“आफै बाँधिएका मुख्यमन्त्रीले प्रदेशलाई कसरी दौडाउँलान ?” 
2020/06/08, 8:22
 
cartoon

सीताराम ओझा- ‘विभिन्न कारणले अहिलेसम्म ढिलासुस्ती भयो । प्रदेश सरकारले धेरै काम गर्न सकेन । अब प्रदेश सरकार दगुर्नेछ ।’ सुदूर पश्चिम प्रदेश सभाको छैठौ अधिवेशनको दशौं बैठकमा शुक्रवार मुख्यमन्त्री त्रिलोचन भट्टले भनेको कुरा सुन्दा जो कोही सुदुरपश्चिमवासीहरुमा आशाको सञ्चार भयो । हामी संघीयताको नौलो अभ्यासमा छौं, हामी संघीयताको जग बस्नाल्नतिर अग्रसर छौं भनेर दुई बर्षको अवधिमा मुख्यमन्त्री त्रिलोचन भट्टको भाषण सुनेका, पढेका र हेरेकाहरुले त्यही स्मरण गर्दै प्रदेश सरकार अव साच्चै दौडिन्छ की भन्ने आशा गरे । तर त्यो आशा एक दिन त के केही घण्टा पनि टिकेन् । मुख्यमन्त्री भट्टले आत्मविश्वासका साथ गरेको भाषण मिथ्या सावित हुन समय लागेन् । एकातिर प्रयोगशालामा कोरोना जाँचका लागि स्वाबको चाप अत्याधिक भएर संकलन काम ५ दिनलाई प्रदेश सरकारले रोक्योे र अर्को तर्फ भारतबाट आएर कोरोना पुष्टि भएर सेतीमा उपचाररत ६ जना संक्रमितलाई निको नहुँदै अस्पतालबाट डिस्चार्ज गरेर अलपत्र छोड्यो । सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले  सुदूरपश्चिममा रहेको एक मात्र प्रयोगशालाले कोरोनाको परीक्षण धान्नै नसक्ने गरी थ्रोट स्वाव संकलन भईसकेकोले ५ दिनका लागि थ्रोट स्वाव संकलन स्थगित गर्ने विज्ञप्ती र सेती अञ्चल अस्पतालले कोरोना निको नभएर पनि सरकारको नयाँ निर्देशकिा अनुसार अस्पतालबाट ६ जना निकाल्न लगाउने कामहरुका बीचमा एक आधा घण्टाको मात्रै फरक छ ।

