पश्चिम नेपालमा गाउँदै नाचिने एउटा लोकगीतका अनेक नाम छन्– देउडा, ड्यौडा, डेउडा, द्यौणा, न्याउल्या आदि। नेपाली शब्दकोशहरूमा ‘देउडा’ शब्दको अर्थ भेटिन्छ– दुईतिर बांगिएर आई जोडिएको, टेढिँदै जोडिन पुगेको। बांगो, बटारिएको, टेडिएको। पश्चिम नेपालको लोकगीतको एक ताल आदि। गीत र नृत्यको समष्टिगत रूप हो, डेउडा। वर्तुलाकार घेरामा घुम्दै एक–अर्काको हात समातेर एक पैताला अगाडि सार्ने र आधा पैताला पछाडि सारेर डेढ पैतालामा डेउडा खेलिन्छ, डेउडा गाउनेलाई गिताङ्गे वा देउडी र गीत हाल्नेहरूलाई गितेरु भनिन्छ।
डेढ पैतालाको चालमा खेलिने भएकाले, हरेक पंक्तिको पछिल्लो आधा अंशलाई दोहो¥याएर डेढ आवृत्तिमा गाइने भएकाले, शाब्दिक अर्थ सोझो नभई घुमाउरो अर्थात् ड्यौडे लाग्ने भएकाले यसलाई ‘डेउडा’ भनिएको हो। यस आलेखमा ‘डेउडा’ नाम नै प्रयोग गरिन्छ। देव तथा देवधुनसँग सम्बन्धित भएकाले यसलाई ‘देउडा’ भन्ने गरिएको पाइन्छ, तर त्यसो होइन। यसमा नृत्यकै जति आंगिक प्रचेष्टा (कायिक, वाचिक) हुँदैनन्। तर, केही कम प्रचेष्टा अवलम्बन गरिएको हुन्छ, यो नृत्यको शैलीमा खेलिन्छ। आधाबाट सुरु गर्ने पहिलो पंक्ति भनिसकेपछि फेरि आधा पंक्ति दो¥याइरिन्छ। कर्णालीमा डेउडालाई ‘न्याउल्या’ गीत भनिन्छ। जसरी न्याउली चरी एकआपसमा बसेर कुराकानी गर्छन्, त्यसरी नै यसमा युवा र युवतीबीच मायापिरतीका भावना लयात्मक रूपमा प्रस्तुत भएको हुन्छ। डेउडा कहिले खेल्ने भनेर निश्चित अवसर छैन, यो बाह्रमासे गीत हो।
लक्षणा र व्यञ्जना शब्दशक्ति प्रधान हुन्छ, डेउडा। यसका विभिन्न लय र भाका हुन्छन्। विभिन्न चाडपर्व, उत्सव, मेलापात र वन–बनेलीमा यिनको प्रस्तुति हुन्छ। जसमा लोकजीवनका संवेग र संवेदना, समाजको राजनीतिक, आर्थिक, सांस्कृतिक र मनोवैज्ञानिक पक्ष जोडिएको हुन्छ। त्यस्तै, यसमा कृषिप्रधान समाज र संयुक्त पारिवारिक संरचनाको संकेत पाइन्छ। पछिल्लो आधुनिक, विकसित युगको तुलनामा यसो पनि भन्न सकिन्छ– विकासको गतिमा पछाडि परेको ग्रामीण समाजको मनोरञ्जनको साधन हो डेउडा, जसमा प्राचीनदेखि समसामयिक समयको वर्णन पाइन्छ।
डेउडा विधि
जात्रा, पर्व, मेलालगायत विशेष अवसरमा भेला भएका मानिसहरू मनोवैज्ञानिक रूपमै डेउडा खेल्ने तयारीमा हुन्छन्। भित्र पूजाआजा हुन्छ, जसमा पाको उमेरका महिला सहभागी हुन्छन्। बाहिर बसेका केही मानिस उठेर एकअर्काको हात समाउँदै डेउडा सुरु गर्ने तर्खर गर्छन्। बिस्तारै अरूअरू पनि समूहमा थपिँदै जान्छन्, र डेउडामा दुई समूह निर्माण हुन्छ। समसामयिक विषयवस्तु वा घटनाक्रम, भाव–संवेगमा डेउडा तत्कालै रचिन्छ। वर्तुलाकार घेरामा एकले सुरु गर्ने र अर्कोले घुमाउने गरिन्छ। एउटा गिताङे हुन्छ। पहिले गीत भन्ने मान्छे हुन्छ, जो प्रत्युत्पन्न मतिको हुन्छन्। तुरुन्तै उत्तर दिइँदैन। दोहो¥याई दोहो¥याई खेलिन्छ। कसले प्रश्न गर्ने र कसले जवाफ दिने तय भएसँगै भक्तिपरक गीतबाट डेउडा सुरु हुन्छ। प्रायः यस प्रकारका गीत गाइन्छ ः
