धनगढीमा हुने दोस्रो कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डको सह प्रायोजकको रुपमा ब्राईटवे पब्लिक स्कुल जोडिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने अवार्डका लागि धनगढीको हसनपुरमा रहेको ब्राईटवे पब्लिक स्कुल सह–पायोजकको रुपमा सहयोग गर्ने भएको हो ।
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझा र ब्राईटवे पब्लिक स्कुलका प्रबन्ध निर्देशक सुवाश शाहीका बीच प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । समयको माग र देशको अनुकुलतालाई मध्यनजर गर्दै सक्षम स्वास्थ्य र नैतिकवान जनशक्ती उत्पादन गर्ने उद्देश्यले ब्राईटवे पब्लिक स्कुलको स्थापना भएको हो । समय समयमा विदेशी स्वयमसेवी शिक्षक मार्फत पनि स्कुलमा पठनपाठन हुदैं आएको छ । विद्यार्थीहरुको चौतर्फी विकासका लागि विषयगत तालिम प्राप्त शिक्षक शिक्षिका मार्फत पठनपाठन गराउँदै आएको छ ।
धनगढीमा हुने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजक धनगढीको कैलाली अस्पताल रहेको छ । सुदूर फुड ईन्डष्ट्रिज र मेरो रेडिमेड उद्योग सह–प्रायोजक रहेको अवार्डमा बर्ष पुरुष खेलाडीलाई नवजीवन अस्पताल, वर्ष महिला खेलाडीलाई नोभा अस्पताल, पिपुल च्वाईस अवार्डलाई वनदेवी युवा क्लब र बर्ष युवा खेलाडीलाई निसर्ग अस्पतालले प्रायोजन गरेको छ ।
त्यसैगरी स्पेशल अवार्डलाई न्यू सिटी पोलीक्लिनिक, लाईफटाईम एचिभमेन्ट अवार्डलाई सारथी अस्पताल, सुदूरपश्चिम आईकन पुरुषलाई माया मेट्रो अस्पताल र महिलालाई तिवारी मेडिसिनले प्रायोजन गरेका छन् । अवार्डको प्रवद्र्धकमा धनगढी उपमहानगरपालिका र सुदूरपश्चिम सरकारको सामाजिक विकास मन्त्रालय रहेको छ । नवजीवन सहकारी संस्था लिमिटेड को अपरेटिभ्स पार्टनरको रुपमा रहेको छ ।
अवार्डमा वर्ष २०७६ मा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट पारा खेलाडी र वर्षको उत्कृष्ट टिम तथा खेलकुदमा पु¥याएको विशेष योगदानको कदर स्वरुप स्पेसल अवार्ड, पूरा जीवन खेलकुदमा समर्पित गर्ने एक पाका खेलकर्मीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड, समर्थकको मतका आधारमा दिइने पिपल्स च्वाईस अवार्ड गरी ९ विधामा खेलाडी तथा खेलकर्मीलाई पुरस्कृत गरिनेछ ।
अवार्डको उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी ४ विधाका विजेतालाई नगद ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाईफ टाइम एचिभमेन्ट अवार्डका विजेताहरूलाई नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र दिईनेछ ।
यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी मेडल र प्रमाणपत्रका साथै विभिन्न विधाका विजेतालाई गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ । अवार्ड कार्यक्रम डिसहोम एक्सन स्पोर्टस र धनगढीका स्थानीय संचार माध्यमबाट प्रत्यक्ष प्रसारण गरिने बताईएको छ । कार्यक्रम धनगढीको ओम प्यालेसमा आयोजना हुनेछ ।