झट्ट हेर्दा सालिन र भद्र स्वभावका देखिने मुख्यमन्त्रीको कुटिलतालाई आत्मसाथ गरेर वसेकाहरुको धर्यताको वाँध फुट्यो । सामाजिक सञ्जालमा आक्रोस र विरोधका पोष्टहरुको चांग लाग्यो । प्रदेश सरकार भांग खाएर सुतेको छ कि भन्न पनि वेर लाएनन् । प्रदेश सरकार र निजि क्षेत्र मिलेर गएमा प्रदेशको समृद्धि सम्भव छ । तर प्रदेश सरकार प्रदेशको भन्दा पनि आफु आफ्ना परिवार आफ्ना कार्यकर्ताहरुलाई नै समृद्ध बनाउन लागेपछि निजि क्षेत्रले प्रदेश सरकारको काम गरिरहेको छ । कहिले काही त लाग्छ वास्तवमा प्रदेश सरकार कहाँ छ ? कतिपयले सार्वजनिक सुचना नै जारी गर्छन् सुदुरपश्चिम प्रदेश सरकार हराएको । स्वाब संकलनको काम त रोकिएकै थियो, त्यही दिन निको नभएका कोरोना संक्रमितलाई निकालियो । अस्पतालबाट घर जाउ त भनियो तर घर जानका लागि न त गाडीकै व्यवस्था भयो, न त कतै ओत लाग्ने ठाउँ नै दिईयो । ११ बर्षकी बालिकादेखि वयस्कहरु भारतबाट आउँदा ल्याएका झोली झम्टा वोकेर बर्षातमा रुझ्दै भिज्दै कहिले यता त कहिले उता गरिरहे । देखेकाहरुले सहयोग गरे, तस्वीर देखेकाहरुले साहनुभुती थिए । प्रदेश सरकार दौडाउने घोषणा गरेका मुख्यमन्त्रीलाई उनकै विगत पनि सम्झाए । सायद सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रीले सीमामा सास्ती पाएकै होलान्, वैतडी र अछामका संक्रमित जस्तै झोली झम्टा बोकेकै होलान् । परदेशीका पिडार दुःख भोगेकै होलान् तर झण्डावाल गाडीमा डन्डावालाहरु राखेर पजेरोमा चिसो एसीमा हुईकिन थालेपछि उनी बदलिएका हुन् की ? परदेशीका पिडाका भुक्तभागीको मन कसरी ढुंगा भयो ? त्यो त उनलाई नै थाहा होला तर अस्पतालबाट निकालेर अलपत्र छोडेकाहरुलाई प्रदेशवासी ठानेनन् उनले । उनीहरुका लागि व्यवस्था गर्नु दायित्व हो मानेनन् उनले । भारतबाट आएकाहरु क्वारेन्टिनमा जसरी मुर्ति मानव झैं बनेर वसेका छन् परदेशीहरु, त्यसैगरी आँखा चिम्लेर नदेखेझैं गरेर बसिरहे सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट । मुख्यमन्त्रीले बोलेनन्, मन्त्रीहरुले हेरेन्, सेती अस्पतालकै छेउका प्रदेश सभा सदस्यहरु देखेनन् । उद्धारका लागि सीमासम्म पुग्ने जनप्रतिनिधिले भेटेनन् । प्रदेशका वासिन्दाले पनि के त्यस्तै गरि दिए हुन्थ्यो भन्ने अपेक्षा थियो होला तर प्रदेशवासीहरु चुप लागेर वस्न सकेनन् । मौनतालाई तोडे । सामाजिक सञ्जालमा लेखे, जनदवाब दिए, जनमत तयार पारे । विभिन्न सामाजिक काममा अग्रसर जिएस भण्डारीले संक्रमितलाई घुमिरहेको थाहा पाएपछि लेखे–‘म आफ्नै अफिसमा थिए । फोनमा घण्टी बज्यो र एक जना डाक्टर सापले भन्नुभयो, तपाईको अफिस अगाडी हेर्नुस त सेती प्रादेशिक अस्पतालले डिस्चार्ज गरेका कोरोना संक्रमितहरु अलपत्र हिन्दै छन् । लगत्तै गेटमा हेर्न पुगेको म उहाँहरुलाई मुख्य सडकमा हिड्दै जादै गरेको देखेर म निशब्द भए । पानीमा रुझेर जादै हुनुहुन्थ्यो । टाउकोमा झोला र कट्टाको पानी छेक्ने ओत थियो साथमा साना नानी पनि । आज मात्रै मुख्यमन्त्री ज्युको भनाई सुनेको थिए अब प्रदेश सरकार दगुर्नेछ सायद यसरी नै दुगुर्ने, धिक्कार छ ।’ 

