धनगढीका रामचन्द्र शाहीले एउटा सपना देखे । त्यो थियो, विद्यालय स्तरीय प्रिमियर लिग क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने । त्यसबारे उनले कुरा पनि अगाडि बढाए । तर, कतिपयले उनको कुरालाई पत्याएनन् ।
बरु, खिल्ली उडाए । र, जिस्क्याए पनि । ‘जहिल्यै क्रिकेटको कुरा गर्ने ?’ विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने बारे अभिभावकमात्रै हैन, खेलकुदको क्षेत्रमा काम गर्नेकै धारणासमेत सकारात्मक रहेन ।
भनिन्छ, ‘सपना त्यो होइन जुन निन्द्रामा देखिन्छ । सपना त्यो हो जसले निदाउन दिदैंन ।’ यहिँ प्रेरक भावनाले ओतप्रोत रामचन्द्रले आफूले देखेको सपना मर्न दिएनन् । उनले प्रयास गरे । अनि २०७३ बाट सुरु गरे पहिलो संस्करणको लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगिता ।
सीमित स्रोत, साधनको भरमा उनले प्रतियोगिता सफल पारे । जसमा सहभागी थिए, कैलाली कञ्चनपुरका विद्यालय । अब यहि प्रतियोगिता विद्यालय स्तरीय राष्ट्रिय प्रतियोगिता बनेको छ । काठमाण्डौं, दाङ, रुपन्देही, कैलाली, कञ्चनपुरका विद्यालयको सहभागिता भएको छ ।
शाहीले अब प्रमाणित पनि गरि सकेका छन् । ‘प्रयास गर्दा असम्भव भन्ने कुरा केही छैन ।’ जसको ज्वलन्त उदाहरण हो, उनकै नेतृत्वमा हरेक वर्षदेखि धनगढीमा हुँदै आएको एलपीएल क्रिकेट प्रतियोगिता । यो प्रतियोगिता २०७३ देखि हरेक वर्ष निरन्तर सञ्चालन हुँदै आएको छ । र, हालसम्म आइपुग्दा पाँचौ संस्करणमा पुगिसकेको छ ।
यहाँसम्म आइपुग्दा एलपीएल क्रिकेट प्रतियोगिताप्रति क्रिकेटप्रेमीको आकर्षणमात्रै बढेको छैन, हिजोका दिनमा अभिभावकमा रहेको नाकारात्मक धारणा पनि परिवर्तन भएको छ । ‘अहिले अभिभावक मैदानमै आएर आफ्ना सन्तानका खेल हेर्ने हौसला प्रदान गर्ने कार्य गरिरहेका छन्’, शाहीले भने । ‘उनीहरुले बुझिसकेका छन् । स्वास्थ्यका लागि खेल आवश्यक छ । र, विद्यालयमा खेल पनि हुनैपर्छ । विद्यार्थीलाई खेलकुदसंग जोड्नै पर्छ भनेर ।’
धनगढी क्रिकेटको शहर हो । यो शहरको यस गरिमालाई कायम राख्दै अझै उच्च स्थानसम्म पु¥याउनका लागि क्रिकेट गतिविधि नियमित भइ रहन आवश्यक छ । पाएको साखलाई जोगाउनका तल्लोस्तरबाटै खेलकुदलाई व्यापक बनाइ राख्न जरुरी छ ।
सिनीयर खेलाडी खेल्ने ठूला प्रतियोगितामात्रै हैन, विद्यालय तहको उमेर समूहका खेलाडी खेल्न पाउने प्रतियोगिता सञ्चालन गर्न पनि आवश्यक छ । धनगढीको जुन पहिचान छ, त्यसलाई जोगाउन जरुरी छ, जुन काम एलपीएलले गरिरहेको छ ।
