‘सुदूरपश्चिम प्रदेश खेलकूदको पावर हाउस हो’
2021/01/05, 7:36
 
ramesh silwal

राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले सुदूरपश्चिम प्रदेश खेलकूदको ‘पावर हाउस’ भएको बताएका छन्।सुदूरपश्चिम प्रदेशले ओलम्पियन र खेलकूदमा थुपै स्वर्ण दिनुका साथै देशका लागि खेलाडी उत्पादन गरेको बताउँदै यस प्रदेशलाई राज्यको दृष्टिमा पछाडि पार्न नहुने धारणा राखे।

मंगलबार कञ्चनपुरको महेन्द्रनगरमा नेपाल खेलकूद विज्ञान प्रतिष्ठानले आयोजना गरेको प्रतिभावान खेलाडी छनोट घोषणा कार्यक्रममा सदस्य सचिव सिलवालले सुदूरपश्चिम भलिबल, फुटबल, क्रिकेट, ब्याडमिन्टन, कबड्डी र कुस्ती लगायतका खेलको खेलाडी उत्पादनका निम्ति उर्बरभूमि भएको बताए। “खेलकूदमा म सुदूरपश्चिमलाई अन्यथा हेर्ने पक्षमा छैन”, उनले भने, “यहाँका खेलाडीको हकहित र खेल संरचना निर्माणमा जोड दिने योजनामा छु।”

कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि खेल गतिविधि सञ्चालनमा बन्देज लगाउँदै खेलाडीले समस्या भोग्नुपरेपछि पछिल्लो समय सरकारले खेल गतिविधिलाई नियमित गराउन भनिसकेको सदस्य सचिव सिलवालको भनाइ थियो। “कोरोनासित जित्न र जीवनमा खेलकूद कति आवश्यक रहेछ भन्ने पनि कोरोना कहरबाट थाहा भइसकेको छ”, उनले भने, “खेलाडीले अहिलेसम्म कोरोना लागे पनि थला पर्नुपरेको छैन।”

प्रतिभावन खेलाडी छनोटमा परेका २४ खेलाडीलाई छात्रवृत्तिस्वरुप मासिक तीन हजार रकम दिने उनले घोषणासमेत गरे। सेना र प्रहरीका विभागीय टिममा समेत सुदूरपश्चिमका खेलाडीको बर्चस्व रहेको बताउँदै उनले खेलाडी उत्पादनमा प्रशिक्षक र सङ्घको पनि महत्वपूर्ण भूमिका रहेको जानकारी दिए।   नेपाल राष्ट्रिय भलिबलका प्रशिक्षक जगदिशप्रसाद भट्टले छनोटमा परेका प्रतिभान खेलाडीलाई छात्रवृत्तिसहित भलिबल प्रशिक्षणमा राखिने बताए। उनले कोरोना कहरका बीच भीमदत्त नगरपालिका कार्यालय र विभिन्न सङ्घ÷संस्था र व्यक्तिको सहयोगमा भलिबल प्रशिक्षण केन्द्र स्तरोन्नति भएको बताए। 

“हामीले सहयोगमै बीच भलिबल कोर्ड समेत तयार गरेका छौँ”, उनले भने, “संरचना पुनःनिर्माणमा स्थानीयको ठूलो सहयोग रह्यो।” सोही कार्यक्रममा कुस्ती प्रशिक्षण केन्द्र निर्माण र अधुरो रहेको भलिबल छात्रवासका लागि बजेट उपलब्ध गराउनसमेत माग गरिएको छ।