वर्षायाम सुरु भएसँगै प्राकृतिक विपद्का घटनाले सुदूरपश्चिमका स्थानीय त्रसित बनेका छन्।विपदसम्बन्धी पूर्वतयारी र यसको दीर्घकालीन उपाय नखोजिँदा सुदूरपश्चिममा बर्खायाममा बर्सेनि बाढी–पहिरो आउने गरेको छ। बर्सेनि तराईमा बाढी र पहाडमा पहिरो आउँदा जनधनको क्षति हुने गरेको छ।
पहाडमा पहिरो
गत जेठ ३१ गते बाजुरामा पहिरो आयो। उक्त पहिरोका कारण अवरुद्ध बनेको साँफे–मार्तडी सडकखण्ड अझै सुचारु हुन सकेको छैन। पहिरोसँगै नदीमा बगेका त्रिवेणी नगरपालिकाका एक जना अझै बेपत्ता छन्। बुढीगंगा नगरपालिकाका एक जनाको शव भेटिएको छ।
बेपत्ताको खोजी जारी रहेको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले बताए। ‘बाजुरा निकै जोखिममा छ,’ उनले भने, ‘बेपत्ताको खोजी, मृतकका परिवारलाई राहतको पहल र अवरुद्ध सडकखण्ड सुचारु गर्ने काम गर्दैछौं। जोखिम कायमै रहेकाले विपद्बाट बच्न सक्दो प्रयास गरिरहेका छौं।’
यता डोटीमा चालु वर्षमा ९असार ७ गतेसम्म० विपदमा परेर १० जनाले ज्यान गुमाएका छन्। जसमा पहिरोमा परेर र वर्षाले ४/४ र आगलागी तथा बाढीमा परेर १र१ जनाले ज्यान गुमाएको डोटीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए।
तराईमा बाढी
महाकाली नदीमा आएको बाढीले किनारका बस्ती डुबानमा पर्दा ३६ परिवार विस्थापित भएका छन्। तटीय क्षेत्रमा रहेका भीमदत्तको भुजेला र दोधारा–चाँदनीको कुतियाकभर बस्तीमा बाढी पसेको हो।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार महाकालीको बाढीले जोगबुढा नदी थुनिँदा दोधारा–चाँदनी–१० को कुतियाकभरमा २४ परिवारले घर छाडेका छन्। बस्ती जलमग्न भएपछि घर छाडेका उनीहरूले आफन्तकहाँ आश्रय लिएका छन्।
कुतियाकभरमा जोगबुढा नदी तटीय क्षेत्र दुवैतर्फका बस्ती डुबानमा परेका छन्। बाढी घरहरूभित्रै पसेको छ । शान्ति टोल र बैती टोल जलमग्न छन्। बाढी पसेको क्षेत्रका सबैलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।
वर्षासँगै नदीमा पानीको बहाव बढ्दा कैलाली, कञ्चनपुरमा डुबान हुने गरेको छ। सामान्य वर्षातको बाढीले पनि घर डुबाएपछि स्थानीयको बिचल्ली भइरहेको छ। वर्षाको बेला कैलालीको धनगढी, घोडाघोडी, भजनी, जोशीपुर, बर्दगोरीया लगायतका क्षेत्र सधैं डुबानमा पर्ने गरेका छन्। कञ्चनपुरको बेल्डाँडी, बेलौरी, महाकाली लगायतका क्षेत्रमा पनि बाढीले क्षति पुर्याउने गरेको छ।
बर्सेनि आउने प्राकृतिक विपत्तिबारे थाहा हुँदाहुँदै पनि सधैं व्यवस्थापनमा चुक्ने सरकारले पीडितको घाउमा मल्हमसमेत लगाउन सकेको छैन। बाढी पहिरोको मौसम सुरु भएपछि मात्रै त्यसको व्यवस्थापनबारे सोच्ने सरकारले विपत्तिको दीर्घकालीन उपाय र योजना अवलम्बन गर्न सकेको छैन।