काली गाईका पुछडैना पाटैका फुर्का।
पैल्ली मैले बाउली जोडें दाइनी भयै दुर्गा।
त्यस्तै, अरू पनि देवीदेवताको पुकार गरेर रक्षा होस् भनिन्छ।
इष्ट देवीदेवतीसँग बल तथा आशीर्वाद मागिसकेपछि देउडेबीच परिचयात्मक खेल सुरु हुन्छ। एकअर्काको नाम, ठाउँलगायत सूचना तथा जानकारीबारे सोधपुछ गरिन्छ। डेउडामा सवाल–जवाफको क्रम निरन्तर चलिरहन्छ। पहिलो समूहले गरेको प्रश्नलाई अर्को समूहले दोहो¥याउँछ, यो क्रम दोहो¥याइन्छ। झैझगडा हुँदैन, तर गीतैगीतबाट तर्क–वितर्क र चर्काचर्की हुन्छ। जो थाक्छ, ऊ समूहबाट बाहिर निस्कन्छ। अर्को व्यक्ति समूहमा थपिने क्रम चलिरहन्छ। यसको शृंखला निकै लामो हुन्छ। रातभर गाउँदा पनि सकिँदैन। मनोरञ्जनको साधन नहुँदा तीन–चार दिनसम्म खेलिन्थ्यो। कहिलेकाहीँ मन हुँदानहुँदै पनि डेउडाबाट अलग हुनुपर्ने अवस्था आउँछ। कुनै कार्यक्रममा सहभागी हुनुपर्ने भएमा डेउडा खेल अन्त्य हुन्छ। डेउडाको समापनमा प्रायः यस्तो गीत गाइएको पाइएको छ ः
सिलगढी सिलंगी माँणु सुनैको गजुर,
घर्जान अबेला होइगै बिदा पाउँ हजुर।
सामाजिक–धार्मिक सन्दर्भ
चाडपर्वमा मानिसहरू जम्मा हुन्छन्। केटीकेटी, महिला र पुरुषको छुट्टै समूह हुन्छ। कुनै—कुनै ठाउँमा महिला र पुरुष मिलेर पनि खेलिन्छ। खप्तडमा दशहराको बेला मेला लाग्छ, यही बेला डेउडा खेलिन्छ। यसबेला डेउडामार्फत स्वर्ग र धर्तीलाई जोडेर गुन्जायमान गरिएको हुन्छ। परिवेश नै मनमोहक र उत्साहजनक बन्छ। मालिका पुज्ने बेलामा पनि डेउडा खेलिन्छ। जाँतको (देवीदेवीताका शोभा यात्रा निकाल्ने)अवसरमा पनि डेउडा खेलिन्छ। मध्यपश्चिम र सुदूरपश्चिममा देवीदेवतालाई वार्षिक रूपमा पूजा गर्ने चलन छ। यसबेला रात र दिनमा देवीदेवताको पूजा गरिन्छ। पूजा गर्न आउनेहरू डेउडा खेल्छन्। पछिल्लो समय डेउडा संस्कृतिकै रूपमा विकसित भएको छ।
डेढ पैतालाको चालमा वर्तुलाकार घेरामा खेलिने भएकाले, हरेक पंक्तिको पछिल्लो आधा अंशलाई दोहो¥याएर डेढ आवृत्तिमा गाइने भएकाले, शाब्दिक अर्थ सोझो नभई घुमाउरो अर्थात् ड्यौडे हुने भएकाले यसलाई ‘डेउडा’ भनिएको हो।
