सुदूरपश्चिम प्रदेश प्रदेश लिग माघ १० र १७ गते हुने 
2021/01/09, 11:39
 
football

सुदूरपश्चिम प्रदेशमा प्रदेश लिग माघको १० गते र १७ गते हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले तीन वटा प्रदेशमा मध्य जनवरी अर्थात माघदेखि प्रदेश लिग फुटबल प्रतियोगिता गर्ने निर्णय गरे अनुसार सुदूरपश्चिममा माघको १० र १७ मा लिग हुन लागेको हो । 

होम एण्ड अवेका आधारमा प्रदेशका दुई जिल्लाका च्याम्पीयन टीमहरुका बीचमा प्रदेश लिग हुने मिति १० र १७ गतेका लागि प्रदेश फुटबल संघको बैठकले तोकेको प्रादेशिक फुटबल संघका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए । माघ १० गते कैलालीको धनगढी र माघ १७ गते कञ्चनपुरको पुर्नवासमा प्रदेश लिग गर्ने निर्णय अनुसार स्थानीय तहसँग समन्वय गरिरहेको उनले बताए । 

सुदूरपश्चिम प्रदेशमा एन्फामा आबद्ध दुई वटा जिल्ला संघ रहेका छन् । कैलाली र कञ्चनपुरमा रहेका जिल्ला च्याम्पीयनहरुले प्रदेश लिगमा सहभागीता जनाउनेछन् ।  कैलालीबाट जिल्ला च्याम्पीयन स्टार सिटी युवा क्लब भएको थियो भने कञ्चनपुरबाट दीपज्योती युवा क्लब भएको थियो ।

सुदुरपश्चिम प्रदेश लिग विजेता टोलीले देशका सात वटै प्रदेशका विजेताहरु बीचमा हुने प्रेसिडेन्ट कप खेल्नेछ । त्यसमा उत्कृष्ट चारमा पर्न सफल भएका चार प्रदेशहरुले राष्ट्रिय लिगमा सहभागीता जनाउनेछन् । सहिद स्मारण ए डिभिजन लिगका उत्कृष्ट ६ र प्रेसिडेन्डट कपका उत्कृष्ट चार गरी १० क्लबले राष्ट्रिय लिगमा सहभागीता जनाउने एन्फाले जनाएको छ ।