महाकालीवासी त्रासमा
२०७० सालमा सूचनाबिनै भारतको उत्तराखण्डस्थित पिथौरागढमा रहेको धौलीगंगाको बाँध खोलिएपछि महाकाली नदीमा बाढी आयो। त्यो बेला दार्चुला सदरमुकामका सयौं घर तथा दर्जन सरकारी कार्यालय बगाउँदा अर्बौंको क्षति भयो। महाकालीमा पानीको बहाव बढ्दा महाकाली तटीय क्षेत्रका सयौं परिवार विस्थापित भए।
महाकालीको तटबन्ध बलियो नबन्दा बाढीले वितण्डा मच्चाएको स्थानीय वीरेन्द्र जैसीले सम्झिए। उनले भने, ‘त्यतिबेला विस्थापित भएका परिवार अझै पुनःस्थापना हुन सकेका छैनन्। फेरि त्यस्तै घटना दोहोरिने हो कि डर लाग्छ।’
अर्का स्थानीय हर्क थापा भन्छन्, ‘भारतले ढोका खोल्दिन्छ, हामी डुबानमा पर्छौं। पूर्वसूचना नहुँदा ठूलो क्षति बेहोर्नुपर्छ।’ ७ वर्ष पहिलेको जस्तो बाढी आयो भने त्योभन्दा धेरै बढी क्षति हुने भन्दै उनी चिन्तित छन्।
तीन तहका निर्वाचनमा यहाँका स्थानीयको पहिलो मुद्दा नै महाकाली र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण हुनुपर्ने थिए । तर, उनीहरूले चासो नदिएकै कारण समस्या ज्यूँकात्यूँ छन्।
एक वर्षमा ९९ जनाको मृत्यु, १८ बेपत्ता
सरकारी तथ्यांक अनुसार सुदूरपश्चिममा बाढी–पहिरोमा परी पछिल्लो एक वर्षमा ९९ जनाले ज्यान गुमाएका छन्। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार २०७७ असारदेखि चैत ३१ गतेसम्म बाढी–पहिरोलगायत विपद्का घटनामा ९९ जनाले ज्यान गुमाएका हुन्। ती घटनामा १ सय ३२ जना घाइते भएको र १८ जना बेपत्ता भएको मन्त्रालयको तथ्यांक छ।
चैतयताको तथ्यांक मन्त्रालयसँग छैन। मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद जैशीले चैत मसान्तसम्मको विवरण उपलब्ध गराए। ‘हामीसँग चैतसम्मको विवरण तयारी अवस्थामा छ,’ जैशीले भने, ‘बाँकी विवरण सङ्कलन गर्दै छौं।’
१० वर्षमा ९९८ जनाको मृत्यु
पछिल्लो १० वर्षको अवधिमा भएका प्राकृतिक तथा गैरप्राकृतिक विपद्का घटनामा ५० हजार ९ सय ६८ बढी घर–परिवार प्रत्यक्ष प्रभावित भए। ती घटनामा ७ सय ८५ मानिस घाइते भए भने एक हजार ३ सय ७९ घरहरू पूर्ण र ६ हजार ९ सय ४१ घर आंशिकरूपमा क्षतिग्रस्त बने।
सुदूरपश्चिम प्रदेश सरकारले तयार पारेको प्रदेश विपद् कार्य योजना अनुसार प्रदेशमा सन् २०१० देखि २०१९ सम्म प्रदेशमा प्राकृतिक तथा गैरप्राकृतिक प्रकोपका तीन हजार १ सय १५ वटा घटना भएका छन्। प्रदेश सरकारले पछिल्लो १० वर्षको अवधिमा विपद्का विभिन्न घटनामा परी ९ सय ९८ जनाको मृत्यु भएको र १ सय ७१ जना बेपत्ता भएको जनाएको छ।
