मूलधारमा दरिँदै देउडा गीत
2021/01/16, 9:02
 
deuda

आज पनि नेपालमा मूलधारको संगीत भन्ने वित्तिकै सुगम संगीतलाई लिने चलन छ। नारायण गोपालले गाएको ‘मलाई छोडी मेरो छायाँ कतै झरेछ’ वा ‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटामा’ जस्ता गीतहरु पूर्वदेखि पश्चिमसम्म अर्थात् ताप्लेजुङदेखि दार्चुलासम्म सबैका साझा बने। 

भक्तराज आचार्यको ‘मुटु जलिरहेछ’ वा दीप श्रेष्ठको ‘हर रात सपनीमा ऐठन हुन्छ’ जस्ता गीतमा कसैले न भूगोल खोज्यो न कसैले भाषा, भाषिका वा आञ्चलिकता। यी गीतहरुमा कुनै स्थान विषेशको मात्र मौलिकताको सुगन्ध आएन बरु सबैले ‘आफ्नोपन’ महसुस गरे।  

पछिल्लोपटक लोक तथा दोहोरी गीतहरु मूलधारको संगीतका रुपमा दरिँदै गए। टुक्का (अन्तरा) भन्ने र भाका (स्थायी) तानेर दोहोर्याउँदै सवाल जवाफ गर्ने गीतहरु पश्चिम महाकालीदेखि पूर्व मेचीसम्मै चल्ने गरेका छन्।   तर यी भाकाको शैलीमा आफ्नै मौलिकता र आञ्चलिकताको प्रभाव छ। काठमाडौं वरीपरी काँठे, गण्डक क्षेत्रमा ख्याली त्यसभन्दा थोरै पश्चिम रुकुम, रोल्पा, सल्यान, सुर्खेततिर झ्याउरे, पूर्वतिर आफ्नै शैलीका गीतहरुको प्रचलन बढी छ। स्पष्ट रुपमा यी सिर्जनाको कुनै सीमा भने छैन।

स्टुडियोमा रेकर्डिङ गर्ने र विभिन्न डिजिटल माध्यमबाट स्रोता, दर्शकमाझ गीत पुर्‍याउने भएकाले कुनै भाका वा भाषाको बन्धन अहिले देखिँदैन। कलाकारहरु व्यवसायिक हुन्छन्, झापामा जन्मेको गायक, गायिका होस् वा सुदूरपश्चिमको पहाडमा जन्मेको गायक, गायिका, ‘स्वर’ र ‘सुर’ चल्यो भने सबै गीतका लागि अनि सबै स्रोता, दर्शकका लागि मूलधारको सिर्जना गर्न तयार हुन्छ। 

समय यो गतिमा चल्दै गए पनि मौलिकतामा नेपाली भाषा नै प्रधान छ। नेपाली गीतमा त भाषाको कुनै भौगोलिक सीमा छैन भन्दा पनि हुन्छ। नेपाली सुगम संगीत होस् वा मौलिक लोकगीत कुनै कालखण्डमा दार्जिलिङका सर्जकहरुले नै टेको लगाइदिएका थिए। गोपाल योञ्जन वा अरुणा लामा वा डेजी बराइली वा थुप्रै अन्य कलाकारहरु। यी सर्जकहरु नभइदिएको भए नेपालभित्रबाट मात्रै यहाँको संगीतलाई यो उचाईमा पुर्‍याउन सायदै सजिलो थियो।

भारतीय संगीतको दबदबा भएको बेला भारतका संगीतालयहरुमा हिन्दी गीतमा स्वर तिखारेर आएका गायक वा संगीतकारहरुले पनि नेपाली भाषाकै गीत गाउनु, नेपाली भाषाकै संगीत सिर्जना गर्नु चाँहि नेपाली भाषालाई सर्वश्रेष्ठ र सर्वमान्य भाषाकै रुपमा स्वीकार गर्नु थियो र मौलिकताको अर्को नाम ‘नेपाली’ नै थियो।