2

नेता हुन चाहे कर्मचारी हुन, युवा हुन चाहे वृद्ध हुन, पत्रकार हुन वा नेता हुन आलोचना गर्नका लागि आफै दिएका थिए मसला मुख्यमन्त्रीले । कैलालीको अत्तरियाका कुवेर खड्काले त मुख्यमन्त्री मुर्दावाद भन्दै ह्याज ट्याक गरेर लामै स्टाटस लेख्दै मुख्यमन्त्रीको विगतदेखि अहिलेसम्मको अवस्था चित्रण गरेका छन् । उनले लेखेका छन्–‘ यी हुन प्रदेश नम्बर७ का मुख्यमन्त्री, उनी केही समय पहिले भारतमा चौकीदारीर ज्यालादारी गरेर परिवार पाल्ने गर्थे अहिले रातो कार्पेटमा हिड्छन र महलमा बस्छन् अनि पजेरोमा गुडछन । आज कोरोनाले बिश्व संक्रमणको चपेटामा छ अनि नेपाल पनि, पश्चिम नेपालका अधिकाश मान्छेहरु भारत बिगतदेखि अहिलेसम्म ज्यालादारी गरेर जिविकोपार्जन गर्छन । उहाँ मुख्यमन्त्री ज्युले पनि त्यही गर्थे । अहिले उही पुर्व चौकीदार मुख्यमन्त्री हँुदा अहिले चौकीदारी गर्नेहरु खुसी भएका थिए, सहकर्मी मुख्यमन्त्री हँुदा आफ्नो समस्या बुझ्लान भनेर तर मुख्यमन्त्री अहिले विगतका साथी र सबै समस्या बिर्सिएका छन । कोरोनाको कारण हजारौं नेपाली सुदुरपश्चिमका गौरिफन्टा, बनबास, झुलाघाट, धार्चुला हुँदै थुप्रै नेपाल प्रवेश गरे तर सिमाक्षेत्रमा बन्धक बनाईयो । हजारौं हण्डर खादै नेपाली भुमिमा मर्न पाउनुपर्छ भन्ने नारा गुन्जिदा पनि पुर्व चौकदार काममा तेल हालेर सुते सहकर्मी बिर्से ! हजारौं प्रयास र समाजिक संजालको दबाबमा केही समयपछि सिमाक्षेत्रमा रहेका नागरिक अवैध बाटो हुदै नेपाल प्रवेश गरेपछि क्वारेन्टाइनको नाम दिइयो र गोठ, बिद्यालयका व्यान्चमा बिना खानासम्म सुताइयो । त्यसको केही समयपछि चौतर्फी विवाद हुदा नेपाल प्रवेश गरायो । नेपाल प्रवेश गराउदा सिमाक्षेत्रमा राम्ररी चेकजाँच गरेर पठाउनु पर्ने थियो तर सामान्य थर्मल गनले समेत ज्वरो ननापी घर पठाइयो । हामी यही चुक्यौ र गाउँ गाउमा कोरोना पुर्यायौ । अहिले गाउँ का बिद्यालयहरु सबै क्वारेन्टाइन घर बनेका छन तर सामान्य परिक्षणको लागि समेत कीट छैन । सेती अञ्चल अस्पतालमा डिस्चार्ज गरेका ६ जना नागरिक अछाम र बैतडीका हुन । उनीहरुको १४ दिन अगाडी परिक्षण गर्दा कोरोना संक्रमण देखिएको हो । विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमण नदेखिने समयसम्म प्रत्यक्ष निगरानीमा राख्ने भनेको छ तर उनीहरुको परिक्षण नगरी १४ दिनसम्म कुनैपनि किसिमको लक्षण नदेखिएकोले छोडेको हो । उनीहरुमा अहिले कोरोना संक्रमण भएर नभएको कसैलाई थाहा छैन । आज उनीहरु अस्पतालबाट डिस्चार्ज भएपछि सडकमा आए तर उनिहरुलाइ सरकारले घरसम्म पुर्याउने पहल गरेन । लकडाउनको समयमा कसरी घरसम्म जालान भनेर सोच्यो होला...?’

b

मुख्यमन्त्रीको भनाई र उनको गराई नै सामाजिक सञ्जालहरुमा हट केक बनेको छ । टाउकोमा भारी वोकिरहेको फोटो हाल्दै डोटीका पत्रकार पवन महराले लखेका छन्–‘मुख्यमन्त्री ज्यूले प्रदेश सरकार दगुर्छ मात्रै के भन्नु भाथो । अस्पतालले कोरोना संक्रमितहरुलाई निको नहुँदै धनगढीबाट दगुराई दिएछ ।’

2

अरुको त कुरै छोडौं सरकारी कर्मचारीलाई पनि प्रदेश सरकार र मुख्यमन्त्रीको भाषण अनुसारको काम नदेख्दा दिक्क लागिरहेको छ । कैलालीमा कार्यरत सरकारी कर्मचारीले विरोध मात्रै गरेनन् की प्रदेश सरकारको वारेमा दिल खोलेर फेशवुकमै स्टाटस ठोकि दिए । सरकारी कर्मचारी खेम जोशीले लेखेको स्टाटसमा भनिएको छ–‘प्रदेश सरकारले दौड्न सुरु गरेकै दिन कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएपछि अलपत्र र क्षेत्रीय स्वास्थ्य निर्देशनालयद्धारा नमुना संकलन स्थगित गरेको जानकारी । कठै मेरो सरकार निद्रामै दौडिएको हो कि ?’