‘यो प्रतियोगिताले क्रिकेट कल्चरको विकास गरिरहेको छ । विद्यार्थी खेलाडीमा क्रिकेटबारेको ज्ञान पनि बढाइरहेको छ’, शाहीले सुनाए । ‘प्रतियोगितामा हरेक टीमबाट अण्डर १९ का तीन÷तीन जना खेलाडीहरु खेलिरहेका छन् । उनीहरुबाट सिक्ने मौका विद्यालयस्तरका खेलाडीले पाइरहेका छन् ।’
एलपीएललाई सुरुमा लिटल फ्लावर बोर्डिङ स्कुलले आयोजना गरेको थियो । पछिल्लो समय लिटल फ्लावर स्र्पोट्स एण्ड इभेन्ट्सको आयोजनामा प्रतियोगिता भइरहेको छ । सुरुमा यो प्रतियोगिताको पुरस्कारराशि विजेतालाई ३० हजार रुपैयाँ र उपविजेतालाई १५ हजार रुपैयाँ रहेको थियो । तर, छोटो अवधिमै पुरस्कारराशि लाखमा पुगिसकेको छ ।
गतवर्षको प्रतियोगितामा विजेतालाई दुई लाख रुपैयाँ र उपविजेता टिमलाई एक लाख रुपैयाँ पुरस्कार दिइएको थियो । कोरोना प्रभावका कारण यो वर्ष भने पुरस्कारराशि केही केही घटेको छ । विजेताले एक लाख २० हजार रुपैयाँ र उपविजेताले ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
धनगढीको साखलाई साँच्चिकै कायम राख्ने हो भने यो प्रतियोगिताको जगमा अरु पनि प्रतियोगिता हुन आवश्यक रहेको शाही बताउँछन् । उनले थपे–‘हामी खेलकुद र क्रिकेटको कुरा त धेरै गर्छौ तर, त्यसलाई कार्यान्वयन गर्दैनौं । क्रिकेटको साँच्चिकै विकास चाहने हो भने गरि राखेकालाई प्रोत्साहन गर्न आवश्यक छ ।’
एलपीएलमा १९ वर्षमुनिका खेलाडी
एलपीएल प्रतियोगितामा हरेक टीममा तीन÷तीन १९ वर्षमुनिका नेपाली टीमका खेलाडी समावेश गरिएका छन् । उमेर समूहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा अनुभव बटुलिसकेका उनीहरुले आफ्नो अनुभव यहाँ देखाइरहेका छन् । र, विद्यालय स्तरका उमेर समूहका विद्यार्थीलाई ड्रेसिङ रुमदेखि मैदानमा ज्ञान बाँड्ने कार्य गरिरहेका छन् ।
यो प्रतियोगितामा विशालविक्रम केसी, सुवोध ऐर, नारायण जोशी, नरेन साउँद, दीपक बोहरा जस्ता यु–१९ का खेलाडी सहभागी भएर खेलिरहेका छन् ।
एलपीएलले उत्पादन गरेका खेलाडी
क्रिकेटको जगलाई बलियो बनाउनु छ भने भविष्यका लागि खेलाडी उत्पादन गर्न जरुरी छ । त्यहि काम गरिरहेको छ, एलपीएलले । यो प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएका नारायण जोशी, किरण ठगुन्ना, विपीन रावल, शेर मल्ल अहिले राष्ट्रिय स्तरको विभिन्न प्रतियोगिता खेलाडी रहेका छन् ।
प्रतियोगिताले थुप्रै खेलाडीमात्रै उत्पादन गरिरहेको छैन, लगातार केही दिनसम्म विद्यालय स्तरका खेलाडीलाई आफ्नो प्रतिभा प्रष्फुटन गर्ने अवसर पनि प्रदान गरिरहेको छ । लिग भएका कारण हार वा जित भए पनि लिग चरणका खेल खेल्न पाइने भएकाले एक खेलमा राम्रो गर्न नसकेका खेलाडीले अर्को खेलमा सुधार गर्ने अवसर पाइरहेका छन् ।
आर्थिक चुनौती