डेउडामा हारजित हुन्थे। लामो समयसम्म सवाल–जवाफपछि हारजित भएर घरजम भएका उदाहरण थुप्रै पाइन्छ। विशेषतः कवित्वबाट प्रभावित भएर विवाह हुने गर्छ। डेउडा स्थानअनुसार फरक हुन्छ। केटीकेटी एउटा समूह र केटाकेटाको समूहमा खेलिन्छ। कतै–कतै केटाकेटी मिसिएर खेल्ने चलन छ। बिसौँ (नयाँ वर्ष), ओल्के (साउने संक्रान्ति), बूढी पोल्ने संक्रान्ति (असोज)मा चुर (दाउराको खलियो) बनाइएको हुन्छ। कृष्णले पुतना (श्रीमद् भागवत)लाई मारेको सन्दर्भलाई लिएर बूढी पोल्ने संक्रान्ति मनाइन्छ। यस बेला जम्मा भएका मानिस मिलेर डेउडा खेल्छन्।
जाति वा लिंग विशेष गीत होइन, डेउडा। यसलाई गाउने वा खेल्ने क्रममा जाति र लिंगका आधारमा भेदभाव गरिँदैन। जस्तोः विवाह उत्सव हुन्छ। सबै जातजातिका मानिसले डेउडा खेल्छन्। तसर्थ, यसले कुनै किसिमको विभेदलाई प्रश्रय दिँदैन। गौरा पर्वमा डेउडा बढी खेलेको पाइन्छ। गौरा ल्याएदेखि गौरा सेलाउन्जेलसम्म डेउडा गाइन्छ। यसबेला गौराका गीत पनि गाइन्छ। तर, गौरा र डेउडाबीच फरक नपाइएको अवस्था छ। गौराको गीत चैत, चाँचरी, धमारी, गौराका फाग हुन्। तर, डेउडा जोसिलो छ। फाग गाउन सक्ने मानिस कम पाइएकाले डेउडाप्रति नै आकर्षण बढी पाइएको छ।
डेउडा संरचना
दुई पंक्तिमा निर्माण हुने डेउडा गीतको एक पंक्तिमा ४ं४ं६.१४ को अक्षर संरचना हुन्छ। गाउने क्रममा ८ र ६ अक्षरमा विश्राम लिइन्छ। पहिलो चरण तुकबन्दीका रूपमा रहन्छ। दोस्रो चरणमा खास कुरा भनिन्छ। कुनै पंक्ति छोटो वा लामो भएमा गायनका क्रममा लेघ्रो तानेर वा कम लेघ्रो तानेर मिलाइन्छ। जस्तै ः
४ं४ं६.१४ को संरचना भएको उदाहरण ः
खर्क जाल्लै ं पधेराम्मो ं पौणी की औसर,
डिठ्पडली ं जैल तैल ं भिट् होइजाऊ मौसर।
८ं६.१४ को संरचना भएको उदाहरण ः
काट्टा काट्टै पलुइ आउँछ ं खोलीको गोगुनु,
काँ हाली बालको चुल्ठो ं काँ हाली जोवन।
विशेषगरी, डेउडाको पहिलो फाँकी (पंक्ति)मा सन्दर्भ र दोस्रो फाँकीमा भन्नुपर्ने मुख्य कुरा प्रस्तुत गरिन्छ। त्यस्तै, यसमा जौपात, ओबाज, बाजमेरी, मेरी बौजू, झ्याम्मझ्याम्म, राइझुमा लगायत थेगो प्रगोग गरिन्छ, यसले गायनलाई श्रुतिमधुर बनाउन सहयोग गर्छ।
भाव तथा विषयवस्तु
डेउडाले नसमेट्ने विषय छैन। यसमा समसामयिक विषय बढी प्रस्तुत गरिन्छ। भाव वा विषयवस्तु गीत हाल्ने (नाइके)मा भर पर्छ। डेउडा शृंगार रसको विप्रलम्भ रसमा बढी केन्द्रित हुन्छ। जीवनवृत्तका सुखदुःख, हासोआँसु, मिलन–बिछोड, मायाप्रेम जस्ता मानवीय भावनादेखि भक्तिपरक, जन्मभूमिप्रेम, सामाजिक चालचलन, प्रकृति चित्रण, जीवनदर्शन, विकृति–विसंगति, राजनीतिक घोचपेच, विकास निर्माणलगायत विषयवस्तु समेटिएका हुन्छन्। नारीका दुःखपीडा, माइतीको सम्झना पनि डेउडामा गरिन्थ्यो। पछिल्लो समय नारी हकहितका कुरा उठाइन्छ। डेउडा गायनकै क्रममा समसामयिक राजनीतिकका विषय प्रस्तुत गरिन्छ, उहिले र अहिलेको राजनीतिक अवस्था र शासन व्यवस्थाबारे तुलना गरिन्छ। कहिलेकाहीँ नाग मल्लको सन्दर्भसमेत प्रस्तुत हुन्छ।
