सुदूरपश्चिमका क्वारेन्टिनमा बसेका तीन जना औलोका विरामी, एक निको, सवै भारतबाट फर्किएका, औलो पनि जाँच गर्न निर्देशन
2020/06/07, 3:28
 
aaulo

सुदूरपश्चिम प्रदेशमा क्वारेन्टिनमा बसेका तीन जनामा औलो रोग देखिएको छ । भारतबाट फर्किएर कञ्चनपुर र डडेल्धुराका क्वारेन्टिनमा बसेका तीन जनामा औलो रोग देखा परेको हो । लालझाडी गाउँपालिकाको भानु माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका दुई जनामा औलो रोग देखिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड–१९ सम्पर्क व्यक्ती सिद्धराज भट्टले बताए । उनीहरु दुवै जना भारतबाट फर्किएर क्वारेन्टिनमा बसिरहेका छन् ।

यस्तै कृष्णपुर नगरपालिकाको देखतभुलीमा पनि भारतबाट फर्किएका पुरुषमा औलो रोगको संक्रमण देखिएको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर ४ मा पनि भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका युवकमा औलो देखिएको छ । करिब दुई साता पहिले भारतबाट फर्किएका पुरुषमा औलो रोग देखिए पनि निको भएर घर फर्किसकेको स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड–१९ सम्पर्क व्यक्ति हरीप्रसाद भट्टले बताए ।

यसैबीच क्वारेन्टिनमा बसिरहेकाहरुमा औलो रोगको संक्रमण देखिएपछि स्वास्थ्य निर्देशनालयले कोरोनासँगै औलोको समेत परीक्षण गर्न निर्देशन दिएको छ । निर्देशनालयले मातहतका स्वास्थ्य कार्यालयलाई परिपत्र गर्दै क्वारेन्टिनमा बसिरहेकाहरुको कोरोनासँगै औलो रोगको आरडिटी परीक्षणको व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

डडेल्धुरा र कञ्चनपुरमा औलो रोग देखा परेकाले समयमै रोगीको पहिचान गरी उपचार गर्दै समुदाय स्तरमा फैलिनबाट रोक्न अनिवार्य परीक्षणको व्यवस्था मिलाउन निर्देशन दिएको निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले जानकारी दिए ।