कृष्णपुरका मेयर हमालको अर्को दादागिरीः कर्मचारीलाई कार्यालयबाट लखेटे
2021/06/26, 2:48
 
dd

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका मेयर कर्णबहादुर हमालले कर्मचारीलाई कार्यालयबाट अपशब्द प्रयोग गर्दै लखेटेका छन् ।  कृषि विकास निर्देशनालय दिपायलको अनुदान मेसिनरी औजार वितरण कार्यक्रम अन्र्तगत किसानसँग सम्झौता गर्न गएका कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्राविधिक सहायक जनक बहादुर सिंह लगायतको टोलीलाई मेयर हमालले अपशब्द  प्रयोग गर्दै कार्यालयबाट आज बिहान लखेटेका हुन् ।

‘कृषि निर्देशनालय अन्र्तगतको मेसिनरी औजार वितरण कार्यक्रम अन्र्तगत मलाई काजमा खटाएर किसानसँग सम्झौता गर्न पठाएको हो’, सिंहले भने, ‘कार्यालय भित्र कृषि शाखामा किसानलाई फारम वितरण गरिरहेको बेला मेयर साप आएर चोर भन्दै गाली गर्दै बाहिर पठाए ।’

शनिबार काम गर्न नपाउने भन्दै मेयर हमालले आफुहरुलाई लखेटेको प्राविधिक सहायक जनक बहादुर सिंहले बताए ।नगरपालिकालाई कार्यक्रमका बारेमा दश दिन पहिले नै कार्यक्रमको बारेमा जानकारी दिइसकेको  र नगरपालिकाको कृषि शाखाको बाहिर सूचना समेत टाँस गरेको उनले बताए ।

मेयर हमालले काम गर्न नदिएपछि नदिएपछि नजिकै रहको इलाका हुलाक कार्यालयमा बसेर सम्झौता गरेर फर्किएको जानकारी दिए । निर्देशनालयले कृष्णपुरका १५ जना किसानलाई  मेसिनरी औजार वितरण गर्ने कार्यक्रम रहेको सिंहले जानकारी दिए ।  नगरप्रमुख हमाल केही दिन पहिले पनि रातिको समयमा रक्सी माग्दै एक होटल संचालकलाई धम्की दिएको आरोपमा विवादमा तानिएका थिए । यस बिषयमा मेयर हमाललाई सम्पर्क गर्दा उनले कुनै प्रतिक्रिया दिएनन्।