डेउडालाई बूढापाकाले वनगीत भन्छन्। सासू–बुहारी एउटै लाइनमा लागेर खेल्नुहुँदैन भनिन्छ। डेउडामा श्लील र अश्लील विषय आएकाले यसो भनिएको हो। घरगीत समाजमा निर्धक्कसँग गाउन सकिन्छ। तर, डेउडामा रतिराग र शृंगारिकताका कुरा आउने भएकाले यसो भनिएको हो। डेउडा हाम्रो पहिचान हो। मनमा रहेका कुण्ठालाई अभिव्यक्त गरेर ऊ शान्त हुन्छ, उसलाई कसरी अश्लील भन्ने ? डेउडाले उठाउने अरु विषय ओझेलमा परेर रतिरागका कुरालाई बढी प्रचार गरिएकाले वनगीत भनिएको हो।
डेउडा–भूमि
लोकसाहित्यरूपी सिंगो हराभरा वृक्षको एउटा सफल र सबल हाँगो हो,लोकगीत। सुदूर र मध्यपश्चिमेली भूखण्डमा लोकगीतका विविध स्वरूप र नाम पाइन्छन्। तीमध्ये पश्चिम नेपालमा प्रचलित लोकप्रिय, लयात्मक र गेयात्मक अभिव्यक्ति हो, डेउडा। यस क्षेत्रका जनतामाझ प्रभुत्व जमाएको डेउडा विभिन्न नामले परिचित छँदै छ। नाम र स्वरूप जे भए पनि समष्टिमा कोमलता, सुकुमारता, सरलता र सरसता जस्ता हार्दिक अभिव्यञ्जना र स्पृहणीयतातर्फ नै डेउडाको प्रकृति झुकेको हुन्छ। मानव समाजको विकाससँगै आफ्ना भावना र अनुभूतिलाई लयात्मक रूपमा प्रस्तुत गर्ने क्रममा लोकगीत गाउने प्रचलन सुरु भएको हो। डेउडा पनि लोकगीतकै एउटा भेद हो। यसको इतिहास खोज्दै जाँदा खस राज्यसम्म पुग्नुपर्ने हुन्छ। खस राज्य स्थापनासँगै स्थानीयले आफ्ना भावनालाई लयात्मक रूपमा प्रस्तुत गर्ने क्रममा डेउडा जन्मियो।
नेपालका मध्यपश्चिम र सुदूरपश्चिमका बैतडी, अछाम, बझाङ, बाजुरा, दार्चुला, डोटी, डडेल्धुरा, कालिकोट, जुम्ला,दैलेख लगायत जिल्लामा डेउडा प्रचलित छ। पहाडबाट बसाइँसराइ गरेर तराई–मधेस झर्ने क्रम बढ्दै गएको छ। मानिससँगै डेउडा गीत तथा संस्कृति पनि तराई क्षेत्रमा बसाइँ सरेको भेटिन्छ। सुर्खेत, कैलाली, कञ्चनपुरलगायत जिल्लामा पनि डेउडा गाइन्छ। बसाइँसराइकै क्रममा काठमाडौं उपत्यकामा पनि डेउडा भित्रिएको छ, विशेष अवसरमा खुलामञ्चमा डेउडा गीत प्रस्तुत गरिन्छ, जुन नेपालको सुदूर र मध्यपश्चिम क्षेत्रमा गाइने तथा खेलिने महत्वपूर्ण लोकगायन हो।
