिन् । निलम्बन फुकुवा भएपछि पुनः जागिरमा जोडिने तयारी गरेकी चाँदनी भन्छिन् “एक दिन न्याय पाउँछु भन्ने थियो । तर, विभिन्न स्वार्थी समूहको उक्साहटमा मुद्दा खेप्नुपर्याे । आगामी दिनमा प्रहरी सेवामा रहेरै देश र जनताको सेवा गर्छु ।”