सुदूरपश्चिमका १०८ संक्रमित अस्पताल भर्ना, १३ जना आइसियु र भेन्टिलेटरमा
2020/10/16, 7:41
 
corona

 सुदूरपश्चिम प्रदेशमा एक सय ८ जना संक्रमित अस्पताल भर्ना भएका छन्। प्रदेशको राजधानी कैलाली सहितका अस्पतालमा लक्षण भएका एक सय ८ जना संक्रमित उपचाररत रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

निर्देशनालयका अनुसार सेती प्रादेशिक अस्पतालमा स्थापना गरिएको कोभिड अस्थायी अस्पतालमा सबैभन्दा बढि ३९ जना उपचाररत छन्।यस्तै टीकापुर अस्पतालमा २५ जना, महाकाली अस्पतालमा २८ जना, जिल्ला अस्पताल अछाममा १० जना, डडेल्धुरा अस्पतालमा तीन जना र जिल्ला अस्पताल दार्चुलाको आइसोलेसनमा एक जनाको उपचार भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

निर्देशनालयका अनुसार अस्पतालमा भर्ना भएका मध्ये १३ जना संक्रमितको सघन उपचार कक्ष आइसियु र भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। चार सय ७० संक्रमित होम आइसोलेसनमा बसेका छन्। सुदूरपश्चिममा ८ हजार सात सय एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेशभर संक्रमण पुष्टि भएका ७ हजार एक सय ८९ जनाले कोरोना जितेका छन् भने २४ जनाको मृत्यु भएको छ।