खेलकुद प्रतियोगिता सञ्चालनको सबैभन्दा ठूलो आधार भनेकै प्रायोजकको साथ हो । प्रायोजकबीना जुनसुकै प्रतियोगिता सञ्चालन गर्न समस्या हुने गरेको छ । त्यस्तै, समस्या भोग्दैछ यसवर्ष एलपीएल आयोजकले ।
कोरोना महामारीका कारण सोंचे जस्तो सहयोगी हातहरु जोडिएनन् । जसले गर्दा आयोजकले यो वर्ष पुरस्कारराशि नै घटाउनु प¥यो । विद्यालय स्तरको यस्तो प्रतियोगिता सञ्चालनका लागि कम्तीमा पनि २० देखि २२ लाख रुपैयाँ आवश्यक पर्ने गरेको छ । तर, त्यति रुपैयाँ संकलन गर्न नै समस्या भएको रामचन्द्र बताउँछन् ।
‘मैदान व्यवस्थापनमै दुई÷तीन लाख रुपैयाँ खर्च हुने गरेको छ’, उनले भने । ‘अहिले हामीले भोगी रहेको सबैभन्दा ठूलो समस्या आर्थिक नै हो । प्रदेश सरकारले यो वर्ष सहयोग गर्न सकेन । स्थानीय सरकार धनगढी उपमहानगरपालिकाबाटमात्रै संरक्षकको रुपमा सहयोग भएको छ ।’
प्रतियोगिताको लागि प्रायोजकबाट खर्चको जोहो नभएको अवस्थामा घरबाट पनि तिर्दै आएको शाही सुनाउँछन् । ‘प्रतियोगिता घोषणा गरि हाल्योँ’, उनले भने । ‘समस्याका बाबजुद सञ्चालन गरिरहेका छौं ।’ प्रतियोगिता सञ्चालन गर्दा कुनै कुनै बेला मन अमिलो हुने गरे पनि यसले क्रिकेटको जग मजबुत बनाउने काम गरिरहेकाले आनन्द पनि मिल्ने गरेको शाही बताउँछन् ।
‘धनगढीको साख जोगाउन जरुरी’
धनगढी क्रिकेटको शहर हो । तर, नाम अनुसारको गरिमा कायम राख्न र साख जोगाउनका लागि क्रिकेट प्रतियोगिता सञ्चालन हुन आवश्यक छ । प्रतियोगिता, तल्लो लेभलबाटै सञ्चालन गर्नु पर्दछ । किनभने, त्यस्ता प्रतियोगिताले क्रिकेटको जग बलियो बनाउने गर्दछन् ।
हामीलाई विश्वास छ, एलपीएलले पनि क्रिकेटको जगलाई बलियो बनाउने कार्य गरिरहेको छ । यो प्रतियोगिता खेलेका खेलाडीहरु राष्ट्रिय स्तरको ठूला प्रतियोगितासमेत खेलाडी रहेका छन् । त्यसैले प्रतियोगिता गरिराखेलाई प्रोत्साहन गर्न आवश्यक छ । यो प्रतियोगिताको जगमा यस्ता अरु पनि थुप्रै प्रतियोगिता आयोजना हुनु पर्दछ । –रामचन्द्र शाही
‘प्रतियोगिता खेल्दा मजा आउँछ’
म कक्षा ५ मा पढिरहेको छु । अहिले नौ वर्षको भएँ । एलपीएलमा हाम्रो स्कुलको दुई वटा खेल भइसकेको छ । मैले दुवै खेलमा खेल्ने मौका पाएँ । एक खेलमा विकेटविहीन रहे पनि अर्को खेलमा दुई विकेट लिएँ ।
मलाई क्रिकेट खेल्दा मजा आउँछ । यो प्रतियोगितामा अनुभवी दाईहरुबाट धेरै कुरा सिकिरहेको छु । म स्पीन बल फाल्ने गर्दछु । लेग स्पीनर हुँ । पछि गएर मलाई सन्दिप लामिछाने जस्तै बन्नु छ । मेरो खेल हेर्नका लागि दाई आमाबुबा पनि आउने गर्दछन् । क्रिकेट खेल्दा रमाइलो लाग्छ । –सचिन भट्ट (खेलाडी)