गेटा मेडिकल कलेजको न्यूनतम पूर्वाधार यसैवर्ष तयार गरिने
2020/10/23, 1:17
 
geta

सुदूरपश्चिम प्रदेशको सुखद् भविष्यसँग जोडिएको गेटा मेडिकल कलेजको न्यूनतम पूर्वाधार चालू आर्थिक वर्षमा तयार गर्ने लक्ष्य लिइएको छ । कलेज भवन निर्माणको कार्य सकिए पनि अस्पताल, प्रशासनिक र आवास भवनको निर्माण कार्य अझै बाँकी रहेको छ । निर्माण पूरा हुन बाँकी रहेका भवनहरुको सम्पूर्ण काम चालू आर्थिक वर्षभित्रै सक्ने लक्ष्य रहेको पूर्वाधार निर्माण विकास समितिले जानकारी दिएको छ ।

‘चालू आर्थिक वर्षभित्र निर्माणको काम सकेर अर्को आर्थिक वर्षदेखि अस्पताल सञ्चालन गर्ने लक्ष्य हो ।’ समितिका निर्देशक भीमबहादुर साउँदले भने । ‘तर, अझै धेरै काम गर्न बाँकी नै रहेको छ ।’ गेटा मेडिकल कलेजमा आर्थिक वर्ष २०७७÷०७८ बाट पढाई सञ्चालन गर्ने लक्ष्यका साथ निर्माणको कार्य अगाडी बढाइएको थियो ।

तर, चालू वर्षमा कलेज भवन बने पनि पठनपाठन सुरु हुन सकेन । यो कलेजमा २०८० सालदेखि एमबीबीएससम्मको पढाई सुरु गरिने सरकार र प्राध्यापक डाक्टर गोविन्द केसीबीच हालै भएको सहमति पत्रमा उल्लेख छ । यद्यपि, कलेज भवन बनिसकेकाले त्योभन्दा अगाडिदेखि नै पढाई सुरु गर्न सकिने अवस्था पनि रहेको साउँदले बताए ।  

मेडिक कलेजको अस्पताल पनि चालू वर्षबाटै सञ्चालन गर्ने लक्ष्य राखिएको थियो । तर, कोरोना महामारी, बन्दाबन्दी लगायतको कारणले लक्ष्य अनुसार निर्माणको काम नभएपछि ढिलाइ हुने बताइएको छ । ६०० शैय्याको अस्पताल सञ्चालन गरिने भवनको निर्माण कार्य ८० प्रतिशत पूरा भइसकेको छ । यसैरी, प्रशासनिक भवनको ८० प्रतिशत, दुई वटा छात्रावास भवनको ६५ प्रतिशत निर्माण कार्य पूरा भएको छ । 

कर्मचारी, प्राध्यापक आवास भवन पनि निर्माणाधीन अवस्थामा रहेका छन् । पहिलो फेजमा सुरु गरिएको अत्यावश्यकीय संरचनाहरु सबै बन्ने क्रममा रहेका साउँदले बताए । कोरोना र बन्दाबन्दीको प्रभाव नपरेको भए सायद अबम्म सबै संरचनाको काम सम्पन्न भइसक्ने थियो, होला, उनले भने । ‘पहिलो फेजको काम सकिएपछि दोस्रो फेजमा बाँकी संरचना निर्माणको काम हुन्छ । दोस्रो चरणका संरचनाहरु निर्माणका लागि हामी टेन्डरको प्रक्रियामा गइरहेका छौं ।’ 

सरकारले दशक अगाडी कैलालीको गेटामा गेटा मेडिकल कलेज निर्माणको घोषणा गरेको थियो । विगतमा जग्गा सम्बन्धी विवादका कारणले काम तदारुकताका साथ अगाडी बढ्न सकेको थिएन । गत चैतदेखि कोरोना महामारी र बन्दाबन्दीका कारण पुनः केही हदसम्म काम प्रभावित भएको छ । छ÷सात महिना सामग्री, कामदार अभाव लगायतको समस्याका कारण तदारुकताका साथ निर्माणको काम अगाडि बढाउन नसकिएको निर्देशक साउँद बताउँछन् । ‘काम चाहि रोकिएन, तर, चाहे अनुरुप पनि भएन’, उनले भने । ‘काम सम्पन्न भइसक्थ्यो होला ।’ मुलुकमा बन्दाबन्दी भएपछि बाह्य मुलुकबाट ल्याउनु पर्ने कतिपय सामग्री समयमा ल्याउन नसकिएको साउँदले उल्लेख गरे । 

गेटा मेडिकल कलेज निर्माण पूरा भइ चिकित्सा विषयको पठनपाठन र अस्पताल सुरु भएमा सुदूरपश्चिमका जनताले स्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने जनाइएको छ । यसैगरी, यो मेडिकल कलेजले धेरै जनताका छोराछोरीलाई डाक्टर बनाउने र प्रदेशलाई आवश्यक पर्ने चिकित्सक प्रदेशमै तयार हुने विश्वास गरिएको छ । अहिले यो प्रदेशले दरबन्दी अनुसार चिकित्सक नहुने समस्या झेल्दै आएको छ ।

सुदूरपश्चिमका जनता स्तरीय उपचारका लागि नेपालगञ्ज, काठमाण्डौं जानुपर्ने बाध्यता रहेको छ । कतिपय भारत जाने गरेका छन् । मेडिकल कलेज सञ्चालन भएमा उपचारका लागि बाहिर जानु पर्ने बाध्यता हट्ने धनगढीका सत्यनारायण चौधरी बताउँछन् । ‘अहिलेसम्म न स्तरीय सेवा छ, न त विशेषज्ञ चिकित्सक छन्’, उनले भने–‘जटिल समस्या भएका उपचारका लागि बाहिर जानु पर्ने बाध्यता छ । मेडिकल कलेज बनेमा कम्तीमा यो समस्या हट्नेछ ।’