धनगढी प्लेअफमा, पोखरा थण्डर्स १-० ले पराजित
2021/05/05, 7:31
 
aa

धनगढी एफसी पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को शीर्ष स्थानमा उक्लिएको छ ।

बुधबार भएको खेलमा पोखरा थण्डर्सलाई १-० गोल अन्तरले पराजित गर्दै धनगढी शीर्ष स्थानमा उक्लिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीलाई जित दिलाउन दर्शन गुरुङले निर्णायक गोल गरे ।

पहिलो हाफमा धनगढीविरुद्ध पोखराले एकतर्फी खेल पस्किएको थियो । तर,पोखराले गोल गर्न सकेनन् ।

दोस्रो हाफमा भने धनगढीले पाएको मौकालाई सदुपयोग गर्यो । र, महत्वपूर्ण जित निकाल्यो ।

खेलको २२ औं मिनेटमा धनगढीका ओलावाले अफिजले गोलको अवसर गुमाए । विशाल राईको फ्रिकिकमा पोखराका डिफेन्डरले क्लियर गर्न नसक्दा प्राप्त बलमा ओलावालेको फितलो प्रहार डिफेन्डरलाई लाग्दै बाहिरिएको थियो ।

खेलको २६ औं मिनेटमा पोखराका मौसा अब्बाले गोलको अवसर गुमाए । डिबक्स भित्रबाट उनले प्रहार गरेको बल धनगढीका कप्तान तथा गोलकिपर किरण चेम्जोङले उत्कृष्ट बचाउ गरे ।

३३ औं मिनेटमा धनगढीका स्ट्राइकर ओलावाले आफिज चोट बोक्दै मैदानबाट बाहिरिएका थिए । बललाई पछ्याउँने क्रममा उनको ह्यास्ट्रिङमा समस्या देखिएको थियो ।

खेलको ४० औं मिनेटमा पोखराले अर्को मौका गुमायो । मौसाको फ्रिकिकमा पोखराका रबि पासवानको प्रहार धनगढीका गोलकिपर किरणले बचाए । लगत्तै धनगढीका डिफेन्डरले क्लियर गर्न नसक्दा नवयुग श्रेष्ठले कन्ट्रोल गर्दै प्रहार गरेको बल दिनेश राजवंशीले रोके । रिबाउन्डमा नवयुगले नै प्रहार गरेको बललाई गोलरक्षक किरणले क्लियर गरेका थिए ।

६७ औं मिनेटमा दर्शन गुरुङको प्रहारलाई पोखराका गोलकिपर दीप कार्कीले उत्कृष्ट बचाउ गरेका थिए ।

तर, खेलको ६८ औं मिनेटमा परिवर्तित खेलाडी दर्शनले गोल गर्दै धनगढीलाई १-० को अग्रता दिलाएका थिए । डिबक्स भन्दा बाहिरबाट दर्शनले उत्कृष्ट हाफ भली गोल गरेका थिए ।

दर्शन ३३ औं मिनेटमा ओलावालेको स्थानमा मैदान प्रवेश गरेका थिए ।

खेलको ७३ औं मिनेटमा पोखराका अनिल गुरुङको प्रहार धनगढीका डिफेन्डर दिनेश राजवंशीलाई लाग्दै पोस्टमाथिबाट बाहिरिएको थियो ।

यस जितसँगै धनगढीले ५ खेलमा १० अंक जोडेको छ ।

यस जितसँगै धनगढीले प्लेअफमा स्थान पक्का गरेको छ ।

धनगढी प्रतियोगिताको प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । शीर्ष चार टोलीले प्लेअफ खेल्ने छन् ।

धनगढीसँग पराजित पोखराको भने प्लेअफ सम्भावना कमजोर बनेको छ ।

पोखरा ५ खेलमा ५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।