सुदूरपश्चिम प्रदेश प्रहरीले चाडपर्वका बेला हुने विकृति तथा अपराधिक गतिविधी नियन्त्रण गर्न छुट्टाछुट्टै टोली परिचालन गरिएको जनाएको छ । दशैँ, तिहार तथा छठ पर्वलाई मध्यनजर गरी बनाईएको विशेष सुरक्षा योजना अन्तरगत अपराध नियन्त्रणका लागि विशेष टोलीहरु परिचालन गरिने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले जानकारी दिए ।
उनका अनुसार चाडपर्वमा हुने सामाजिक विकृती तथा जघन्य अपराध न्यूनीकरणका लागि प्रदेशभर ७८ जना सादा पोशाकका प्रहरी परिचालन हुनेछन् भने बैँक तथा वित्तिय संस्था, सुनचाँदीको कारोबार हुने स्थानको सुरक्षाका लागि एक सय ३३ जना प्रहरी खटाईएको छ । सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न स्थानमा दुई सय ८ जना प्रहरी परिचालन गरिएको प्रहरी वरिष्ठ उपरिक्षक सिहले बताए।
यात्रुलाई लक्षित गर्दै कैलालीसहित ९ वटै जिल्लाका ४० स्थानमा हेल्थ डेस्क स्थापना, उपभोक्ताको हक हितका लागि स्थानीय प्रशासनसँगको समन्वयमा बजार अनुगमनलाई प्रभावकारी बनाईने रणनीति समेत अवलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यसअघि चार हजार एक सय जना प्रहरी सुरक्षाका लागि खटिने बताईएकोमा उक्त संख्या बृद्धि गर्दै विशेष सुरक्षा योजना अन्तरगत शान्ति, सुरक्षा कायम गर्न प्रदेशभर पाँच हजार ५० जना प्रहरी परिचालन गरिने प्रहरी वरिष्ठ उपरिक्षक सिहले जानकारी दिए ।
चाडपर्वलाई मर्यादित बनाउन र शान्ति सुरक्षाको अवस्था बलियो बनाउन सहयोग गर्न समेत प्रदेशबासीमा प्रहरीले अनुरोध गरेको छ ।