चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग – ५ को  ट्रफी सार्वजनिक
प्रतियोगिताको तयारी पुरा 
2021/02/26, 3:40
 
LPL 5

धनगढी  - धनगढीमा शनिवारबाट सञ्चालन हुने चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग – ५ को  ट्रफी सार्वजनिक गरिएको छ । आयोजक लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसले शुक्रवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी विद्यालय स्तरको यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको हो । 

प्रतियोगिताको ट्रफी सार्वजनिक गर्दै धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरे । उनले धनगढी उपमहानगरले राष्ट्र, स्वास्थ्य र समाजका लागि समेत खेलकुद भन्ने नीति अवलम्बन गरेकाले यस्ता प्रतियोगिताले निरन्तरता पाउनुपर्नेमा जोड दिए ।  

धनगढीको सङ्घीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा देशभरका १६ विद्यालयको सहभागिता रहेको छ । जसमा काठमाडौँ र कञ्चनपुरका समान २÷२, रुपन्देहीको १, दाङको १ र कैलालीका १० विद्यालयको सहभागिता रहेको छ । 

ट्रफी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा आयोजक लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसले प्रतियोगिताको सम्पूर्ण तयारी सम्पन्न भइसकेको जनाएको छ । लिग कम नक आउटका आधारमा खेलाइने प्रतियोगिताका तयारी पुरा भइसकेको लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसका अध्यक्ष रामचन्द्र शाहीले बताए । 

प्रतियोगिताको उद्घाटन खेलमा शनिवार आयोजक लिटल फ्लावर र कैलालीको गेटामा रहेको विद्या भूषण आमनेसामने हुने छन् । 

देशभरबाट सहभागी १६ टिमलाई क्रम समूह ए, बी, सी र डी गरी ४ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा काठमाडौँको हिमालयन ह्याइट हाउस, धनगढी तारा नगरमा रहेको शारदा विद्या निकेतन, काठमाडौँको नेक्सस इन्टरनेसनल एकेडेमी र कञ्चनपुरको महेन्द्रनगरमा रहेको लिटल बुद्ध एकेडेमी रहेका छन् ।

त्यस्तै समूह ‘बी’ मा धनगढी २ मा रहेको लिटल फ्लावर इङ्लिस बोर्डिङ स्कुल, धनगढीको शारदा माध्यमिक विद्यालय वैयावेहडी, धनगढीकै त्रिनगर माध्यमिक विद्यालय र विद्या भूषण पब्लिक स्कुल गेटा रहेका छन् । 

त्यसै गरी समूह ‘सी’ मा धनगढीको स्टेपिङ्ग स्टोन इङ्लिस बोर्डिङ स्कुल, कञ्चनपुरको शारदा सरस्वती माध्यमिक विद्यालय दोधारा, धनगढी नमुना माध्यमिक विद्यालय धनगढी र अत्तरियाको होल्याण्ड इङ्लिस बोर्डिङ स्कुल रहेका छन् भने समूह ‘डी’ मा कैलालीको बौनियामा रहेको नव बालबाटिका विद्या मन्दिर, रुपन्देहीको न्यु एकेडेमी बोर्डिङ स्कुल, दाङको रोजी बर्ड्स बालबाटिका सेकेण्डरी बोर्डिङ स्कुल र कैलालीको लम्कीमा रहेको गुरुकुल इङ्लिस मिडियम स्कुल रहेका छन् । 

लिग चरणमा प्रत्येक टिमले ३÷३ खेल खेल्न पाउने प्रतियोगिताका व्यवस्थापक ज्ञानेन्द्र दडीमाना क्षेत्रीले जानकारी दिए । उक्त खेलबाट समूह विजेता ४ वटा टिमले सेमिफाइनलमा स्थान पाउने उनले बताए । फागुन १५ बाट सुरु भएर फागुन २७ गते लिग चरणका खेल सम्पन्न भएपछि २८ गते समूह ‘ए’ को विजेता र समूह ‘सी’ को विजेता पहिलो सेमिफाइनल तथा समूह ‘बी’ को विजेता र समूह ‘डी’ को विजेता दोस्रो सेमिफाइनल खेल खेल्ने छन् । फागुन २९ गते बिहान ११ बजे प्रतियोगिताको फाइनल खेल हुने छ । 

प्रतियोगिताको विजेताले १ लाख २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान, बलर र उदीयमान खेलाडीलाई जनही ५÷५ हजार प्रदान गरिने छ । म्यान अफ दि म्याचले १ हजार ५ सय पाउने छन् ।