b
एकै दिनको प्रसंगहरु मिलेर जोडिदा पनि मुख्यमन्त्रीले संसदमा आएर प्रदेश सरकार दौडिन्छ भन्नुको कारण धेरैको चासोको विषय रहेको छ । सुरुमा प्रदेश सभाकै वैठकमा नआउने मुख्यमन्त्री शुक्रवार वैठकमा सहभागी मात्रै भएनन् प्रदेश सरकार दौडाउने कुरा गरे । त्यो भन्दा केही दिन अघि मुख्यमन्त्रीले एक बर्षसम्म वोलाउन नसकेको संसदीय दलको वैठक बोलाएर माफी माग्नु । प्रदेश सभाको छैठौं अधिवेशनदेखि दैनिक रुपमा मुख्यमन्त्री र प्रदेश सरकारले माखा मार्न सकेन् भने प्रतिपक्षीभन्दा सत्तापक्षकै सांसदहरुले आवाज उठाईरहेका थिए । उनकै पार्टीका नेताहरुले प्रदेश सरकारको काम नभएको, केही पनि नगरेको मात्रै भनेनन् की अवस्था यही रह्यो भने प्रदेश सरकार पर्नुगठनको पनि कुरा उठाए । त्यसपछि मुख्यमन्त्री भट्टका कान ठाडा भएर एक बर्षपछि संसदीय दलको बैठक वोलाएर सवै मन्त्री सांसदहरु सामु माफी भागे । सरकार सञ्चालनमा पार्टीको संसदीय दलसँग समन्वय गर्न नसकेकोमा माफी मागे । मुख्यमन्त्रीले सुरुमै झण्डै अढाई बर्ष सरकार चलाएको र यस अवधिमा पार्टी र संसदीय दलसित समन्वय हुन नसकेकोमा क्षमा मागे । आगामी दिनमा दल सितको समन्वयलाई जोड दिइने र दलकै सल्लाह अनुसार सरकार चलाउने उनको प्रतिबद्धता थियो । दलका सदस्यहरुको मनोविज्ञान बुझेका मुख्यमन्त्रीले आफ्नो र सरकारको चर्को विरोध हुने देखेपछि रक्षात्मक बन्ने रणनीति अपनाए ।

मुख्यमन्त्रीले चालेको चालमा सफल भए, प्रदेश सभा वैठकमा चर्को आलोचना गरेका नेताहरु नै प्रदेश सरकारले विभिन्न काम गरेको भन्दै तारिफ गर्न पनि पछि परेनन् । छैठौं प्रदेश सभाको वैठकमा सरकारका वारेमा सोच्नुपर्छ भन्ने अभिव्यक्ती दिएका नेकपा सचेतक तारा लामा तामांगले केही दिनमै सरकारको प्रशंसा गरे । तर राजनितिक विश्लेषकहरु मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो कुर्सी जोगाउन र प्रदेश सांसदलाई फकाउन चालेको चाल मान्छन् ।