सो अवधिमा भएका प्राकृतिक तथा गैरप्राकृतिक विपद्का घटनामा ५० हजार ९ सय ६८ घर परिवार प्रत्यक्ष प्रभावित भएका छन्। ती घटनामा ७ सय ८५ मानिस घाइते भएका छन् भने १ हजार ३ सय ७९ घरहरू पूर्ण र ६ हजार ९ सय ४१ घरहरू आंशिकरूपमा क्षतिग्रस्त भएका छन्।
उक्त अवधिमा सुदूरपश्चिम प्रदेशमा १ सय २३ वटा बाढीका घटनामा ५६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएको जनाइएको छ। त्यस्तै, एक सय ७१ चट्याङका घटनामा ६६ जनाको मृत्यु भएको जनाइएको छ। यस अवधिमा प्रदेशभित्र पहिरोका १ सय ४४ र हावाहुरीका १ सय २१ घटना भएका थिए।
चुक्यो सरकार, छैन तयारी
सुदूरपश्चिममा अहिले पनि बाढी र पहिरोको क्षति नियन्त्रण गर्न खासै पहल भएको पाइएको छैन। तीनै तहको सरकार बीच समन्वय हुन सकेको छैन। सुदूरपश्चिम प्रदेशमा प्राकृतिक बिपदका घटना बढ्दै गइरहेका छन्। सरकारले विपद् व्यवस्थापनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी बन्न सकेको छैन। पछिल्लो एक महिनामा मात्रै विपदका घटनाबाट ९ जनाले ज्यान गुमाएका छन्।
प्रदेशमा प्राकृतिक तथा गैरप्राकृतिक विपद्का घटनामा बर्सेनि जनधनको ठूलो क्षति हुने गरेको छ। तर, पहिरोको जोखिम र विपद्को तयारी भने निकै सुस्त छ। तर, प्रदेश सरकारका अधिकारी विपद् न्यूनीकरणको लागि काम भइरहेको दाबी गर्छन्। विपद् व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेश सरकार तैनाथ रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद जैशीले बताए।
‘विपद् व्यवस्थापनका लागि हामीले सक्दो तयारी गरिरहेका छौं, मातहतका निकायलाई पनि तयारी अवस्थामा राखेका छौं,’ उनले भने, ‘स्थानीय सरकारहरूसँग पनि समन्वय गरिरहेका छौं।’ आवश्यक तयारी भइरहेको सरकारका प्रवक्ता तथा आन्तरीक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले बताइन्। ‘विगतको सिकाइलाई ध्यानमा राखेर हामीले तयारी गरेका छौं,’ उनले भनिन्, ‘यस वर्ष धेरै वर्षा हुने अनुमान गरिएको छ। त्यसै अनुरूप हामीले तयारी पनि बढाएका छौं।’
सुदूरपश्चिम प्रदेशमा भूकम्प, बाढी तथा पहिरो, डुबान, चट्याङ, खडेरी, हिमपात, असिना पानी, हिम पहिरो, अतिवृष्टि, अनावृष्टि, हुरी बतास, शीतलहरू, तातो हावा ९लु०, वन डढेलो आदि प्राकृतिक तथा सडक दुर्घटना, महामारी, अनिकाल, कीट वा सूक्ष्म जीवाणु, जंगली जनावर आतंक, पशु तथा चराचुरुङ्गीमा हुने फ्लु, सर्प दंश, जनावर आक्रमण, खानी हवाई, जल तथा औद्योगिक दुर्घटना, आगलागी, विषाक्त खाद्य सेवन, वातावरणीय प्रदूषण, वन विनाश लगायतका गैरप्राकृतिक प्रकोपका घटनाहरू बर्सेनि बढिरहेका छन्। व्यवस्थापनको पहल भइरहेको सरकारले जनाए पनि घटनाहरू भने बढ्दै भइरहेका छन्।