शिक्षक र विद्यार्थीमा कोरोना देखिँदा विद्यालय सञ्चालन गर्न कठिनाइ
2020/12/25, 10:55
 
corona

शिक्षक र विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण देखिन थालेपछि विद्यालय सञ्चालन गर्न कठिनाइ भएको छ । केही शिक्षकमा संक्रमण देखिएपछि धनगढीका तीन विद्यालयमा पठनपाठन बन्द गरिएको छ ।  धनगढीको शारदा मावि, धनगढी नमुना मावि र बेहडाबाबा मावि एक सातासम्मका लागि बन्द गरिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

तीनवटै विद्यालयमा कार्यरत एक–एकजना शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको उपमहानगरको शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत अकबर चन्दले बताए ।   उनका अनुसार विद्यालय बन्द गरेर संक्रमित शिक्षकको सम्पर्कमा आएका विद्यार्थी र अन्य शिक्षकको पहिचान गरेर परीक्षण गर्न लागिएको छ । तीनै विद्यालयका विद्यार्थीमा भने अहिलेसम्म संक्रमण नदेखिएको उपमहानगरले जनाएको छ । धनगढीमा सबैजसो विद्यालयले ७ मंसिरबाट पठनपाठन सुरु गरेका छन् ।

धेरैजसो विद्यालयले आलोपालो आधारमा कक्षा सञ्चालन गरिरहेका छन् । एउटा घन्टीको अवधि आधा घन्टा राखिएको छ भने एक दिनमा एउटा कक्षामा तीन–चारवटा विषय पठनपाठन गराइँदै आएको छ । विद्यार्थीको भीडभाड नहोस् भनेर केही विद्यालयले बिहान र दिउँसो गरी छुट्टाछुट्टै समयमा कक्षा सञ्चालन गरिरहेका छन् ।   कक्षाकोठामा विद्यार्थीबीच भौतिक दूरी कायम गर्न भने समस्या भएको शारदा माविका प्रधानाध्यापक तेजबहादुर सिंहले बताए । कक्षाकोठामा शिक्षक हुँदासम्म विद्यार्थी दूरी बनाएर बस्ने गरे पनि शिक्षक निस्केपछि घुलमिल हुने गरेका उनले बताए । 

खासगरी तल्लो कक्षाका बालबालिका एकआपसमा घुलमिल भइहाल्ने भएकाले विद्यार्थीबीच भौतिक दूरी कायम गरेर पठनपाठन गर्न सम्भव नभएको उनले बताए । ‘कक्षाकोठाबाट शिक्षक निस्कनेबित्तिकै विद्यार्थी घुमिल भइहाल्छन् । अभिभावक सचेत नभएसम्म विद्यालयको पाटोबाट मात्र सचेतना अपनाउन सम्भव छैन,’ उनले भने, ‘जोखिम मोलेर विद्यालय चलाइरहेका छौँ । भोलि केही भइहाले दोष हाम्रो टाउकोमा आउँछ । हामीले के जवाफ दिने ?’

खासगरी बढी विद्यार्थी भएका विद्यालयमा समस्या भएको छ । विद्यालयले विद्यार्थीलाई अनिवार्य मास्क लगाउन भनेका छन् । पञ्चोदय माविका प्रधानाध्यापक हरिश ओझाले सरकारी र गैरसरकारी निकायबाट विद्यालयलाई मास्क र हात धुनका लागि साबुन उपलब्ध भए संक्रमण फैलन नदिन ठूलो सहयोग पुग्ने बताए ।  विपन्न वर्गका विद्यार्थीलाई मास्क लगाउन पनि समस्या रहेको उनले बताए ।

‘हाम्रै विद्यालयमा १७ सय विद्यार्थी छन् । छुट्टाछुट्टै राखेर पढाउन पनि समस्या छ । मास्क, सेनिटाइजर आदि स्वास्थ्य सामग्री सहयोग गर्ने कुनै निकाय पनि आएका छैनन् । विद्यालय आफैँले किनेर दिन सक्ने अवस्था छैन,’ प्रधानाध्यापक ओझाले भने, ‘यही अवस्थामा विद्यालय सञ्चालन भए महामारी विस्फोट हुन सक्छ ।’  विद्यालयहरूलाई सरकारले स्वास्थ्य सामग्री उपलब्ध गराउनुपर्ने ओझाको भनाइ छ । पञ्चोदयले अहिले बिहानी र दिउँसो गरी दुई सिफ्टमा पठनपाठन सञ्चालन गरिरहेको छ ।