‘मुख्यमन्त्रीलाई प्रदेश सरकारको टुप्पो कहाँ हो ठेक कहाँ हो भन्ने केही थाहा छैन् । यो त केही होईन अब गरिहाल्लाकी भन्ने नारा दिएर समस्यलाई टार्ने कडी हो ।’ डोटी बहुमुखी क्याम्पसका राजनितिक शास्त्रका सह–प्राध्यापक तिर्थराज जोशी भन्छन्–‘अहिलेसम्म कहाँ गएका थिए दर्गुनलाई ? कछुवा र खरायोको दौडमा सुरुमा सुत्ने पछि किन दौड्ने ? दर्गुनु पर्ने नै केही केही थिएन हिडी दिए पनि हुन्थ्यो । समयमा केही गरिरहेका छैनन् । सुतेको सुतेकै भए । आफ्नो जिम्मेदारी गर्ने हो ? के भनेर चुनावमा आएको हो ? त्योलाई हेक्का राख्नुपर्यो । कुम्भकर्ण जस्तो सुतेपछि जनताहरु रिसाएर बाजा बजाउन थाले । अनि दौडिन्छौं भन्ने ।’ प्राध्यापक जोशी मुख्यमन्त्रीको भनाई गफ मात्रै नभएर कपटको संज्ञा दिन्छन् । ‘मुख्यमन्त्रीलाई भाषणमा कसैले जित्न सक्दैन तर कामको लक्ष्मण छैन । हामीले निराश हुने कुरा केही छैन । उनीहरुलाई सजग गराउनु पर्छ ।’ जोशी थप्छन्–‘यो अभिव्यक्ती गफ मात्रै होईन कपट हो । कुरा नगरेर काम हुदैन सपना दिनु राम्रो हो । यसो गर्छु उसो गर्छु भने सपना देखाउँछन् ।  योजना दिन्छन ।  पछि बीचमै हराउँछन् । त्यसपछि नयाँ कुरा ल्याउँछन् । मुख्यमन्त्री कसरी गदुर्दैछन हेरि राख्याछौं । मुख्यमन्त्रीलाई दगुर्न नदिन धेरै पासाहरु लगाएका छन् । उनी कसरी दगुर्छन । दुई पाईला अगाडी गयो पछाडी तान्ने प्रवृति छ । जबसम्म वाटो नै क्लियर छैन भने कसरी दौडिन्छन् ? पहिले त बाटोको तगारो हटाउनु पर्यो नि ।’

हुन त मुख्यमन्त्री भट्टले प्रदेश दौडिन्छ भन्ने कुरामा आशा गरे पनि उनको कुरामा विश्वास गर्ने जमात ठुलै छ । किनकी उनले ढाई बर्ष अघि मुख्यमन्त्री पदको शपथ ग्रहण गर्दा भनेको कुरा अहिलेसम्म कार्यान्वयन गरेका छैनन् । दुई वर्षअघि शपथ लिएपछि मुख्यमन्त्री त्रिलोचन भट्टले भनेका थिए, ‘रोजगारीका लागि भारत जानुपर्ने बाध्यता प्रदेश सरकारले अन्त्य गर्नेछ ।’  कुनै वेला लामो समय आफैँ भारतमा काम गरेका उनको यो भनाइले निकै चर्चा पायो । तर, न्यून मूल्यमा श्रम बेच्न भारत जानुपर्ने सुदूरपश्चिमेलीको बाध्यता अन्त्य गर्न उनी नेतृत्वको सरकारले ढाई वर्षसम्म पनि ठोस कार्यक्रम ल्याउन सकेन । सुदूरपश्चिमेलीको बाध्यता जस्ताको तस्तै छ । ‘त्रिलोचन भट्टलाई मुख्य पद दिनु नै एउटा हात्ती लगेर जाउ भनेको जस्तो हो । रिक्सावालाई हात्ती दियो भने के हुन्छ । रिक्सा पनि काम लाग्न सक्दैन् । रिक्सवालाले पनि वोक्न सक्दैन ।’ नागरिक समाजका अगुवा प्रमोद पाठक भन्छन्–‘ उहाँले दुई बर्ष अघि धनगढी दिपायल फाष्ट ट्याकमा आफ्नै गाडी लगेर जान्छु भन्नुभएको थियो तर अहिलेसम्म गर्नु भएको छ । जे वोल्नुभयो । त्यो पुरा गर्नु भएन ।’ पाठक यसमा मुख्यमन्त्रीभन्दा पनि उहाँलाई पद दिनेलाई बढी दोषी ठान्छन् । ‘यसमा उहाँको दोष छैन् । वस भनेपछि वस्नुपर्ने उहाँको समस्या होला । तर क्षमता नभएर पनि उहाँलाई जिम्मेवारी दिनेवालाहरु अझ वढी दोषी छन् ।’ उनले भने–‘उहाँले गर्न नसक्नु उहाँ मात्रै असफल हुनु होईन । हामी सुदुरपश्चिम प्रदेशका २८ लाख मानिसहरु  पछाडी पर्नु हो ।’