डेउडा गाउन निकै सजिलो छ, निश्चित वेशभूषा र बाजा चाहिँदैन। दुई–चारजना भेला भएर खेल्न सकिन्छ। डेउडामा बढीजसो मायाप्रीतिका विषयवस्तु समेटिने भएकाले यो रागात्मक हुन्छ। यो दसैँ, तिहार, गौरा, विवाहलगायत पर्व, जात्रा, मेलामा खेलिन्छ। सामान्य, मध्यम र तीव्र गतिमा गायन र नृत्य हुन्छ। यसमा अर्थालंकार र शब्दालंकर प्रयोग गरिन्छ, जुन नियोजित नभई स्वाभाविक रूपमा भएको हुन्छ। सबैखालको रस प्रयोग गरिए पनि मुख्यतः शृंगार रसको प्राधान्य हुन्छ। माधुर्य गुण र प्रसाद गुणका डेउडा हुन्छ।
देउडा भाव
विभिन्न सांस्कृतिक परिवेशबाट आएका डेउडा गायकको व्यथा–वेदनाको प्रकृति भने उही किसिमका भए पनि भौगोलिक, जलवायुगत वा प्राकृतिक, सामाजिक, सांस्कृतिक वा आन्तरिक पर्यावरणले गर्दा डेउडाको स्वरूपमा भिन्नता देखिन्छ। डेउडाको भौगोलिक पर्यावरणमा विकट भौगोलिक स्थितिको चित्रण हुन्छ भने सामाजिक पर्यावरणमा परम्परागत आस्था र विश्वास बोकेका संयुक्त परिवारको झलक पाइन्छ। जस्तै ः
जन पड्यै सर्गको पानी देलिनो किच भयो,
माया मानी के गरने, टाढाको बीच भयो।
सामाजिक जीवनमा प्रत्येक व्यक्ति सामाजिक संस्कृतिद्वारा निर्देशित हुन्छ। डेउडामा परम्पराले बाँधेको समाजको परम्परागत संस्कृति र लोकको आफ्नो मौलिक जीवनचर्यामा देखिने लोकसंस्कृति पनि उल्लेख भएको हुन्छ, जस्तै ः
माल जानेइ छैटोल्ली त, पुछैबाटी राइनी,
पैल्ली मैले बाउली जोड्या, माटी भयै दाइनी।
ह्युँ पड्यो तेलेका लेक, काँ गई डाँफ्या चडी,
सुख छन सुइना सरी, दुःखै जनमभरि।
यहाँ हिउँदमा तराई झर्ने र वर्षामा पहाड बस्ने परम्पराको चित्रण छ। यसरी परदेशको यात्रामा जाँदा मातृभूमिप्रति श्रद्धाभाव व्यक्त गर्र्र्दै बिदा लिएर जाने चलन यहाँको मौलिक संस्कृति हो। यात्रा वा शुभकर्म गर्दा माटोलाई प्रथम नमन गर्ने संस्कार यस गीतमा व्यक्त भएको छ। डेउडामा विकासका पूर्वाधार, वर्तमान राजनीतिक परिवेशको चित्रण गरिएको हुन्छ। जस्तै ः
जुग कसा, जमाना कसा, समय साल कसा
रात दिन भाषणै अद्दा जन्ताका झाल कसा।।
स्वरलिपि निर्माण
सा, रे, ग, म, प, ध, नि, सा जस्तै डेउडाको छुट्टै स्वरलिपि निर्माण गर्न जरुरी छ। यसको स्वरलिपि निर्माण तथा प्रकाशन गर्ने योजना बनाइएको छ। कुनचाहिँ अक्षरलाई कतिसम्म तन्काउने, ह्रस्व उच्चारण गर्ने कि दीर्घ उच्चारण गर्ने ? त्यो किसिमको विषय समेटेर स्वरलिपिमा आबद्ध गर्नुपर्छ। यसपछि जसले पनि गाउन सक्छन्। नोटेसन हेरेर अन्य गीत गाएझैँ यसलाई पनि गाउन सकिन्छ। त्यस्तै, नृत्यको सिद्धान्तझैँ यसको पनि मानक निर्धारण गरिँदै छ। खुट्टा कतिसम्म चलाउने ? जिउ देब्रे वा दाहिनेतिर कति ढल्काउने ? पहिले कतातिर ढल्काउने ? यस्ता कुराको मानक निर्धारण गरिँदा सबैका लागि सजिलो हुने देखिन्छ। डेउडा समाजले यस क्षेत्रमा काम गर्दै छ।
