सुदूरपश्चिममा थप ७० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८१११ पुग्यो 
2020/10/09, 7:18
 
corona

सुदूरपश्चिम प्रदेशमा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका चार  वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६ सय ६३ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका ३३ सहित ७० जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ९३ जनाको परीक्षण गरिएकोमा ४९ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका २१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर १ का ५ सहित २१ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै वडा नम्बर ५ का ४ जना, वडा नम्बर ३ र ४ का दुई÷दुई जना, वडा नम्बर ६ र १३ का एक÷एक जना  र वडा नखुलेका ६ जनामा पनि संक्रमण पुष्टि भएको उनले बताए । यो सँगै धनगढीमा आठ सय ८५ पुगेको छ । 

गोदावरी नगरपालिकाका ७ जना, भजनी नगरपालिकाका तीन जना, घोडाघोडी नगरपालिका र बर्दगोरिया गाउँपालिकाका एक÷एक जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए । यस्तै सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा कञ्चनपुरका १४ जनामा संक्रमण देखिएको छ ।

श्रेष्ठका अनुसार कञ्चनपुरको बेलौरी नगरपालिकाका ६ जना, भीमदत्त नगरपालिकाका पाँच जना, पुर्नवास नगरपालिकाका दुई जना, कृष्णपुर नगरपालिका ५ का एक जनामा रहेका छन । डडेल्धुराको भागेश्वर गाउँपालिका र सुर्खेतको सिंगाढका एक जनामा पनि संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

उता जिल्ला अस्पताल बझाङ प्रयोगशालामा भएको परीक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको छ । ५६ जनाको कोरोना परीक्षण भएकोमा ९ जनालाई संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । केदास्यु गाउँपालिकाका तीन जना, जयपृथ्वी नगरपालिका र मष्टा गाउँपालिकाका दुई÷दुई जना र थलारा गाउँपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा डडेल्धुराको नवदुर्गा गाउँपालिकाका २ जना, डडेल्धुरा अस्पतालका एक जना, दार्चुलाको मालिकार्जुन गाउँपालिकाका २ जना, बैतडीको पाटन नगरपालिका र सुर्नया गाउँपालिकाका एकएक जना रहेको प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा ३६  जनाको परीक्षण गरिएको थियो । 

जिल्ला अस्पताल डोटी प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालमा पछिल्लो २४ घण्टामा ५७ जनाको नमूना परीक्षण गरिएकोमा पाँच जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिए । उनका अनुसार अछामको तुर्माखाद र बान्नीगढीका दुईरदुई र डोटीको केआईसिहका एक जनामा संक्रमण पुष्टि भएको हो ।

 योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ८ हजार एक सय ११ पुगेको छ । संक्रमण पुष्टि भएका ६ हजार ७ सय दुई  जनाले कोरोना जितेका छन् भने २३ जना संक्रमितको मृत्यु भएको छ ।