सुदूरपश्चिममा काठमाण्डौंबाट फर्किएकाहरुमा कोरोना देखिदैं
2020/10/14, 8:43
 
corona

सुदूरपश्चिममा काठमाण्डौंबाट फर्किएकाहरुमा कोरोना देखिन थालेको छ । संघीय काठमाण्डौं राजधानी कोरोनाको हट स्पट बनेका वेला त्यहाँबाट फर्किएकाहरुमा कोरोना संक्रमण देखिन थालेको हो । 

बझाङमा काठमाडौँबाट फर्किएका ६ जना किशोरीमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । साइपाल गाउँपालिका स्थायी बसोबास भएका ६ किशोरीमा मंगलबार संक्रमण पुष्टि भएको हो। उनीहरु ४ दिनअघि मात्र काठमाडौंबाट बझाङ फर्किएर चैनपुरको एक होटलमा बसिरहेका थिए । किशोरीमा संक्रमण पुष्टि भएपछि उनीरु बसेको होटल आसपासको क्षेत्र सिल गरिएको छ ।

संक्रमित किशोरीको सम्पर्कमा आएकाहरुलाई सेल्फ क्वारेन्टिनमा बसेर कोरोना परीक्षण गर्न जिल्ला अस्पताल आउन डाक्टर मिलन खड्काले आग्रह गरेका छन् । मंगलबार सुदूरपश्चिम प्रदेश सभा सदस्य मानबहादुर धामी (सन्तोष) लाई कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दार्चुलाका धामीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनमा काठमाण्डौं गएर फर्किएपछि परिक्षण गर्दा कोरोना पुष्टि भएको हो । कोरोना संक्रमण देखिएपछि उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको समाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन्। साथै उनले आफ्नो सम्पर्कमा आएका सबैलाई क्वारेन्टिनमा बस्न आग्रह गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘मेरो स्वास्थ्य अवस्था अहिले सामान्य छ । कोभिड–१९ देखिएकाले १५ दिन पहिलेदेखि मेरो सम्पर्कमा रहनु हुने मेरा आदरणीय व्यक्तित्व लगायत सम्पूर्ण साथीहरुलाई होम क्वारेन्टिनमा बसी सहयोग गरिदिन हुन अनुरोध छ ।’  काठमाण्डौंबाट फर्किएका एक पत्रकारमा पनि कोरोना पुष्टि भएको छ । धनगढीमा डेरामा वस्दै आएका उनमा कोरोना पुष्टि भएपछि अहिले उनी क्वारेन्टिनमा वसेका छन् । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । 

संघिय राजधानी काठमाडौँमा समुदाय स्तरमा कोरोेना संक्रमण फैलिसकेकाले जिल्ला बाहिरबाट फर्किनेलाई कोरोना पष्टि हुन थालेको छ । काठमाण्डौंबाट आएकाहरुलाई पनि अनिवार्य क्वारेन्टिनमा बसेर कोरोना परीक्षण गराउन समेत अनुरोध गरिएको छ ।