डेउडा र बाजा
बाजाबिना नै स्वरको आरोह अवरोहबाटै संगीत उत्पादन हुन्छ। घुम्ने वा नाच्ने बेला कुनै किसिमको बाजा पर्दैन, पदचापबाटै संगीत सिर्जना हुन्छ। पछिल्लो पुस्ताले डेउडा खेल्दा बाजागाजा पनि बजाउने चलन ल्याएका छन्। आकर्षक बनाउन पछि आएर बाजागाजा थपिएको हो। यसलाई नयाँ पुस्ताले मुर्चुङ्गासँग जोडेका छन्। डेउडासँगै बाजा बजाउने चलन धेरै भएको छैन। पछिल्लो समय यसमा मादल, सनई, मर्चुंगा, बाँसुरी, हार्मोनियम, दमाहा, ढोलक, नरसिंगा पिपिरी झ्यालीलगायत बाजा समावेश गरिएको छ। तर, डेउडाको मौलिक रूप बचाएर राख्नुपर्छ।
प्रबर्द्धन
डेउडा संस्कृतिको प्रचारप्रसार गर्नुपर्छ र यसको मौलिक रूप बचाउनुपर्छ। स्थानीय तहका प्रस्तोतालाई बजार वा केन्द्र क्षेत्रमा ल्याएर प्रदर्शन गर्न सकिन्छ। यसबाट खुट्टा चाल्न, जिउ ढल्काउने तरिका सिकाइन्छ। लोकवार्ता परिषद्ले यस क्षेत्रमा निकै काम गर्दै आएको छ। डेउडामा चल्ल शाही, नन्दकृष्ण जोशीलगायत धेरे स्रष्टा छन्। शंकरसिंह विष्ट, चाँदनी मल्लले एल्बम नै निकालेका छन्। मौलिक डेउडाको स्वरूप हराउँदै गएको छ। कोठामा बसेर डेउडाको लयमा गाइएको गीतको भिडियो बनाउने चलन छ। बाजुरामा मालिका पर्वमा गएर डेउडाको मूल रूप हेर्न सकिन्छ। अमेरिकामा पनि डेउडा गाइन्छ। डेउडामा मानिसका भावना, जनजीविकालाई साधारणीकरण गरिएको हुन्छ। अरू गीत ओझेलमा परे पनि यो जुर्मुराएर आएको छ। मध्यपश्चिम र सुदूरपश्चिमको समग्र लोकजीवन डेउडामा प्रस्तुत भएको हुन्छ। यो नेपाल र नेपालीको पहिचानको विषय पनि हो। तसर्थ, स्थानीय सरकार, केन्द्रीय सरकार, डेउडा गायक, स्थानीय र सरकारवालाले डेउडा गीत र संंस्कृतिको प्रवद्र्धनका लागि आफूले सक्ने काम गर्न आवश्यक छ।
केही डेउडा नमुना
राजनीतिक घोचपेच नमुना ः
सुन वासुली रुपा काँइयो खल्टी हाली लै गो,
अब हे जन डराउ साइबौ पञ्चे नीति गै गो।
मुल्यामुल्ली उफणान्त घोगाडीको नाश,
माछा की मनपडी भैगै काँ मरी थी हाँस।
सँगै जाउँला डडेल्धुरा फर्की आउँला डोटी,
नेताजी खी सोदी दियै भात खान्या कि रोटी।
प्रेम तथा शृंगारिक नमुना ः
बान्ना गोरु म बानुला, तु गोरु खोइजायै,
म सम्ज्या बाडुली लाउँलो तु सम्ज्या रोइजायै।
बाटामुनि बाटे ओख्खड उइमथि ओलीगाउँ,
मान्नु माया मानेकै छु अब के पोली खाऊँ ?
आर्थिक विषयवस्तु नमुना ः
कसै कि कम्पनीमाला कसैकी पोत्या नाइँ।
कसै कि वासमती भात कसै कि कोद्या नाइँ।
विकृति विसंगतिको नमुना ः
उडाइ लैजा मैना चडी मेरो सुवा जाँ छ।
तु सोत्तै उइलेका जसो अब उसो काँ छ ?
(जोशी लोक साहित्य र संस्कृतिका अनुसन्धाता हुन् ।)