सावित्रा उपचारका लागि कतार जाँदै
2021/06/26, 1:36
 
sabita bhandari

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी घुँडाको थप उपचारका लागि शनिबार कतार जाँदै छिन् । उनी कतार एयरवेजको विशेष विमानमार्फत् राति १० कतार प्रस्थान गर्न लागेकी हुन् ।

गएको माघ ७ देखि फागुन ७ सम्म चलेको राष्ट्रिय महिला लिग अन्तर्गत विभागीय डर्बीमा नेपाल पुलिस क्लबसँग खेल्दा उनको घुँडामा गम्भीर चोट लागेको थियो ।

रिपोर्टमा इन्टोरियर क्रुसिएट लिगामेन्ट (एसिएल) मा समस्या देखिएपछि उनको थप उपचारका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले कतार फुटबल संघ सहकार्य गरेको हो ।

उनको उपचार दोहास्थित एस्पेटर अस्पतालमा हुनेछ । एन्फाले कतार फुटबल संघसँग सहकार्य गर्दै नेपाली खेलाडीको गम्भीर प्रकृतिका चोटको उपचार यही गराउँदै आएको छ ।

केही समय अगाडि नेपाली पुरुष टिमका सदस्य विक्रम लामा यही अस्पतालमा उपचार गराएर स्वदेश फर्किएका थिए भने विमल घर्तीमगर उपचारार्थ छन् । 

उपचारका लागि कतार जाने भएपछि सावित्राले महिला एसियन कप छनोट गुमाउने पक्का भएको छ । उनी करिब १ वर्ष मैदान बाहिर रहने बताइएको छ ।

हङकङ र फिलिपिन्ससँगै समूह ‘एफ’मा रहेको नेपालले आगामी सेप्टेम्बरमा छनोट खेल आयोजना गर्नेछ ।