आर्थिक वर्ष ०७५,७६ भित्रै प्रदेशको आफ्नै बस सञ्चालन गर्ने घोषणा गरेको सरकारले चालू आर्थिक वर्षमा पनि प्रक्रिया अगाडी बढाउन सकेको छैन । प्रदेश विद्युत् विकास बोर्ड र प्रदेश लोकसेवा आयोग गठनबारे सरकार अलमलमै छ । सबै स्थानीय तहमा हाटबजार स्थापना गर्ने सरकारी योजनाले पूर्णता पाएको छैन । प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने रणनीति लिएको सरकारले त्यसका लागि सरकारले मुख्यमन्त्री कृषि कार्यक्रम पनि ल्याएको छ । तर, उपलब्धि देखिने गरी कार्यान्वयन भएको छैन । प्रदेश सरकारको ढाई बर्ष अलमलमै वित्यो । मुख्यमन्त्रीले प्रदेशलाई कसरी दौडाउँला त्यो त हेर्न बाँकी नै छ तर मुख्यमन्त्रीको बोली भनेको समय सापेक्ष बोल्न सिपालु नेताहरुमा हुने गुण भएको कैलाली वहुमुखी क्याम्पसका राजनितिक शास्त्रका सह–प्राध्यापक देवराज अवस्थी बताउँछन् । ‘राजनितिकर्मीहरु समय सापेक्ष वोल्न माहिर हुन्छन् । मुख्यमन्त्री पनि बोल्न खप्पीस छन् । त्यसै समय अनुसार वोलेका हुन लाग्छ छ ।’ अवस्थी भन्छन्–‘उहाँले केही खास गर्न सक्नु भएको छैन । यो महामारीको वेला बोलेर जनतालाई डाईभर्ट गर्न खोजेको जस्तो देखियो । आफ्नो वचाउको लागि प्रदेश दगुर्छ भनेको हुनुपर्छ ।’

प्रदेश सरकारको काम पनि नरहेको जिकिर गर्छन् अवस्थी । उनी भन्छन्– ‘गर्न खोज्या जस्तो पनि गरिरहेका छन् । गर्या पनि देखिदैन । यो सरकार बीचमा पर्यो । जनताहरुको धारणा प्रदेश सरकार प्रति सकारात्मक छैन । कामभन्दा पनि सुविधा कुराहरु मात्रै आईरहेको छ । भारत वसेका मान्छेका  सल्लाहकार ठीक भएनन् की उहाँले आफै पनि सही काम गर्न सक्नु भएन । त्यही भएर जनतामा नैरास्यता आईरहेको छ । प्रदेश सरकारको काम नै छैन भन्ने आईसक्यो ।’  ढाई बर्षको अवधिमा प्रदेशको नाम र राजधानी तोकिएको छ । यसैलाई सबैभन्दा ठुलो उपलब्धी मान्दै ठाउँ ठाउँमा हुंकार फुक्दै आएका छन मुख्यमन्त्री त्रिलोचन भट्ट । सीमामा नागरिक सहायता कक्ष स्थापना, मुख्यमन्त्री कृषि परियोजना लागू, आवश्यक कानुन निर्माण, सुशासन र जनगुनासो सुन्न हेलो सिएम कार्यक्रमलाई सरकारले उपलब्धीठान्छ । तर विडम्बना तिनको अवस्था वेहाल भईसकेका छन् । 