पछिल्लो समयमा स्थानीय नेवारी, तामाङ, गुरुङ वा अन्य भाषामा गीतहरु सिर्जना भए पनि यी नेपाली मौलिकता भित्रका हाँगाहरु थिए। नेपालभित्रका अन्य भाषामा गीत सिर्जना गर्ने गीतकार वा संगीतकार वा गायकहरुको पहिलो पाठशाला नेपाली थियो नै। मूलधारको गीतका रुपमा उनीहरुले पनि नेपालीलाई लिनु अनिवार्य थियो।  अनिवार्य हुनुका थुप्रै आयामहरु हुन सक्छन्, शासन प्रणाली वा त्यतिबेलाको सामाजिक संरचना लगायतका तत्वले यसमा काम गरेको हुन सक्छन्, यो छुट्टै विषय हो।

यतिबेला मूलधारका गीतमा देउडा (भाषा) भाकाको प्रभाव बढेको छ। हुन त बोलीचालीमा ‘देउडा भाषा’ भनिँदैन। नेपालको सुदूरपश्चिम क्षेत्रमा बोलिने भाषा खस नेपाली हो। तर यो खस नेपाली भाषाका रुपमा पनि परिचित हैन।  नेपाली भाषाको उद्गमस्थलका रुपमा जुम्लाको सिंजालाई लिइन्छ र त्यसक्षेत्रमा यो भाषा बोलिने भएकाले यो भाषालाई कुनै नयाँ परिचय नदिएर नेपाली नै भनिन्छ। तर यो क्षेत्रमा प्रचलित गीतलाई भने देउडा भाषा वा भाका भन्ने गरिन्छ। मुल रुपमा यस क्षेत्रका स्थानीयहरुले आफ्ना गीतलाई देउडा भन्छन् र देउडा खेल्ने, नाच्ने वा गाउने भनिन्छ, त्यो गीतको प्रकृति र तालमा फरक मात्र हो। भाषा र भाका भन्ने शब्दमा बहस त भइनै रहेको छ।

रेडियो नेपालका क्षेत्रीय प्रसारणहरुमा विभिन्न भाषा र भाकाहरु रेकर्ड तथा प्रसारण हुन थालेपछि गीतका रुपमा देउडा पनि विस्तारै माथि उठ्दै गएको थियो। तर दर्शक स्रोताका हिसाबले यसको भौगोलिक घेरा स्पष्टै थियो।   कर्णाली प्रदेशको जाजरकोट जिल्लाबाट पूर्व देउडाको खासै प्रभाव थिएन। जाजरकोटको पारीपट्टि रुकुममा आफ्नो छुट्टै भाका र संस्कृति छ। देउडा छैन। त्यसबाट पश्चिम दार्चुलासम्मै देउडाको राम्रो प्रभाव छ। त्यसो त दार्चुलाको सीमापारी भारतीय क्षेत्रमा नेपालको देउडा जस्तै भाका प्रचलित छन्।

यस्तो सीमा भएको देउडा अहिले सीमाबाट धेरै माथि उठिसकेको छ, धेरै पर पुगिसकेको छ। हुन त नन्दकृष्ण जोशी, नरेन्द्रराज रेग्मी, भोजराज भट्ट, यज्ञराज उपाध्याय, भुवन दाहाललगायतले वर्षौँदेखि देउडा गीतमा योगदान गरिरहेका छन्। पुरानो पुस्ताका थुप्रै गायक गायिकाले देउडामा योगदान गरिरहँदा यसको मूल सीमा कर्णाली पुल नै बनेको यथार्थ हो।  पछिल्ला केही वर्षयता भने देउडा गीतले कर्णाली पुल मात्र होइन कोशी र मेची पुलसमेत तरिसकेको छ। पछिल्लो पुस्तामा आइपुग्दा देउडा गीतलाई मुलधारमा ल्याउने श्रेय चक्र बम, टंक तिमिल्सेना लगायतलाई दिँदा अन्याय हुँदैन। 

