सुदूरपश्चिम प्रदेशमा ४३ वटा स्वास्थ्य संस्था स्तरोन्नति गरिदैं
2020/10/12, 8:33
 
corona

शेरबहादुर ऐर- सुदूरपश्चिम प्रदेशमा ४३ वटा स्वास्थ्य संस्थाको स्तरोन्नति गरिन लागिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘एक पालिका, एक अस्पताल’ बनाउने योजना अनुसार प्रदेशका ४३ वटा स्वास्थ्य संस्थाको स्तरोन्नति गरिन लागिएको हो । मन्त्रालयका अनुसार प्रदेशमा १५ शैय्या अस्पताल १३ वटा स्थानीय तह र १० शैय्याका अस्पताल ३० वटा स्थानीय तहमा निर्माण गरिन लागिएको छ ।

मन्त्रालयका अनुसार कञ्चनपुरका पाँच,  कैलालीका तीन,  अछाम, डोटी, बझाङ, बाजुरा र बैतडीका एक÷एक स्वास्थ्य संस्थालाई १५ शैय्या अस्पतालका रुपमा स्तरोन्नती गरिन लागेको छ । यस्तै, बाजुराका छ, बैतडी र दार्चुलाका पाँच÷पाँच, डोटीका चार, अछाम र बझाङका तीन÷तीन, डडेल्धुराका दुई, कैलाली र कञ्चनपुरका एक÷एक स्वास्थ्य संस्थालाई १० शैय्याका अस्पतालमा स्तरोन्नति गरिन लागिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज १८ गते जारी गरेको सूचना अनुसार अस्पतालको भवन निर्माणका लागि रकम अर्थमन्त्रालयबाट निकासा भइसकेको जनाइएको छ । सो पत्रमा भनिएको छ –‘स्थानीय तहको स्वास्थ्य संस्था स्तरोन्नति गरी पाँच, १० र १५ शैय्याका अस्पताल निर्माणका लागि रकम निकासा भइसकेको छ ।’ मन्त्रालयका अनुसार पाँच शैय्याका अस्पतालका लागि ७० लाख, १० शैय्याका लागि ८५ लाख र १५ शैय्याका लागि एक करोड रकम विनियोजन गरिएको छ ।

मन्त्रालयले जारी गरेको आधारभुत अस्पताल भवन निर्माण सम्बन्धी निर्देशिका २०७७ बमोजिम भवन पूर्वाधारको डिजाइन तथा निर्माणसम्बन्धी निर्देशिका २०७३ र लागत अनुमान पठाइसकिएकोले कार्तिक मसान्तसम्म निर्माणको प्रक्रिया प्रारम्भ गर्न गराउन पत्र पठाएको छ । 

2
1