सरकारले केही राम्रा कार्यक्रम ल्याए पनि कार्यान्वयनमा लैजान नसकेको नागरिक अगुवाको धारणा छ । राम्रा कार्यक्रम पनि कार्यान्वयनमा जान नसक्दा प्रदेशले विकासमा गति लिन नसकेको प्राध्यापक डाक्टर हेमराज पन्तको भनाई छ । ‘जनताका अपेक्षा पूरा भएनन्, देखिने गरी न काम भए, न कुनै राम्रा कामको सुरुवात नै भयो । गरिबीको अवस्था उस्तै छ, बाटाघाटा उस्तै छन ।’ उनले भने, ‘विकासका काम र रोजगारी सिर्जनामा सरकारले देखिने गरी काम गर्न सकेको छैन्  ।’ जनताको जीवनमा परिवर्तन भएन । विकास निर्माणका ठूला आयोजना सुरु भएनन् । स–साना काम मात्रै गर्न संघीयताको चाहिएको होइन । विकास र रोजगारी सिर्जनामा सरकारले काम गर्न सकेको छैन । प्रतिपक्षीको साथ हुँदाहुँदै पनि सरकारले जनअपेक्षाअनुसार, विकासका काम अगाडि बढाउन नसकेको प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दलका नेता डा.रणबहादुर रावलले बताए । ‘सरकार शून्य अवस्थामा छ । सरकारले ल्याएका कतिपय राम्रा योजना पनि अलपत्र छन् । जलस्रोत, जडीबुटी, पर्यटनको यहाँ अथाह सम्भावना छन्, तर उपयोग भएको छैन ।’ डा.रावलले भने, ‘काम केही गर्न नसक्ने, भाषण ठुलो ठुलो गर्ने मुख्यमन्त्री जीको बानी छ । प्रदेश दौडाउने भन्नुभएको छ । अहिलेसम्म सुत्नुभएको छ, कहिले उठ्नु हुन्छ, कहिले दौडाउनु हुन्छ । 

कोरोनाको महामारीले प्रदेश आक्रान्त हुँदा सम्म केही नगरेको आरोप मुख्यमन्त्रीलाई लाग्छ । उनले प्रदेशवासीको नाममा एक पटक सम्बोधन गरे । त्यो सम्बोधन भन्दा पनि मन्त्री परिषदका बैठकका निर्णय सुनाउनमै केन्द्रित थियो । उनको त्यो सम्बोधनमा महामारीका रुपमा देखिएको कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि कुनै ठोस र नयाँ योजना नअटाएपछि अहिलेसम्म आलोचना भईरहेको छ । प्रदेश सरकारलाई यति आलोचना भयो की बाध्य भएर सीमामा पुगेका नेपालीहरुलाई अहिले खाना खुवाईरहेको छ । प्रदेश सरकारले ८८ वटा स्थानीय तहलाई पठाएको सहित ३६ करोड रकम सिद्धाएको छ । त्यस वाहेक अरु के नै छ त छुटाउन नहुने उपलब्धी ?

लामो समयदेखि प्रदेश सरकारका बारेमा लेख लेख्दै आएका पत्रकार दिर्घराज उपाध्यायले आफ्नो पछिल्लो लेखमा यस्तो लेखेका छन–“प्रदेश सरकारका मन्त्रीहरु बिदा मनाईरहेका बेला भूमिकाको खोजी गर्ने सत्तापक्षकै सांसदहरु बेबकुफ हुन । जो जनताको दुःखमा चिन्ता व्यक्त गरिरहन्छन । सरकार छदा छदै जनताको चिन्ता गर्ने तिनलाई अधिकार कसले दियो ? प्रतिपक्ष झन बेबकुफ छ, बेला बेला सीमामा पुग्छ । त्यो पनि सरकारलाई नसोधी । जनताका दुःख बुझ्ने अधिकार प्रतिपक्षलाई सरकारले दिएको भए पो त्यहाँ जानु । संघीय सरकारका मन्त्रीले स्वास्थ्य सामग्री र उपकरण पठाउदा मन्त्रीहरु त्यो सामान लिन बिमानस्थलमै पुग्छन । र समाचार आउछ, प्रदेश सरकारका फलानो मन्त्रीको पहलमा सुदूरपश्चिममा यति थान मास्क,सेनिटाईजर र पीपीई भित्रियो ।तर कोरोना रोकथामका लागि सरकारले किन प्रभावकारी ढंगले कामगर्न सकेन भनेर कसैले प्रश्न गरे, तिनै मन्त्री र मुख्यमन्त्री भन्छन्, संघीय सरकारबाट पर्याप्त सहयोग नभएका कारण काम गर्न सकेनौ । प्रदेश सरकारको ढुकुटीमा खर्च गर्न नसकेर आर्थिक वर्ष २०७६, ७७ को अझै २० अर्ब रुपैया बाँकी छ । र त्यसको खर्च गर्ने समयसीमा अव केही साता मात्र बाँकी छन् । तर सरकार भने मगन्ते जस्तो छ । केही नभए जस्तो । यसैलाई भन्छन्, लंकामा सुन छ कान मेरो बुच्चै ।”