त्यसअघि दीपक दीपाको चलचित्र छक्का पञ्जामा रहेको दीपक शर्माको संगीतको ‘देख न चम्पा सुन न चम्पा’ बोलको गीत मुलधारमा स्थापित भएको मान्न सकिन्छ। यद्यपि भाषागत रुपमा यो गीत कहीँ न कतै अमिल्दो छ। यो गीतको भाकाले कर्णालीको पुल तरेर पूर्वमा कति यात्रा गर्न सक्यो त्यसको ठ्याक्कै हिसाब निकाल्न सम्भव नभए पनि युट्युबमा झण्डै ८८ लाख पटक यो गीत हेरिएको छ। हुन त यो पूर्णरुपमा देउडा गीत होइन। असली देउडा प्रेमीका लागि यो देउडा हुँदै होइन। तै पनि गीतमा प्रयुक्त शब्दहरु ‘हुक’ वा भनौँ ‘किक्कर’ का रुपमा प्रयोग गरिँदा यसले गीतलाई आकर्षक बनाएको छ, देउडाप्रतिको रुचि बढाएको छ।

त्यसअघि प्रमोद खरेलले गाएको ‘ओए झुमा’ गीतमा ‘ओए झुमा, झुमा झुम्कावाली’ जस्ता शब्दहरुले पनि सुगम संगीत सिर्जनामा देउडा भाकालाई हुकको रुपमा प्रयोग गर्ने र त्यसले सुदूरपश्चिम क्षेत्रकालाई अपनत्व महसुस गराउने अनि अन्य क्षेत्रका संगीत प्रेमीलाई जिज्ञासु बनाउने काम गरेको हो। भारतीय संगीतमा पञ्जाबी शब्दलाई जसरी हुकका रुपमा प्रयोग गरिएको छ, त्यसैगरी नेपाली गीतमा देउडाको प्रयोग भएको छ।  केही महिनाअघि चक्र बमले गाएको ‘ओए काजल’ गीत देउडा गीतको ‘सीमा’भित्र नभई मूलधारमै छायो। यो गीतको युट्युब भ्यूज १ करोड ८३ लाखभन्दा बढी छ। यो गीतपछि बढेको चक्रको व्यस्तताले त्यो भाकालाई मुलधारको गीतका रुपमा स्वीकार गरिएको पुष्टि गर्न थप मद्दत गर्दछ। 

यसपछि चक्र र लक्ष्मी आचार्यको स्वरमा रहेको ‘भन साली’ बोलको गीत पनि आम रुपमा रुचाइएको छ। यसो भनिरहँदा पुराना सर्जकहरुमाथि नजरअन्दाज गरिएको भने बुझ्न हुँदैन। यज्ञराज उपाध्याय र कोमल वलीको स्वरमा रहेको ‘राइझुमा’ गीत देउडा गीतको पर्याय हो। देउडा शब्द सुन्नासाथ दिमागमा ‘राइझुमा’ गीत गुञ्जिने जमात ठूलो छ।   त्यसपछि लोकपपको एउटा कालखण्डमा रामचन्द्र काफ्लेलगायतको स्वरमा रहेका देउडा गीत मुलधारको व्यवसायमा आउन सफल भएका थिए।

अहिले फेसबुक, युट्युब, टिकटक जस्ता आधुनिक प्लेटफर्महरुमा देखिने लोकप्रियताले देउडा मुलधारमा आइसकेको प्रतीत हुन्छ। तै पनि देउडा भाकालाई राम्रोसँग नबुझिकन मोटामोटी रुपमा सुनेका शब्दहरुलाई बंग्याउँदै त्यसको प्रयोग गर्दा देउडाप्रेमीहरुको मनमा चिसो पस्ने गरेको छ।   यसलाई कतिपयले देउडाप्रतिको मोहका रुपमा लिँदा कतिपयले मौलिकतामाथिको स्खलनका रुपमा पनि लिने गरेका छन्। यद्यपि समग्रमा मुलधारमा देउडाको उपस्थिति दरिँदै गएको भने स्पष्ट भएको छ।